१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भित्रिन थाले अफगान ‘शरणार्थी’

मातृका दाहाल

काठमाडौँ — उपचारको निहुँमा आफ्नो मुलुक छाडेर भारत आइपुगेका ७ अफगान नागरिक सुनौली–बेलहिया नाका हुँदै काठमाडौं आइपुगेका छन् । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता डराएर मुलुक छाड्नेहरू विभिन्न देश पुगे पनि शरणार्थी बनेर समूहगत रूपमा नेपाल भित्रिएको यो पहिलो पटक हो ।

भित्रिन थाले अफगान ‘शरणार्थी’

कुनै पनि मुलुकबाट प्रवेशाज्ञा नलिएकाहरूले वैधानिक रूपमा नेपाल प्रवेश पाउँदैनन् । तर भैरहवा हुँदै भित्रिएका अफगान नागरिकका बारेमा न सीमा क्षेत्रको सुरक्षा संयन्त्रले थाहा पायो, न त काठमाडौं आउन्जेलमा सरकारले । सजिलै नेपाल भित्रिएर राजधानी नै आइपुगेका उनीहरू सुरक्षित बस्न पाएका छन् । राष्ट्रसंघको नेपालस्थित शरणार्थीसम्बन्धी उच्च आयोगको कार्यालयले उनीहरूका लागि आवश्यक कागजात र बसोबासको प्रबन्ध गरिदिइसकेको छ ।

यसअघि काँकडभिट्टाबाट ठूलो समूहमा बर्मेली रोहिंग्या शरणार्थीलाई मानव तस्करले काठमाडौं ल्याएको थियो । अध्यागमन र सुरक्षा प्रशासनले त्यसको सुइँकोसम्म पाएका थिएनन् । अहिले त्यसैगरी अफगान शरणार्थी बेलहियाबाट भित्रिएका हुन् । तालिवान सत्तामा आएपछि अफगान शरणार्थी नेपाल छिर्न सक्ने भन्दै सुरक्षा विज्ञहरूले सीमा क्षेत्रमा सुरक्षा जाँच कडा पार्न र भारत हुँदै आउने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउन सुझाव दिएका थिए । सीमा क्षेत्रमा तैनाथ अध्यागमन, सीमा प्रशासन, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका संयन्त्रको लापरबाहीले अफगान ‘शरणार्थी’ भारतको बाटो हुँदै भित्रिएका हुन् ।

स्रोतका अनुसार कात्तिक ३ मा सुनौलीबाट बेलहिया नाका हुँदै मोहम्मद जामराई स्तानिकजाई, उनकी श्रीमती नाजिफा स्तानिकजाई, २ छोरी नुरुल हाया स्तानिकजाई, मिसबाह जैनाव स्तानिकजाई र छोरा मोहम्मद रायन स्तानिकजाई काठमाडौं आएका हुन् । त्यसअघि २ जना अफगानिस्तानी पनि बेलहिया हुँदै हुलिया बदलेर नेपाल छिरेको खुलेको छ । स्रोतका अनुसार ३५ वर्षीय शाहिद गुज्जार र ४५ वर्षीय रवीन भाटी असोजमै नेपाल आएका थिए । दिल्लीमा रहेकै बेला नेपाल प्रवेश गर्न सहज भए/नभएको बुझ्न मोहम्मद जामराई स्तानिकजाईले गुज्जार र भाटीलाई सुनौली–बेलहिना नाका हुँदै नेपाल पठाएका थिए ।

बेलहियाबाट सहजै छिरेका दुवै जना काठमाडौं आएर सिधै नेपालस्थित संयुक्त राष्ट्रसंघको शरणार्थी मामिलासम्बन्धी उच्च आयुक्त (यूएनएचसीआर) को कार्यालय पुगेका थिए । यूएनएचसीआरले उनीहरूलाई अस्थायी बसोबासको कागजात बनाइदिएको छ । त्यसपछि दिल्लीमा रहेका जामराईलाई सम्पर्क गरी बसमा बेलहिया हुँदै नेपाल भित्रिन अघिल्लो पटक आएका दुई अफगानले भनेका थिए । नाकामा चौबीसै घण्टा सुरक्षा निकायको घेरामा रहेको बेलहियामा सहजै छिरेर पाँच अफगान काठमाडौं आइपुगेका हुन् । उनीहरू गत बिहीबार यूएनएचसीआरको कार्यालयमा शरण लिन पुगेका थिए । उनीहरूलाई यूएनएचसीआरले अस्थायी बसोबासका लागि कागजात प्रमाणीकरण गर्न मंसिर २ गते बोलाएको छ । नेपाल भित्रिएका पाँच अफगान काबुलबाट ४ महिनाअघि ‘उपचार गराउने बहाना’ मा दिल्ली आएको पनि खुलेको छ ।

दिल्लीमा रहँदा केही व्यक्तिले शरणार्थीलाई नेपालमा बस्न उपयुक्त’ छ भनेर बताएपछि उनीहरू हुलिया बदलेर भित्रिएको यससम्बन्धी अनुसन्धान गरिरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । दिल्लीमा कसैले नेपाल छिर्न सुझाव दिएपछि जामराईले दिल्लीमै रहेका केही व्यक्तिलाई नेपाल पठाएर ‘वातावरण बुझ्न’ खटाएका थिए । दिल्लीलगायत भारतका विभिन्न स्थानमा ३० हजार बढी अफगानिस्तानी भित्रिएको र उनीहरूमध्ये कतिपय नेपाल आउने क्रममा रहेको जानकारी जामराईले घटनाको अनुसन्धान गरिरहेका एक सुरक्षा अधिकारीसँग उल्लेख गरेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गैरकानुनी रूपमा तेस्रो मुलुकका नागरिक नेपाल भित्रिएको विषयलाई आफूहरूले गम्भीर रूपमा लिएको बताए । यसबारे तत्काल अनुसन्धान गरी अध्यागमन विभागको जिम्मा लगाउन प्रहरीलाई निर्देशन दिएको उनले बताए । उनले भने ‘अफगानिस्तानी नागरिक नेपाल भित्रिएका विषयमा मन्त्रालय गम्भीर छ । चेकजाँच बढाउन सम्बन्धित संयन्त्रहरूलाई निर्देशन दिइसकेका छौं ।’

पछिल्लो पटक भित्रिएका सातै जना अफगानिस्तानीलाई यूएनएचसीआरले नै संरक्षण दिएर राखेको छ । उनीहरूलाई सिनामंगलको एक घरमा दिनको ७ सय तिरेर अस्थायी बासस्थानसहित राखिएको छ । यसरी भित्रिएकालाई यूएनएचसीआरले ‘पोस्ट रिसेप्सन अपोइन्टमेन्ट स्लिप’ दिएर संरक्षण दिने गरेको छ ।

यसअघि आएका दुई जनालाई पनि यूएनएचसीआरले खाने–बस्ने व्यवस्था मिलाएर बसुन्धरामा राखेको छ । नेपाल–भारत खुला सिमाना छ । चीनसँग बन्द सिमाना भएका कारण सहजै तेस्रो मुलुकका नागरिकले गैरकानुनी रूपमा नेपाल आउजाउ सहज रूपमा गर्न पाउँदैनन् । भारतसँग खुला सिमाना भएकै कारण तेस्रो मुलुकका नागरिकका कानुनसम्मत प्रवेशबाहेकलाई रोक्न सुरक्षा संयन्त्र र अध्यागमन–सीमा प्रशासनलाई तैनाथ गरिएको छ । अरू अफगानिस्तानी पनि गैरकानुनी रूपमा नेपाल आउने क्रममा रहेको स्रोत बताउँछ । त्यसलाई समेत मध्यनजर गरेर अफगानिस्तानीको सम्भावित गैरकानुनी प्रवेश रोक्न गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र अध्यागमन विभाग तथा सीमावर्ती जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार साँझ निर्देशन दिएको छ ।

गृह प्रवक्ता पोखरेलले अध्यागमन कानुन उल्लंघन गरेर आएका विदेशीलाई प्रक्रिया पुर्‍याएर निष्कासन गरिने र गैरकानुनी प्रवेश रोक्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइसकेको बताए ।

‘तेस्रो मुलुकका नागरिक गैरकानुनी रूपमा नेपाल आउन सक्नेप्रति सतर्कता अपनाएर सीमामा सुरक्षा जाँच बढाउन डेढ महिनाअघि पनि परिपत्र गरेका थियौं, यसलाई अझै कडाइ गर्न पुनः निर्देशन दिइसक्यौं, कानुनविपरीत कोही पनि विदेशीलाई नेपाल प्रवेश गर्न बन्देज छ ।’ नेपालमा अहिले भुटानी र तिब्बती शरणार्थीलाई मात्रै मान्यता दिइएको छ । तर, पाकिस्तानी, इराक, इरान, रोहिंग्या हँॅदै अहिले अफगानिस्तानीसहित अरू ८ मुलुकका नागरिक नेपालमा गैरकानुनी रूपमा भित्रिएर ‘शरणार्थी’ का रूपमा आएका छन् ।

प्रकाशित : कार्तिक ८, २०७८ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?