'घोस्ट ट्रेल’ पछ्याउँदै अमेरिका [भिडियोसहित]

‘घोस्ट ट्रेल’को बाटो भएर अमेरिका जान खोज्नेमध्ये बर्सेनि सयौं जना सशस्त्र समूहबाट मारिन्छन् वा बेपत्ता बनाइन्छन् ।

असार १४, २०७६

जनकराज सापकोटा

काठमाडौँ — कक्षा १२ को परीक्षा सकेर बसेका थिए, दाङ तुलसीपुरका १९ वर्षीय नरेन्द्र बस्नेत । त्यही बेला उनलाई जिल्लावासी टोपबहादुर जीसीले अमेरिका जाने भए आफूले प्रक्रिया मिलाइदिने बताए । आमा माया सेन वलीलाई अमेरिकाको कुरा सुनाए । 

मायाले आफ्ना माइती गाउँले टोपको कुरामा उति धेरै शंका गरिनन् । टोपले भनेका थिए, ‘पढेलेखेको मान्छे नेपालमा बसेर के गर्नुहुन्छ ? अहिले राम्रो अवसर छ । पछि मेक्सिकोको बोर्डरमा पर्खाल लागेपछि अमेरिका जान पाइँदैन ।’ अमेरिका पुगेपछि मासिक ५ हजार डलर कमाउन सकिने, ग्रिनकार्ड पनि सजिलै बन्ने कुरा सुनेपछि नरेन्द्रले अमेरिका जाने मन बनाए । 

टोपले मायासँग छोरालाई सजिलै अमेरिका छिराइदिने र त्यसबापत ७० लाख लाग्ने बताए । अरूजस्तो जंगलको बाटो हिँड्न नपर्ने र सोझै मेक्सिको गएर अमेरिका छिर्ने भएकाले खर्च धेरै लाग्ने टोपको भनाइ थियो । मायाले सुनाइन्, ‘सजिलै अमेरिका पुग्छ र छोराको भविष्य पनि बन्छ भनेपछि म तयार भएँ ।’ टोपले यस्तै आश्वासन दाङकै टेकबहादुर भण्डारीलाई पनि दिएका थिए । 

नरेन्द्र र टेक २०१६ को नोभेम्बर पहिलो साता अमेरिका जान भन्दै घरबाट हिँडे ।

घरबाट निस्कनुअघि नै नरेन्द्रकी आमाले टोप र उनले भनेको मान्छेको खातामा दुई पटक गरी २० लाख ९७ हजार जम्मा गरिसकेकी थिइन् । टोपले उनीहरूलाई भारतको नयाँ दिल्लीको पहाडगन्जस्थित होटल मिलन कन्टिनेन्टलमा राखे । ‘काम आज होला, भोलि होला भन्दाभन्दै कैयौं दिन बिते,’ नरेन्द्रले सुनाए, ‘तर अहँ काम भएन ।’ त्यही बेला नरेन्द्र बिरामी भए । काम नबन्ने हो भने घरै फर्किन्छु भनेर नरेन्द्रले भनेका थिए । तर टोपले हुन्छ हुन्छ भन्दै झुलाइरहे । 

४ महिनापछि पर्यटक भिसा

चार महिनाको प्रतीक्षापछि टोपले बोलिभियाको एकमहिने पर्यटक भिसा लगाइदिए । उनीहरू रसिया र स्पेनको ट्रान्जिट हुँदै बोलिभिया पुगे । विमानस्थलमा एक बंगाली मूलको एजेन्ट लिन आएको थियो । बंगालीले सोझै एउटा घरमा लग्यो र कोठाभित्र छिराएर बाहिरबाट ताल्चा लगाइदियो । नरेन्द्रले सुनाए, ‘त्यो कुन ठाउँ थियो, केही थाहा छैन ।’ ठाउँ थाहा नभएको सोही घरमा पानीको सुविधा थिएन । ननुहाईकन कैयौं दिन बित्यो । नरेन्द्रले सुनाए, ‘शरीर पूरै गन्हाएको थियो ।’ 

महिना दिनपछि बल्ल एजेन्टले उनीहरूलाई त्यहाँबाट निकाल्यो र झन्डै २० घण्टाको बस यात्रापछि पेरुको सिमाना पुर्‍यायो । त्यहाँ एक दिन राखेर भोलिपल्टै ३६ घण्टा लगातार बस चढाएर पेरुको राजधानी लिमा पुर्‍यायो । एजेन्टले त्यहाँबाट झन्डै ११ घण्टाको बस यात्रापछि इक्वेडरको सिमानामा रहेको पेरुकै सुलाना प्रान्तको एउटा सहर पुर्‍यायो । उनीहरू एक दिन सुलानाकै एउटा झुपडपट्टीमा बसे । 

भोलिपल्टै एजेन्टले माइक्रो जस्तै गाडीमा चढाएर रातारात अवैध रूपमा इक्वेडर छिराइदियो । सीमा कटेपछि उनीहरू सोझै इक्वेडरको राजधानी क्वेटो हुँदै अर्को एजेन्टको सहारामा अवैध रूपमा कोलम्बिया छिरे । नरेन्द्रले सुनाए, ‘केही डलर दिएपछि उनीहरूले झन्डै २० मिनेट घोडा चढाएर खोला जस्तो सिमसार हुँदै सीमा कटाइदिए ।’

कोलम्बिया छिरेपछि एजेन्टले उनीहरूलाई साल्सा नाचमा ख्याति कमाएको कोलम्बियाको काली सहर पुर्‍याएर एउटा घरमा राख्यो । नरेन्द्रका अनुसार त्यो घरमा झन्डै २५ जना मानिस थिए । नेपाल, भारत, बंगालादेश र अन्य अफ्रिकी देशबाट अमेरिका छिर्न आँटेका तिनीहरूमध्ये झन्डै आधा नेपाली नै थिए । 

कालीमा उनीहरू झन्डै डेढ महिना बसे । उक्त घरमा नेपाली आउनेजाने भइरहन्थ्यो । नरेन्द्रका अनुसार एजेन्टको सेटिङमा त्यहाँसम्म आएकाहरू केही दिन बस्ने र अर्को देश छिर्ने गर्थे । नरेन्द्र र टेकलाई एक दिन एजेन्टले त्यहाँबाट सारेर कोलम्बियाको अर्को सहर मेडलिन पुर्‍यायो । त्यहाँ पनि उनीहरू धेरै दिन अडिएनन् । त्यसपछि उनीहरूलाई अर्को एजेन्टले मेडलिनबाट ३ सय ४० किलोमिटर दूरीमा रहेको तटीय क्षेत्र टुर्बो पुर्‍यायो । 

पासपोर्ट जलाएर जंगलै जंगल 

अवैध रूपमा अमेरिका हिँडेकाहरू टुर्बोबाट स्थल र जलमार्ग भएर क्यारेबियन कोस्टमा रहेको कपुरगाना भन्ने दुर्गम गाउँ हुँदै अघि बढछन् । नरेन्द्र र टेकलाई भने एजेन्टले टुर्बोबाट ९० किलोमिटर दूरीमा रहेको कपुरगाना तीनघण्टे डुंगा यात्रामार्फत पुर्‍यायो । 

यसपछि नरेन्द्र र टेकको सबैभन्दा दुष्कर यात्रा सुरु भयो ।

किनकि एजेन्टले उनलाई कोलम्बिया र पानामाको सीमामा पर्ने डेरियन ग्याप भनिने घना जंगलको बाटो हुँदै पानामा छिराउने तयारी थालेका थिए । अमेरिका छिर्न हिँडेकाहरू अक्सर डेरियन ग्याप छिचोल्नुअघि आफ्नो परिचय खुल्ने सबै कागजात च्यातेर जलाउँछन् ।

नरेन्द्रले पनि एजेन्टले भने जस्तै आफ्नो पासपोर्ट र अन्य परिचय खुल्ने कागजात च्याते । जलाए । ‘पासपोर्ट त झन् जलाउनै पर्दो रहेछ । च्यातेको पासपोर्ट पनि एजेन्टहरूले भेटे भने दुरुपयोग हुने खतरा हुँदो रहेछ,’ उनले भने, ‘जंगल छिचोल्न भन्दै एजेन्टले बुट, रेनकोट, केही खानेकुरा र पकाएर खाने भाँडासहितको झन्डै २५ किलोको झोला तयार पारेका थिए ।’ 

डेरियन ग्याप छिचोल्न मानव तस्करका एजेन्टले स्थानीय एजेन्टलाई उपयोग गर्छन् । जंगल कटाइदिने यस्ता एजेन्टलाई स्थानीय भाषामा डंकर भनिन्छ । अमेरिका छिर्न हिँडेका अन्य कैयौं मान्छेको हुलमा नरेन्द्र र टेक पनि मिसिए । 

विषालु सर्प र सन् १९६४ देखि सरकारसँग लडाइँ लडिरहेका कोलम्बियाविरोधी हतियारधारी गुरिल्ला समूहका कारण यो जंगलको यात्रा जोखिमपूर्ण मानिन्छ । क्युबा, सोमालिया, सिरिया, बंगलादेश, नेपाललगायत अफ्रिका र एसियाली देशबाट अमेरिका छिर्न हिँडेकाहरूलाई मानव तस्करका एजेन्टले यही बाटो हिँडाउने गरेको तथ्य आईओएमले पनि उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको आईओएमले निकालेको ‘माइग्रेसन एन्ड माइग्रेन्ट्स ः अ ग्लोबल ओभरभ्यु’ शीर्षकमा सन् २०१६ मा प्रकाशित प्रतिवेदनले यो डरलाग्दो जंगली यात्रालाई ‘घोस्ट ट्रेल’को नाम दिएको छ । प्रतिवेदनमा लेखिएको छ, ‘यही जंगल छिचोल्नेहरू प्रत्येक वर्ष सयौं जना सशस्त्र समूहबाट मारिन्छन् वा बेपत्ता बनाइन्छन् ।’ 

घना जंगल र सिमसार जस्तो बाटो दर्जनौं पटक खोला तर्नुपर्ने र जुकाको सिकार भइराख्नुपर्ने यात्रा नरेन्द्र र टेकले ६ दिनमा सके । जंगल कटेपछि उनीहरू पानामाको राजधानी पानामा सिटी पुगे । पानामाले अमेरिका छिर्न हिँडेका अवैध यात्रीलाई तीनवटा क्याम्प नै बनाएर राख्ने गरेको छ, जहाँ प्रतिदिन एक डलर तिरेर भुइँमै एक रात सुत्न पाइन्छ ।

यसरी क्याम्पमा बस्नेहरूलाई पानामा सरकारले कोड नम्बरसहितको ब्यान्ड हातमा लगाइदिन्छ । क्याम्पमा बसेकाहरूलाई केही दिनको अन्तरालमा सय/सय जनाका दरले अर्को देश जान बस चढाइदिन्छ । 

नरेन्द्रको हातमा पनि त्यस्तै ब्यान्ड थियो । उनले पहिलो क्याम्पमा तीन दिन र दोस्रो क्याम्पमा दुई दिन बिताए । त्यसपछि भने ३९ डलर तिरेर बस यात्रामार्फ कोस्टारिकाको सीमातर्फ लागे । एजेन्टको सहयोगमा अवैध रूपमा कोस्टारिका छिरेपछि उनी सरासर शरणार्थी राख्ने क्याम्पमा पुगे । 

पानामाले जस्तै कोस्टारिकाले पनि अवैध रूपमा अमेरिका छिर्न हिँडेकाहरू आफ्नो देशमा भार बनेर नबसून् भनेर शरणार्थीहरूलाई सुरक्षित रूपमा अर्को देश पठाउने नीति अख्तियार गरेको छ । नरेन्द्रले कोस्टारिकाको क्याम्पमा तीन दिन बिताए । त्यसपछि एजेन्टको सहयोगमा उनी निकारागुवातर्फ लागे । 

दुई दिनको जंगलको बाटो हिँडेर उनी र टेकले निकारागुवा टेकेका मात्रै के थिए, सुरक्षाकर्मीले देखिहाले । र, उनीहरूलाई कोस्टारिका नै फर्काइदिए । फेरि अर्को एजेन्टलाई पैसा खुवाएर उनी अर्को दिन निकारागुवा छिरेरै छाडे । निकारागुवा छिरेकै दिन स्थानीय लुटेराले नरेन्द्रको झोला, जुत्ता, ट्राउजर र साथमा भएको ५० डलर सबै लुटिदिए । 

प्रत्येक देशबाट अर्को देशको सीमा काटदा उनले एजेन्टलाई पैसा बुझाउँथे । बेलाबेलामा नरेन्द्रलाई साउदी अरबमा रहेका बाबुले पनि पैसा पठाइदिन्थे । नरेन्द्रकी आमाले सुनाइन्, ‘छोराले रुँदै फोन गर्थ्यो, दलालले अर्को देश लैजाने हो भने पैसा चाहियो भन्थ्यो अनि म अनेकतिरबाट पैसा जुटाएर दलाललाई बुझाउँथे ।’ 

मायाका अनुसार दलाललाई बुझाउने पैसा जुटाउन उनले दाङ, तुलसीपुर उपमहानगरपालिका १५ को दुई बिघा ४ कट्ठा जग्गा २५ लाख रुपैयाँमा स्थानीय प्रदीप डांगीलाई छिनुवा पास गरिदिइन् । अनि दोस्रोपल्ट बाँकी ११ कट्ठा जग्गा १५ लाख रुपैयाँमा स्थानीय हिमा रेग्मीलाई पनि छिनुवा पास गरिदिइन् ।

स्थानीय भाषामा छिनुवा पास भनेको पैसा लिने र कागज गरेर जग्गा दिने प्रक्रिया हो । यस्तो अभ्यासमा कागजमा उल्लेख गरिएको समयमै पैसा फिर्ता गर्न नसके जग्गा पैसा दिनेकै नाममा स्वतः पास हुन्छ । यसरी अनेकतिरबाट पैसा जुटाउँदै नरेन्द्र निकारागुवाबाट दुई दिन हिँड्दै र सामान बोक्ने लरीभित्र लुकेर झन्डै ८ घण्टे यात्रा गरेर होन्डुरस पुगे । अवैध रूपमा सीमा प्रवेश गरेको आरोपमा उनी होन्डुरसमा पक्राउ परे । प्रहरीले उनलाई १५ दिन थुनामा राख्यो र छोडिदियो । त्यहाँबाट उनी एजेन्टको सहयोगमा अवैध रूपमा सीमा पार गर्दै ग्वाटेमाला पुगे । 

ग्वाटेमालाको जुन होटलमा उनी बसेका थिए, त्यहाँ अन्य तीन नेपाली पनि उनीजस्तै अमेरिका जान भनेर हिँडेका थिए । ग्वाटेमालाबाट मेक्सिको छिर्न सकियो भने त्यहाँबाट अमेरिका छिर्न सकिन्छ भन्नेमा नरेन्द्र ढुक्क थिए । तर यहाँसम्म आइपुग्दा नै उनको झन्डै ५० लाख रुपैयाँ खर्च भइसकेको थियो । उनले नेपालमा रहेको एजेन्ट टोपलाई फोन गरे । टोपले थप पैसा मागेपछि उनको एजेन्टसँग झगडा पर्‍यो । त्यसपछि भने उनले निर्णय गरे, अब एजेन्टको भर परेर हुन्न । आफ्नै सुरले अगाडि बढछु । 

ग्वाटेमालाबाट मेक्सिको छिर्ने सिमानामा रहेको मालाकटानको एउटा झुपडीमा एक महिना बिताएर उनी एजेन्टको सहयोगमा मेक्सिको छिरे । नरेन्द्रका अनुसार दुई देशको सीमा हुँदै बग्ने नदी तर्न एजेन्टले हावा भरेको दुई ट्युबलाई फलेकले जोडेर डुंगा जस्तै बनाएका थिए । जोखिमपूर्ण त्यही डुंगा चढेर उनी मेक्सिको छिरे र सोझै प्यासिफिक ओसनको छेउमा रहेको तापाचुला सहर पुगे । नरेन्द्रसँग गोजीमा पैसा थिएन । कैयौं दिनदेखि उनले नियमित खानसमेत पाएका थिएनन् । 

तापचुलाबाट मेक्सिको सिटी हुँदै अमेरिकाको सिमानामा रहेको मेक्सिकन सहर तिजुवाना पुग्ने उनको योजना थियो । तर त्यसनिम्ति कम्तीमा पनि ५ सय डलर चाहिन्थ्यो । महिनौं लामो कष्टपूर्ण बाटो हिँडेका सहयात्री टेकले केही दिनमै अमेरिकामा रहेका आफन्तबाट ५ सय डलर मगाए । तर नरेन्द्रले भने तुरुन्तै पैसा जुटाउन सकेनन् । नरेन्द्रले सुनाए, ‘मैले पैसा जुटाउन नसकेपछि टेकले मलाई एक्लै छाडे र आफ्नो बाटो हिँडे ।’ 

बिरानो सहरमा नरेन्द्र एक्लै परे । केही दिनपछि उनले अमेरिकामा रहेका आफन्तसँग हारगुहार गरेर ४ सय डलर जुटाए । त्यसपछि प्लेन चढेर राजधानी मेक्सिको सिटी हुँदै अमेरिकाको सीमावर्ती सहर तिजुवाना पुगे । त्यहाँ पुग्दा नरेन्द्रसँग साथमा केही थिए । च्यातिएको कपडा, फोहोरी शरीर र भोको पेट, जब उनी विमानस्थलबाट बाहिर निस्किए, तब सुरक्षा अधिकारीहरूले उनलाई पक्रिहाले । उनलाई सोधे, ‘तिजुवाना किन आएको ?’ उनले भने, ‘घुम्न आएको ।’

नरेन्द्रले त्यति बेलाको समय सम्झिँदै सुनाए, ‘मेरो हालत देखेरै उनीहरूले मेरो कुरा पत्याएनन् ।’ प्रहरीले उनलाई चार दिन पक्रेर थुन्यो । तर उनीसँग परिचय खुल्ने कुनै कागजात नभएपछि छोडिदियो । अमेरिका कसरी छिर्ने नरेन्द्रलाई केही थाहा थिएन । उनी भोकै सडकमा हिँडिरहेका बेला स्थानीय लुटेराको समूहले पक्राउ गर्‍यो । 

नरेन्द्रको साथबाट लुट्नका लागि केही थिएन । लुटेरा समूहले उनलाई तीन दिन बन्धक बनाएर राखे । उनले नाडीका थोप्ला थोप्ला जस्ता खत देखाउँदै भने, ‘त्यही बेला चुरोटले पोलेर भएका दाग हुन् ।’

मेक्सिको अध्यागमनमा नेपाली राष्ट्रिय गान

लुटेराबाट फुत्किएपछि नरेन्द्र अनेकन मान्छेसँग सोध्दैखोज्दै मेक्सिको–अमेरिकी सीमामा पुगे । नरेन्द्रले सुनाए, ‘अरू त पर्खाल नाघेर अमेरिका छिर्छन् भन्ने सुनेको थिएँ । तर म सोझै अध्यागमनको गेटमै पुगें ।’ सजिलै अध्यागमन पार गरेको भए नरेन्द्र अमेरिकाको सेन्ट डियागो पुग्ने थिए । 

अध्यागमन अधिकारीले नियन्त्रणमा लिए र सोधे, ‘कहाँबाट आएको ?’ उनले नेपालबाट आएको बताए पनि अध्यागमन अधिकारीले पत्याएनन् । झन्डै चार घण्टा घाममा उभ्याएपछि अर्का अधिकारी आएर सोधे, ‘नेपालबाट आएको होस् भने नेपालको राष्ट्रिय 

गीत गा ?’ 

नरेन्द्रले चर्को घाममा उभिएर गाए, ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भै फैलिएका मेची महाकाली...।’

नरेन्द्रलाई ठ्याक्कै सम्झना छ, त्यो दिन २०१७ नोभेम्बर २७ को दिन थियो । अध्यागमन अधिकारीले उनलाई शरणार्थी शिविरमा लिएर गए । 

मेक्सिको छिरेपछिका झन्डै चार महिनासम्म नरेन्द्रको घरमा सम्पर्क भएको थिएन । आमा मायाले ती दिन सम्झिँदै सुनाइन्, ‘छोरा कहाँ छ भनेर सेकेन्ड, मिनेट गन्दागन्दै दिन बिते । त्यो बेला कति रोइयो, हिसाबकिताब छैन ।’

नरेन्द्रकी आमा मायाले प्रहरी बयानका क्रममा मेक्सिकोबाट हिँडेको छोरा चार महिनासम्म सम्पर्कमा नआएपछि आफूले छोरा खोजिदिन एजेन्ट टोपलाई गुहारेको बताएकी छन् । उनले भनेकी छन्, ‘छोरा भएपछि खोज्नका लागि रकम लाग्छ भनेपछि टोपलाई ५ हजार अमेरिकी डलर बुझाएँ ।’ टोपले छोरालाई अध्यागमन नियन्त्रणबाट छुटाउनका लागि थप रकम चाहिने बताएपछि आफूले थप २० हजार डलर टोपमार्फत अमेरिका पठाएको बताएकी छन् । 

शरणार्थी शिविरमा छिरेपछि भने नरेन्द्रले घरमा सम्पर्क गरे । छोराको एक कल फोन नै मायाका निम्ति लाख भइदियो । त्यसपछि नरेन्द्रले शरणार्थीको मान्यता पाउन कानुनी प्रक्रिया सुरु गरे । वकिल खोज्ने, स्पोन्सरसिप खोज्ने जस्ता प्रक्रियामा नरेन्द्रकी आमाले ५ लाखभन्दा धेरै खर्च गरिन् । १७ महिना अध्यागमनको हिरासतमा बसे पनि अध्यागमनले उनलाई धरौटीमा छाड्न नमिल्ने भन्दै देश फर्काउने निर्णय लियो । नरेन्द्रसँग मेक्सिकोबाट छुटेर एक्लै हिँडेका टेक भने अमेरिका छिरेछन् । 

अमेरिकामा कुनै पनि हालतमा शरण नमिल्ने भएपछि नरेन्द्र अमेरिकाको वासिङ्टनस्थित नेपाली दूतावासको शरणमा पुगे । दूतावासले ८ जनवरी २०१९ मा उनलाई नेपाल फर्किनका निम्ति ट्राभल डकुमेन्ट बनाइदियो । नरेन्द्रले सुनाए, ‘देश छाड्दा १९ वर्षको थिएँ, फर्किंदा २१ वर्षको भएँ ।’

७५ लाख ९७ हजार गुमाएर नेपाल फर्केपछि नरेन्द्रले आफूलाई लैजाने एजेन्ट टोपबहादुरविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दिएका थिए । प्रहरी बयानमा टोपले क्षेत्र नम्बर ५ दाङका दिवंगत प्रदेश सांसद उत्तरकुमार ओलीसँग मिलेर आफूले नरेन्द्रलाई अमेरिका पठाउन सहयोग गरेको बताएका छन् । प्रहरीले टोपविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत २०७६ जेठ २७ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । 

५ असारमा जिल्ला अदालत काठमाडौंले प्रतिवादी टोपलाई १५ लाख धरौटीमा छाड्ने आदेश थियो । अदालतको आदेशबाट आफू अचम्ममा परेको घटनाको अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकारीले बताए । ‘कैयौं महिना यातना खेपेर, बल्लतल्ल जोगाएर छोरा फर्कियो,’ मायाकी आमाले भनिन्, ‘हाम्रो उठीबास भयो तर न्याय पाइएन ।’

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully