न्याय माग्दै हिरासतभित्रै आमरण अनशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्याय माग्दै हिरासतभित्रै आमरण अनशन

मधु शाही, रूपा गहतराज

बाँके — अधिकारकर्मी रुबी खान प्रहरी हिरासतमा आमरण अनशन बसेकी छन् । न्यायको अपिल गर्दै पैदलै काठमाडौं पुगेकी उनलाई माइतीघरबाट धर्नामा बसेका बेला गत शुक्रबार प्रहरीले पक्राउ गरी भोलिपल्ट नेपालगन्ज ल्याएको थियो । उनलाई बहुविवाहको मुद्दामा अदालतको आदेशले पक्राउ गरिएको प्रहरीको दाबी छ ।

नेपालगन्जस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बयानका लागि ल्याइएकी रुबी खान । तस्बिर : मधु शाही/कान्तिपुर

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै महिला अधिकार मञ्चकी रुबीलगायत १४ जनाको टोली २० दिन हिँडेर काठमाडौं पुगेका थिए । जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार बयानका लागि उपस्थित गराइएकी उनले आफूमाथि प्रहरी प्रशासनले ज्यादती गरेको बताइन् । बहुविवाहको झूटो मुद्दामा पक्राउ पुर्जी नै नदिई जबर्जस्ती नियन्त्रणमा लिएर हिरासतमा राखेको उनको दाबी थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भने उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएकाले कारबाही अघि बढाइएको जनाएको छ । रुबीले शुक्रबारदेखि केही खाएकी छैनन् । श्रीमान्सँग २०७६ असोज ८ मा इस्लाम धर्मअनुसार तलाक भएको र त्यसको १० दिनपछि अदालतबाट सम्बन्ध विच्छेद प्रमाणीकरणसमेत गरेको उनले दाबी गरिन् । प्रहरीले भने उनीविरुद्धको मुद्दाका विषयमा प्रस्ट पारेको छैन ।

रुबीले निर्मला र नन्कुन्नीको न्यायका लागि गत भदौ १३ देखि आन्दोलन थालेकी हुन् । जिल्ला प्रशासनमा धर्ना बसेर पनि कुनै सुनुवाइ नभएपछि असोज १ देखि पैदल यात्रा थालिएको उनले बताइन् । लामो पैदल यात्राले उनका खुट्टामा फोका उठेर फुटेकाले घाउ भएका छन् । खुट्टामा ब्यान्डेज लगाएर बसेकी छन् । ‘मैले अस्पतालमा छुट्टै क्याबिनमा राख्नुस् भन्दा पनि प्रहरीले मानेन । ट्रमा हस्पिटलमा लग्छौ भनेर प्रहरीले नेपालगन्ज ल्यायो, झूटो मुद्दा लगाएर मलाई फसाउन खोजिँदै छ,’ उनले भनिन्, ‘पावर भएकाहरूलाई तथ्य नभेटिएको भन्दै प्रहरीले नछुने, मलाई पक्राउ पुर्जीसमेत नदिएर पक्राउ गरेको छ ।’

एक दशकअघिदेखि बेपत्ता नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मीको मृत्यु भएको प्रमाण फेला पारेको प्रहरीको दाबी छ । एक साताको अनुसन्धानपछि प्रहरीले निर्मला भारतमा पुगी दोस्रो बिहे गरेको फोटो र मृत्यु भएको तस्बिरलगायत कागजात प्राप्त गर्नुका साथै दोस्रो श्रीमान् बताउने भारतका अर्जुन कुर्मीको बयानसमेत लिएको छ । बाँकेका डीएसपी मधुसुधन न्यौपानेले प्राप्त प्रमाण र बयानका आधारमा निर्मलाको भारतमा कालगतिले मृत्यु भएको देखिएको दाबी गरे । ‘हामीले मृत्यु प्रमाणपत्र पनि मागेका छौं,’ उनले भने, ‘प्राप्त तस्बिर र उनको दोस्रो श्रीमान्को बयानले मृत्यु भएको देखिन्छ ।’

यता नन्कुन्नीको विषयमा अदालतले फैसला गर्ने भएको छ । यद्यपि अनुसन्धान प्रक्रिया अगाडि बढाइरहँदा अधिकारकर्मी रुबीले अनावश्यक बाधा पुर्‍याउन खोजेको दाबी डीएसपी न्यौपाने गर्छन् ।

‘मुद्दामा प्रहरीलाई अनुसन्धान गर्न सघाउनुको साटो उहाँले अनावश्यक बखेडा खडा गर्नुभयो,’ उनले भने ।

‘केही व्यक्ति निर्मलाको सम्पत्ति हडप्ने मनसायमा लागेको अनुसन्धानमा देखियो । कारबाहीको दायरामा लिनका लागि ठोस प्रमाण जुटाउने प्रयासमा छौं,’ उनले भने । नौ जनाका विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको प्रहरीले घटनाको प्रकृतिले निर्मलाको हत्या नभएको तर जग्गा ठगीको किचलो रहेको पाइएको जनाएको छ ।

रुबीलाई पक्राउ गर्नुको कारणबारे डीएसपी न्यौपानेले भने अदालतको आदेशअनुसार गरेको बताएका छन् । ‘असोज ६ गते भएको सुनुवाइपछि अदालतको आदेशअनुसार पक्राउ गरेको हो,’ उनले भने । रुबीविरुद्ध मोहमद शेर बागवानकी जेठी पत्नीले उजुरी गर्नुपर्ने हो तर उनको उजुरी आएको छैन । तेस्रो व्यक्तिले उजुरी दिएका छन् ।

प्रकाशित : आश्विन २६, २०७८ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्

देउवाको पछिल्लो रणनीति : पौडेल समूह फुटाउने, कोइराला परिवार फकाउने

वरिष्ठ नेता पौडेलनिकट डोबाटे विश्वकर्मा गण्डकी प्रदेशमा सोमबार मन्त्री नियुक्त भएका छन् । उनलाई मन्त्री बनाउने मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल महामन्त्री शशांक कोइरालानिकट हुन् । तर यसको जस भने प्रधानमन्त्री देउवाले लिएका छन् ।
कलेन्द्र सेजुवाल

काठमाडौँ — मन्त्रिपरिषद्लाई पूर्णता दिएको भोलिपल्ट (शनिबार) स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले छोटो बोले, तर अत्यन्त विचार पुर्‍याएर । उनको भनाइ थियो– मन्त्रिपरिषद् विस्तारमा महत्त्वपूर्ण ‘साथीहरू’ छुटेका छन्, उनीहरूलाई आगामी दिनमा समेटिनेछ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्रीको भनाइबाट मन्त्री हुने चाहना पूरा नभएका कांग्रेस नेता आशावादीमात्र भएनन्, अवसरका लागि उनीप्रति निकट हुन प्रेरित पनि गर्‍यो । शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नपर्दा कांग्रेसभित्र उनको आफ्नै र इतर समूहका नेतामा असन्तुष्टि देखिएको थियो । महाधिवेशनको मुखमा त्यसबाट पुनः सभापति बन्ने आफ्नो यात्रामा असर नपरोस् भन्नेमा सचेत हुँदै देउवाले उक्त धारणा राखेका थिए । सभापति देउवाका हरेक कदम अहिले मंसिरमा हुने महाधिवेशनलक्षित छन् । बोल्दा होस् वा काम गर्दा, उनी पार्टीको आगामी महाधिवेशनलाई केन्द्रमा राख्न थालेका छन् । देउवा–रणनीतिबारे जानकार एक नेताले भने, ‘मन्त्रिपरिषद् विस्तारमै पनि उनले निकटस्थलाई पर्याप्त अवसर दिइसकेपछि आफूइतरलाई अवसरको आशा जगाइदिए ।’

देउवा १३ औं महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कमजोर बनाउन चाहन्छन् । मन्त्रिपरिषद् विस्तारमा प्रक्रियामा उनी केही हदसम्म सफल भएका छन् । पौडेललाई आफूइतर समूहको साझा नेताका रूपमा नभई महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको हैसियतमा व्यवहार गरे । त्यहीअनुसार मन्त्रीको कोटा दिए । यसले पौडेललाई ‘मिनिमाइज’ मात्र गरेन, उनको समूहभित्र विग्रह पनि ल्याइदियो । नेत्री सुजाता कोइरालाले शनिबार एक टेलिभिजन कार्यक्रममा पौडेलप्रति आक्रोश ओकल्लै भनिन्, ‘म अब पौडेलको टिममा छैन, उनी पार्टी सभापति बन्नलायक नेता होइनन् ।’ उसो भए तपाईं देउवाको टिममा जानुभएको हो ? प्रस्तोताको जवाफमा उनले भनिन्, ‘त्यस विषयमा मैले अहिले केही पनि सोचेकी छैन ।’

प्रधानमन्त्री देउवा पोखरामा रहेकै बेला सोमबार डोबाटे विश्वकर्मा गण्डकी प्रदेश सरकारको बिनाविभागीय मन्त्री नियुक्त हुनु संयोगमात्र थिएन । मन्त्रीमा नियुक्त गर्ने प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल महामन्त्री कोइरालानिकट र नियुक्त हुने विश्वकर्मा वरिष्ठ नेता पौडेलनिकट हुन् । तर यसको जस प्रधानमन्त्री देउवाले लिए । प्रधानमन्त्रीको स्वकीय सचिवालयका एक सदस्यले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीले डोबाटेलाई मन्त्री बनाउने प्रयास केही दिनअघि नै गर्नुभएको थियो, संयोगवश उहाँ पोखरा भएकै बेला नियुक्तिको निर्णय भयो ।’ मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार भरत कोइराला भने यसलाई संयोगमात्र भन्छन् । उनका अनुसार विश्वकर्माले आइतबार साँझ र मुख्यमन्त्रीले सोमबार बिहान प्रधानमन्त्री देउवालाई पोखरामा छुट्टाछुट्टै भेटेका थिए । ‘यही सन्दर्भमा नियुक्तिको संयोग पर्‍यो, तर यसमा प्रधानमन्त्रीसँग उहाँहरूको कुनै राजनीतिक लेनदेन भएको छैन,’ उनले भने ।

गण्डकी प्रदेशसभामा कांग्रेसका १५ सांसदमध्ये देउवापक्षीय ९ जना छन् । साढे ३ वर्षअघि संसदीय दल गठन गर्दा देउवा समूहका मणिभद्र कँडेलले संसदीय दलको नेता हुने आकांक्षा राखेका भए पनि महामन्त्री कोइरालाले देउवालाई भेटेर ‘मेरो प्रदेशमा मलाई सहयोग गर्नुहोस्’ भन्दै पोखरेललाई दलको नेता बनाउन आग्रह गरेका थिए । देउवाकै सहयोगमा पोखरेल गण्डकीमा दलको नेता र मुख्यमन्त्री भएका थिए । करिब दुई महिनाअघि देउवाकै निर्देशनमा मुख्यमन्त्री पोखरेलले शपथका लागि तयार भइसकेका विश्वकर्मालाई मन्त्री हुनबाट वञ्चित गरी सांसद बिन्दुकुमार थापालाई मन्त्री बनाएका थिए । राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल महाधिवेशनमा सँगै जाने अवस्था नरहे पनि देउवाले रणनीतिक रूपमा कोइरालालाई महत्त्व दिएको हुन सक्ने बताउँछन् ।

‘देउवासँग सत्ता र शक्तिको स्रोत छ, उनी आफैं राजनीतिक रूपमा चतुर खेलाडी पनि हुन्,’ बरालले भने, ‘त्यसैले महामन्त्रीभन्दा पनि बीपीको छोराका रूपमा बढी महत्त्व दिइएको हुन सक्छ ।’ तर पछिल्लो समय देउवाले सिटौला र सुजातालाई निकट बनाउँदै लगेको आभास आफूले पाएको उनले बताए ।

उनका अनुसार कांग्रेसमा सबैभन्दा ठूलो ‘एकल गुट’ देउवाको छ । स्थानीयस्तरबाटै देउवा गुटको नाममा प्रतिनिधि छानिन्छन् । इतर समूहमा भने देउवाजत्तिको बलियो ‘एकल गुट’ भएको नेता छैनन् । पौडेल समूह भनेर चिनिए पनि उनीभित्र कोइराला (शशांक–शेखर) र प्रकाशमान सिंहका आफ्नै गुट छन् । अर्कोतिर सिटौला र विमलेन्द्र निधि आ–आफ्नो गुट निर्माण र विस्तारमा प्रयासरत छन् । देउवा यिनै गुटभित्र खेलेर आफूलाई थप प्रभावशाली बनाउने रणनीतिमा देखिएका बरालको भनाइ छ । ‘यसका लागि उनले सरकार र पार्टी सत्ताको भरपूर प्रयोग गरिरहेका छन्,’ उनले भने ।

गठबन्धन दलका एक नेताका अनुसार प्रधानमन्त्री देउवाले मन्त्रालय र मन्त्री संख्या भागबन्डा गर्दासमेत महाधिवेशनलाई कारण देखाएर सहयात्री दलसँग सहयोग मागेका थिए । ‘शीर्ष नेताको बैठकमा महाधिवेशनसम्म मेरा केही बाध्यता छन्, बरु भागबन्डामा पछि केही हेरफेर गरौंला भनेर बढी भाग खोज्नुभएको थियो,’ ती नेताले भने, ‘त्यही कारण कांग्रेसले केही बढी भाग पाएको हो ।’ प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रस्तावमा मन्त्री नियुक्त भएका भनिएका गजेन्द्र हमाललाई पनि कांग्रेसको कोटामा राखेका थिए । देउवानिकट एक नेताका अनुसार हमालले राजीनामा दिएपछि उक्त स्थानमा महाधिवेशनमा आफूलाई फाइदा पुग्ने गरी नियुक्तिको तयारी देउवाले गरेका छन् । ‘आफ्नो वा इतर जुन समूहबाट मन्त्री नियुक्त गरे पनि प्रधानमन्त्रीले स्वविवेक प्रयोग गर्नुहुनेछ,’ उनले भने ।

देउवाले क्रियाशील सदस्यता वितरणदेखि महाधिवेशन प्रतिनिधि छनोटसम्म उत्तिकै ध्यान केन्द्रित गरेका छन् । पौडेल समूहको विरोधका बाबजुद देउवाले सदस्यता विवाद निम्ट्याउँदै लगेका छन् । अब बारा, रौतहट र रसुवाको सदस्यता सूचीमात्र सार्वजनिक हुन बाँकी छ । अधिवेशन भएका ठाउँमा जिल्ला नेतृत्व दिएर भए पनि महाधिवेशन प्रतिनिधि बढी ल्याउनुपर्ने देउवाको रणनीति देखिन्छ । ‘जिल्ला सभापति पौडेल समूहलाई दिएर भए पनि महाधिवेशन प्रतिनिधि बढी ल्याउनु भन्ने निर्देशन आएपछि मैले नेतृत्वबाट वञ्चित हुनुपर्‍यो,’ देउवा समूहमा रहेका कर्णालीका एक नेताले सामाजिक सञ्जालमा लेखेका छन् । हालसम्म महाधिवेशन प्रतिनिधि भएका १३ जिल्लामा ३ सय ६२ महाधिवेशन प्रतिनिधि निर्वाचित भएकोमा आधाभन्दा बढी (१९६) देउवा समूहका छन् । पौडेल समूहका १ सय २१, सिटौला समूहका २० र अन्य २५ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

प्रकाशित : आश्विन २६, २०७८ ०७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×