पार्टी र गठबन्धनको समस्याका कारण राष्ट्रको समय बर्बाद गर्न पाइँदैन : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अदालतको परमादेशबाट बन्दै गरेको सरकार भएको बताएका छन् ।

पार्टी र गठबन्धनको समस्याका कारण राष्ट्रको समय बर्बाद गर्न पाइँदैन : ओली

एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसेकेकाले अहिलेको सरकार बन्दै गरेको सरकार भएको बताएका हुन् ।

'हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरुको पार्टीहरुको किचलो छरपष्ट भएको छ । के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ? सरकारको न्यूनतम कार्यक्रम हामीविरुद्ध गाली गलौजको पुलिन्दा हो,' ओलीले भने, 'असंवैधानिक र अपवित्र नन्दी–भृंगी जालीझेलीहरुको गठबन्धन हो । भ्रष्टाचारीलाई कारबाही गर्ने रे । क्यान्टोनमेन्टको भ्रष्टाचार विगतको लुट निजी सम्पत्ति कब्जा गरेको छानबिन हुन्छ । वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कहिले भए ? संलग्न गठबन्धनका नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ ?' झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने योजना अहिलेको सरकारको रहेको उनले आरोप लगाए ।

एमसीसीको बारेमा देउवाको सरकार बोल्न नसकेको समेत उनले बताए । 'तपाईंहरुकै पालामा सम्झौता गरेको होइन ? १ सय ६५ को कृत्रिम मतले विश्वासको मत लिएकै छ त । पास गर्नु नि किन हामीलाई दोष ? हामी त स्पष्ट छौं । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवी र विज्ञहरुले दिएको सुझावहरुको आधारमा जनताको भावना अनुसार संशोधनसहित पास हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो,' उनले भने ।

प्रकाशित : श्रावण २५, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?