काठमाडौँ — विधान महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धी प्रस्ताव पारित गरेको हो ।
स्थायी कमिटी बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । उनले भने, 'स्थायी कमिटीको बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने भनेर पास भयो ।'
एमालेको केन्द्रीय समिति बैठकमा पनि केहीबेरमा तुलसीलाल स्मृति प्रतिष्ठान भवनमै बस्नेछ । बैठकले स्थायी कमिटी बैठकले पारित गरेको विधान संशोधन सम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ ।
आगामी भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशनको मिति तोकिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको कुनै पनि सांगठनिक गतिविधि अघि नबढाउन आग्रह गरिरहेका बेला संस्थापन पक्षले भने विधान महाधिवेशनको तयारीको कामलाई तीव्रता दिएको हो ।
