पक्राउ परेर पनि छुटेपछि अभियुक्तले अमेरिका पठाउने भन्दै ७ नेपालीलाई हिँडाएका थिए, कोलम्बियास्थित क्यारेबियन सागरमा दुर्घटनामा परेर उनीहरु हराएको ८७ दिन बितिसक्दा पनि अवस्था अज्ञात छ
काठमाडौँ — अदालतले कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएका संगठित मानव तस्करीका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउलगत्तै छाडेको तथ्य खुलेको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले गम्भीर प्रकृतिको फौजदारी कसुरमा कैद सजाय तोकिएका टोपबहादुर जीसीलाई शक्ति केन्द्रको दबाबमा छाडेका हुन् ।
जीसी नछुटेको भए दाङका तीनसहित ७ नेपाली बेपत्ता हुने थिएनन् । अवैध बाटोबाट अमेरिका जाने क्रममा गत असार ७ गते क्यारेबियन सागरमा भएको डुंगा दुर्घटनामा परेर उनीहरू हराएका हुन् । टोपबहादुर मध्यपश्चिमका युवालाई अवैध रूपमा अमेरिका छिराउने संगठित मानव तस्करीको गिरोहका मुख्य सदस्यका रूपमा प्रहरीले पछ्याइरहेका व्यक्ति हुन् । उनले दाङ तुलसीपुरका नरेन्द्र बस्नेतलाई २०७३ चैतमा ७० लाख लिएर अमेरिका छिराइदिने भन्दै घरबाट हिँडाएका थिए ।
अनेकन दुःख सहँदै गैरकानुनी रूपमा १३ देशको सीमा छिचोलेर नरेन्द्र अमेरिका त पुगे तर पक्राउ परिहाले । १७ महिना हिरासतमा बसेपछि अमेरिकी अध्यागमनले उनलाई नेपाल फर्काइदियो । ७६ लाख खर्च गरिसकेका उनले रित्तो हात फर्केपछि टोपबहादुर, लुम्बिनी प्रदेश सांसद उत्तरकुमार वली र उनका सहयोगी मुकुन्दराज जीसीविरुद्ध प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको जाहेरी दिए । त्यही जाहेरीका आधारमा चलेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७६ असार ४ मा फैसला सुनाउँदै टोपबहादुरलाई १५ लाख धरौटी र मुकुन्दराजलाई २ लाख ५० हजार धरौटीमा छाड्ने आदेश दियो । प्रदेश सांसद उत्तरकुमारको भने सडक दुर्घटनामा मृत्यु भइसकेकाले अदालतले केही आदेश दिएन ।
धरौटीमा छाड्ने आदेश दिएको १९ महिनापछि जिल्ला अदालत काठमाडौंले टोपबहादुरलाई २ वर्ष कैद सजाय र १२ लाख रुपैयाँ क्षतिपूर्ति तथा मुकुन्दराजलाई १ वर्ष कैद सजाय हुने फैसला गर्यो । उत्तरकुमारको मृत्यु भइसकेकाले उनकी श्रीमती विमलाकुमारी वलीबाट २५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला थियो । विमलाकुमारी अहिले लुम्बिनी प्रदेशकी सांसद छिन् ।
फैसलाको १२ दिनपछि माघ २ मा जिल्ला प्रहरी कार्यालय दाङले टोपबहादुरलाई पक्राउ गर्यो । तर फौजदारी कसुरमा सजाय तोकिएका उनलाई पक्राउ परेकै दिन एसपी गणेश चन्दले घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेको जमानीमा छाडिदिए । फौजदारी कसुरका अभियुक्तलाई प्रहरीले पक्राउ गरेर पनि छोडिदिएको समाचार सुरुमा अनलाइन पोर्टल उकेरा डटकमले सार्वजनिक गरेको थियो ।
नरेन्द्र अमेरिकाबाट डिपोर्ट भएर फर्केलगत्तै मुख्य प्रतिवादीमध्येका एक टोपबहादुरलाई पक्रिन मानव बेचबिखन ब्युरोको ठूलो टोली जुटेको थियो । त्यति बेला ब्युरोको टोलीले उनलाई दाङबाटै पक्रेर ल्याएको थियो । त्यसैले त्यस घटनाको पृष्ठभूमिबारे दाङ प्रहरी जानकार थियो । अदालतले कैद सजाय तोकिसकेपछि पनि अभियुक्त पक्रेर प्रहरीले किन छोडिदियो भन्ने रहस्यमय नै छ । यस विषयमा ब्युरोले पनि कुनै सक्रियता देखाएन । शक्ति केन्द्रको आडमा छुटेपछि टोपबहादुर फेरि पुरानै धन्दामा सक्रिय भए । उनले दाङकै एन्जल बुढा मगर, हेमराज डिंगा मगर र हेमराज अधिकारीलाई चैत तेस्रो साता अवैध मार्गबाट दुबईबाट युक्रेन, फ्रान्स, ब्राजिल हुँदै कोलम्बिया पुर्याए ।
क्यारेबियन सागरमा हराए ७ नेपाली
दाङका तीनसहित उनीहरूजस्तै अवैध रूपमा अमेरिका छिर्न भनेर हिँडेका पर्वत कुश्माका दिनेश गौतम, पर्वत बाच्छाका राजु गुरुङ, म्याग्दीका प्रकाश विक र स्याङ्जाका एक जना कोलम्बियाको राजधानी बोगोटादेखि झन्डै ८ सय किलोमिटर टाढा रहेको सानो सहर निकोक्लीकोको एक होटलमा बसेका थिए । गत असार ५ गते उनीहरू निकोक्लीकोको कपुरगानाबाट क्यारेबियन तटको कपुरगाना जाने क्रममा डुंगा दुर्घटनामा परेर बेपत्ता भए । ८ नेपाली र ५ बंगलादेशी डुंगा दुर्घटनामा परेकामा म्याग्दीका प्रकाश विक र ५ बंगलादेशीको उद्धार भयो । अरू सात नेपाली मरे–बाँचेको अत्तोपत्तो छैन । एन्जल बुढाको परिवारले उनको मृत्यु भइसकेको भन्दै विधिपूर्वक मृत्यु संस्कार सके पनि अन्यका परिवार द्विविधामै छन् ।
डुंगा दुर्घटनापछि एन्जलको परिवारले टोपबहादुरविरुद्ध मानव बेचबिखन ब्युरोमा जाहेरी दर्ता गराएको थियो । प्रहरीले खोजी गर्दा टोपबहादुर युक्रेनमा भएको सुइँको पायो । अवैध रूपमा अमेरिका पठाउने धन्दामा पीडितबाट पैसा टोपबहादुरकी पत्नी गोमा जीसीले बुझेको देखिएपछि असार ३० मा उनी पक्राउ परिन् । काठमाडौं जिल्ला अदालतको आदेशपछि उनी ३० लाख धरौटी बुझाएर छुटिन् ।
काठमाडौं जिल्ला अदालतले पहिले नै गरेको आदेश पुनरावलोकनका लागि टोपबहादुरले गत वैशाख १३ मा निवेदन दिएको देखिन्छ । सोही मुद्दाका अर्का प्रतिवादी मुकुन्दराज र लुम्बिनी प्रदेश सांसद विमलाकुमारीले पनि अदालतमा पुनरावेदन गरेका छन् । प्रतिवादीमाथि कम सजाय निर्धारण गरिएको भन्दै सरकारी वकिलको कार्यालय पनि फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटन गएको छ । उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माका अनुसार टोपबहादुरबाहेकका दुई जनाले जेठ १० गते पहिलो तारिख खेपेका थिए । तीनै जनाको अर्को तारिख असोज १० का लागि तोकिएको छ ।
'घोस्ट ट्रेल’ पछ्याउँदै अमेरिका
पीडित नरेन्द्रकी आमाले पक्राउ परेको व्यक्तिलाई प्रहरीले छाड्दा आफूहरूमाथि अन्याय भएको बताइन् । उनले फोनमा भनिन्, ‘छोराले महिनौंसम्म दुःख मात्रै भोगेन, हाम्रो घरबार नै उठीबास भयो ।’ हाल प्रहरी प्रधान कार्यालयमा रहेका एसपी गणेश चन्दले धरौटीमा छुटेका व्यक्ति भएको बुझेपछि टोपबहादुरलाई छोडिदिएको तर्क गरे । अदालतले २ वर्ष कैद सजाय सुनाएको १२ दिनपछि पक्राउ गरेर किन छाडियो भन्ने प्रश्नमा भने उनी अनकनाए । ‘अदालतको आदेश लिखित रूपमा आइसकेको पनि थिएन,’ उनले टेलिफोनमा भने, ‘मैले कानुनी सल्लाह गरेर नै सबै कदम उठाएको हो ।’
को हुन् टोपबहादुर ?
नरेन्द्रले दिएको जाहेरीमा पक्राउ परेपछि अदालतमा बयान दिने क्रममा टोपबहादुरले एक समय आफू एमालेको जिल्ला कमिटी सदस्य भएको बताएका थिए । एमालेका तर्फबाट प्रदेश सांसदमा निर्वाचित उत्तरकुमार राजनीतिका अलावा ट्राभल एजेन्सी सञ्चालनमा सक्रिय थिए । आवरणमा ट्राभल एजेन्सी देखिए पनि उनी अवैध रूपमा अमेरिका पठाउने काममा सक्रिय रहेको अदालती बयानबाट खुल्छ । बयानमा टोपले भनेका छन्, ‘प्रदेश सांसदसमेत रहेका उत्तरकुमार वलीले ६/७ सय जनालाई अमेरिका पठाएका छन्, मेरो सालो दीपक केसी पनि अमेरिका गएका थिए ।’
स्थानीय गणतन्त्र दैनिकको प्राविधिक पाटोमा समेत काम गर्ने टोपबहादुर उत्तरकुमार र उनको ट्राभल एजेन्सीमा काम गर्ने मुकुन्दराजसँग निकट थिए । वलीले चलाइरहेको संगठित मानव तस्करीको धन्दामा टोपको भूमिका पैसा उठाउने, मान्छे खोज्ने जस्ता सम्पर्क सूत्रका रूपमा थियो । २०७५ माघ २४ मा सडक दुर्घटनामा परेर प्रदेश सांसद वलीको मृत्यु भएपछि उनले पुरानो सम्पर्क सूत्र प्रयोग गरेर मानव तस्करीको धन्दालाई अघि बढाए ।
पत्रिकाको प्राविधिक काम गर्ने भएकैले उनी जिल्लाको पत्रकार राजनीतिमा पनि धेरथोर सक्रिय थिए । स्रोतका अनुसार पक्राउ परेर छुट्ने दिन उनलाई लिन जिल्लास्थित पत्रकार महासंघका सदस्यहरू पनि प्रहरी कार्यालय नै पुगेका थिए । टोपबहादुरलाई पहिलोचोटि पक्राउ गर्न सक्रिय एक प्रहरी अधिकारीले भने, ‘अमेरिका पठाउने धन्दाबाटै उनले आर्थिक हैसियत ह्वात्तै उकासेका थिए । पुरानो सम्पर्क प्रयोग गर्दै प्रदेशस्तरीय राजनीतिक दलका नेतासँग पनि हिमचिम कायमै राखेका थिए ।’
खबर कुरेरै बित्छ दिन
कोलम्बियाको निकोक्लीकोको सहरबाट क्यारेबियन तट कपुरगाना जाने क्रममा डुंगा दुर्घटना भएको ८७ दिन कटिसक्दा पनि हराएका सात नेपाली अवस्था अझै अज्ञात छ । दुर्घटनामा एक जना नेपालीलाई भने उद्धार गरिएको थियो । हराएकामध्ये एकको परिवारले मात्रै प्रहरीमा किटानी जाहेरी दिएको छ । हराएका नेपाली खोज्न कुनै पनि सरकारी संयन्त्रले सक्रियता नदेखाउँदा लाखौं रुपैयाँ गुमाएका र परिवारका सदस्यको खैखबर पनि नपाएका पीडित आफ्नो दुःख आफैंसँग लुकाएर बाँचिरहेका छन् ।
हराइरहेका पर्वत कुश्माका दिनेश गौतमका बाबु तिलप्रसादले छोराको बारे कहीं कतैबाट आधिकारिक खबर नपाएको बताए । हराएकै दाङ तुल्सीपुरका हेमराज अधिकारीकी जेठीसासू पवित्रा भण्डारीले एजेन्ट टोपबहादुरसँग कुराकानी गरेको तर आफ्नो मान्छेको अवस्थाबारे केही थाहा नभएको बताइन् । टोपबहादुरले एक साताअघि आफूले लगेको पैसा पठाइदिने बताएको उनले सुनाइन् । ‘पैसा फिर्ता गर्छु भन्छ तर गर्दैन । न हाम्रो मान्छेको कुनै खबर सुनाउँछ,’ उनले भनिन् ।
परिवारजनले व्यक्तिगत सम्पर्क सूत्रमार्फत बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् । तर आधिकारिक सूचना फेला पारेका छैनन् । कुश्माका तिलप्रसाद गण्डकीको धारिलो बहावमा पौडिन सक्ने छोरा डुंगा दुर्घटना परे पनि पौडिएर किनारमा आएको हुन सक्ने बताउँछन् । तर उनी किन सम्पर्कमा आएनन् भन्ने प्रश्नको उत्तर उनले भेटेका छैनन् । छोराको खोजीमा सरकारी संयन्त्रसम्म भने नपुगेका उनले भने, ‘हाम्रो पीडा हामीसँगै छ ।’
