२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कोही किन ज्यानको बाजी लगाएर अमेरिका छिर्न खोज्छ ?

नेपालदेखि अमेरिकासम्म : एकै यात्रुले पार गर्नुपर्ने अनेक रुट
हवाईजहाज र गाडी, डुंगा र पैदल गर्दै १५ भन्दा बढी ‘ट्रान्जिट’ पार गरेर अमेरिका पुगेका नेपाली जब ‘डिपोर्ट’ हुन्छन्, उनीहरुको सपना शून्य हुन्छ, ऋण भने ५० लाख नाघेको हुन्छ
जनकराज सापकोटा

काठमाडौँ — दाङको घोराही–१५ का २५ वर्षीय राम क्षत्री बिहान साढे ४ नबज्दै उठिसक्छन् । १० मिनेट मोटरसाइकलको यात्रा गरेर उनी वडा नम्बर १४ मा रहेको द होप ट्रेनिङ सेन्टरमा पुग्छन् । उनी पुग्दा नपुग्दै उनका करिब दुई दर्जन विद्यार्थी त्यहाँ आइसकेका हुन्छन् । नेपालदेखि भारत र ब्रिटिस सेना तथा सिंगापुर पुलिससम्म भर्ती हुने सपना बोकेका तन्नेरीलाई उनी तालिम दिन्छन् ।

कोही किन ज्यानको बाजी लगाएर अमेरिका छिर्न खोज्छ ?

एउटा समय थियो, राम पनि यसैगरी तालिम लिन्थे । बुबा नेपाली सेनाका अवकाश प्राप्त सुवेदार हुन्, हजुरबा भारतीय सेनामा हवल्दार थिए । उनको सपना त्योभन्दा टाढा सात समुद्रपारि फैलिएको थियो । हो, उनी बेलायती सेनामा भर्ती हुन चाहन्थे । त्यो अधुरो सपनाको बीउ उनको मनको अन्तरकुन्तरमा अहिले पनि छ । उनलाई लाग्छ, समयको पात्रोबाट २०६९ को दिन हटाइदिने हो भने जिन्दगी अर्कै हुने थियो । रोल्पा नगरपालिका–१० ह्वामाबाट रामको परिवार २०६० मै घोराही सरे पनि उनले रोल्पाकै लिबाङस्थित ब्राइट फ्युचर इंग्लिस बोर्डिङमा बसेर एसएलसी परीक्षा दिएका थिए ।

स्थानीय रिसवाङ र रेउघा गाउँको बीचमा लाग्ने रिसवाङ मेलामा गएका बेला दुई गाउँका बासिन्दाबीच विवाद र झडप भयो । स्थानीय मंगलचन्द्र घर्तीको मृत्यु भयो । मृतक परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले २० जनाविरुद्ध जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गर्‍यो । भोलिपल्ट एसएलसीको रिजल्ट भयो तर पास भएको खुसी रामले साट्न पाएनन् । किनकि घटनामा उनको नाम पनि मुछिएको थियो । रामले सुनाए, ‘खासमा न मैले मृतकलाई चिन्थें, न झगडाको कारण थाहा थियो, हुलमूलमै परें र त्यसै दोषी करार भएँ ।’

घटनालगत्तै रामसहित १८ पक्राउ परे । अर्का एक केही समयपछि पक्राउ परे । अर्का एक भने फरार नै रहे । जिल्ला अदालतले उनीहरूलाई सर्वस्वसहित जन्मकैदको फैसला गर्‍यो । उच्च अदालत दाङले कैद सजाय घटाएर १० वर्ष बनायो । रामसहितका परिवारले पुनरावेदन गर्दा मुद्दा सर्वोच्च अदालतसम्म आइपुग्यो । सर्वोच्चले घटनामा संलग्न सबैविरुद्ध २ वर्ष कैद र ५ सय जरिवानाको फैसला सुनायो । फैसला आइपुग्ने बेलासम्म रोल्पा, दाङ र बाँके कारागारमा गरेर रामले ५ वर्षको कैद सजाय काटिसकेका थिए ।

दाङको घोराहीस्थित द होप ट्रेनिङ सेन्टरमा तालिम दिँदै राम क्षत्री (बीचका पूरै सेतो टिसर्ट लगाउने)

हुर्किरहेको किशोरकाल उनले जेलमै बिताए । तर टुटेको आत्मविश्वास सम्हालेर उनले १२ कक्षाको पढाइ सके । फौजदारी कसुरमा कैद सजाय भोगेको व्यक्ति सेनामा भर्ती हुन अयोग्य हुन्छ भन्ने उनले जेलभित्रै सुनेका थिए, त्यसैले सैनिक बन्ने सपना त्यागेर उनले दायाँ हातको कुमदेखि पाखुरासम्मै ट्याटु खोपाए । ‘भर्ती हुने सपना चटक्कै त्यागें । जेलबाट निस्कँदा त म डिप्रेसनको सिकार भएजस्तै भएको थिएँ,’ अनाहकमा दण्डित भएको भन्दै आफैंलाई प्रश्न गर्छन्, ‘म किन दोषी करार भएँ ? नेपालको न्याय प्रणालीले किन दोषी र निर्दोष चिन्न सक्दैन ?’

जेलबाट निस्केको केही दिनपछि उनले स्कुले साथी कीर्तिमान बुढालाई फेसबुकमा भेटे । ती साथी अनेक एजेन्टको सहयोगमा अवैध बाटो हुँदै अमेरिका पुगेका थिए । साथीले अमेरिकी जीवनको बयान गरेपछि राम पनि आकर्षिक भए । ‘दाङ, रोल्पा, रुकुमतिर अमेरिका जाने फेसनजस्तै थियो, बाटो अवैध हो तर पुगेपछि जीवन स्वर्ग हुन्छ भन्ने सबैलाई लाग्थ्यो’ उनी गाउँको मनस्थिति सम्झन्छन् । समय यस्तो थियो, कसैलाई अमेरिका जाने मन मात्रै गर्नुपर्थ्यो, एजेन्ट घरमै आइपुग्थे ।

उनका अनुसार एमाले राजनीतिमा सक्रिय रहेका उत्तरकुमार ओली त्यतिबेला अवैध रूपमा अमेरिका पठाउने एजेन्टका रूपमा काम गर्थे । अमेरिका छिर्ने भन्दै २०७३ फागुनमा दाङको तुलसीपुर छाडेका नरेन्द्र बस्नेत १२ देश छिचोल्दै महिनौंपछि अमेरिका पुगेका थिए । ७५ लाख ९७ हजार खर्चेर अमेरिका पुगे पनि अमेरिकी अध्यागमन विभागले १७ महिना हिरासतमा राख्यो । तर २०७५ पुस २४ मा डिपोर्ट भएर आएका नरेन्द्रले एजेन्ट ओली र टोपबहादुर जीसीविरुद्ध प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा निवेदन दर्ता गरेका थिए । त्यतिबेलासम्म ओली नेकपा एमालेका तर्फबाट प्रदेशसभा सांसद भएका थिए । संयोग यस्तो भइदियो, नरेन्द्र उताबाट डिपोर्ट भएकै दिन यता सवारी दुर्घटनामा परेर उत्तरको मृत्यु भयो, टोपबहादुर भने पक्राउ परे । २०७६ जेठ २७ मा मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो तर २०७६ असार ५ मा काठमाडौं जिल्ला अदालतले टोपबहादुरलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दियो ।

उता यस्ता घटनाक्रमले रोल्पातिरका युवाको अमेरिकी सपनामा कुनै ठेस लागेको थिएन । २०७६ को अन्तिमतिर अमेरिका छिर्ने यात्रामा निस्किएका चार जनाका टोलीमा थिए राम पनि । साथमा थिए घोराहीकै अभिश्वर बुढा, पवन र दीपक क्षत्री । एजेन्टले दाङबाट दिल्लीको पहाडगन्जस्थित होटलमा पुर्‍याएर राखे । दिल्लीबाट रसियाको मस्को पुगे । स्पेनको बार्सिलोना हुँदै कोलम्बिया ट्रान्जिट पारेर आरुवा आइल्यान्ड पुर्‍याए । त्यहाँबाट सुरिनाम आइल्यान्डमा राखेर ब्राजिल हुँदै फेरि कोलम्बियाको टुर्बो सहर ल्याइयो । एजेन्टको सञ्जाल यस्तो थियो, हरेक देशमा कोही न कोही लिन आउँथे । सुरक्षाकर्मीको आँखा छल्दै लुकाउँथे र हिँडाउँथे ।

कसले पुर्‍यायो नेपाली युवालाई कोलम्बिया ?

कोलम्बियाको टुर्बोमा ५ नेपाली भेटिए, उनीहरूको पनि गन्तव्य अमेरिका नै थियो । त्यहाँ उनीहरूलाई स्थानीय एजेन्टले आठ दिनसम्म एउटै कोठाभित्र थुनेर राख्यो । बाहिर निस्किए सुरक्षाकर्मीले पक्राउ गर्ने वा स्थानीय लुटेरा समूहको आक्रमणमा परिने डर थियो, उनीहरूलाई बन्दीजस्तै बनाइयो । राम सम्झन्छन्, ‘दुई दिनसम्म त भोकै राख्यो । चार दिनसम्म कसैलाई पनि सम्पर्क गर्न दिएन ।’ त्यसमाथि, एक रात उनीहरूको कोठामा लुटेरा पसे, बचेखुचेको पैसा र लुगासमेत लिएर गए ।

कोलम्बियामा बन्धक भएर चार दिनसम्म भोकभोकै बस्दा

अर्को राति २ बजेतिर आएर एजेन्टले उनीहरूलाई काठको सानो डुंगामा राख्यो, पानी तान्ने मोटरबाट चल्ने यो डुंगा क्यारेबियन सागरमा हुइँकियो । उनीहरू टुर्बोबाट कपुरगाना पुगे । पानामा छिर्न डेरियन ग्याप भनिने घना जंगल छिचोल्न यही बाटो हुँदै अघि बढ्नुपर्छ । (स्मरणीय छ, १८ यात्रुसहित निक्कोलिकाबाट कपुरगानातर्फ अघि बढेको डुंगा करिब एक महिनाअघि ५ असारमा दुर्घटनाग्रस्त भयो, जसमा एक नेपालीसहित ५ बंगलादेशी जीवितै भेटिए । ७ नेपालीसहित १२ जना हराइरहेका छन् ।)

रामहरू चढेको काठको डुंगा ढलपल गर्दै भए पनि गन्तव्यमा पुग्यो । तर पल्लो किनारमा उनीहरू सुरक्षाकर्मीको निसानामा परे । ‘सुरक्षाकर्मीले तीन–चार राउन्ड फायर गरिहाले, हामी धापमा लड्दैपड्दै जंगलभित्र छिरेर लुक्न सफल भयौं’ राम लामो सास फेर्छन् । घना जंगल कटाउन एजेन्टले स्थानीय भाषामा डोंकर भनिने गाइड खोजिदिएका हुन्छन् । डोंकरकै साथ लागेर उनीहरू भोकै र प्यासै हिँडिरहे, सात दिनपछि पानामा पुगे ।

अवैध रूपमा अमेरिका छिर्न हिँडेकाहरू आफ्नो देशमा नअडिऊन्, सकेसम्म छिटो बाटो लागून् भनेर सहज बनाइदिन पानामा सरकारले शिविर बनाएको हुन्छ । उनीहरू एउटा शिविरमा पुगे । रामका अनुसार उनी बसेको शिविरमा ५२ जनाजति नेपाली थिए । तीमध्ये धेरैजसो माओवादी द्वन्द्वको आधार क्षेत्र दाङ, रुकुम र रोल्पाका थिए ।

कोलम्बियाको टुर्बोस्थित जंगलमा

शिविरमा केही दिन बसेर उनीहरू कोस्टारिका पुगे । एजेन्टकै सहायतामा जंगलै जंगल पैदल हिँडेर निकारागुवा छिर्दै थिए । समूहमा दुई महिलासहित आठ नेपाली थिए । निकारागुवा छिर्ने सीमामा उनीहरू फेरि लुटेरा समूहको फन्दामा परे । ‘कैयन् दिनको हिँडाइले खुट्टा पूरै सुन्निएका थिए । बाँच्ने रहर र आशा केही थिएन । त्यस्तो बेला पनि लुटेराले छाडेनन्’ राम सुनाउँछन् ।

बाटोमा लुटेराको फन्दामा परिन्छ, पैसाचाहिँ लुकाउनुपर्छ है भनेर धेरैले सिकाएका थिए । रामले पनि केही सय डलर साबुन टुथपेस्टभित्र लुकाएका थिए । तर लुटेरा पनि अनुभवी नै थिए, उनीहरूले पैसा लगिछाडे । त्योभन्दा भयानक दृश्य, बन्दुक देखाएर दुई नेपाली दिदीबहिनीलाई कपडा खोल्न लगाए, राम र साथीहरू टुलुटुल हेर्न बाध्य भए ।

सबै लुटिएपछि उनीहरूले फेरि अर्को डोंकर भेटे । जसले उनीहरूलाई होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिकोको तापाचुला पुर्‍याइदियो । अब उनीहरूलाई अमेरिका छिराइदिन एउटा एजेन्ट तयार थियो । उसले एक रात २ बजे उनीहरूलाई उठायो र अमेरिकी सीमा पार गराइदियो । अमेरिकी भूमि पुग्ने यात्रा पूरा भयो तर दुःख सकिएको थिएन । करिब तीन महिनाको लामो कष्टप्रद यात्रापछि अमेरिका छिर्नेबित्तिकै उनीहरूलाई सुरक्षाकर्मीले पक्राउ गरिहाले ।

अध्यागमन अधिकारीले रामलाई विभिन्न चरणमा तीन दिनसम्म अन्तर्वार्ता लिए । रामले आफ्नो परिचय खुल्ने राहदानीसहितको सबै कागजपत्र बाटोमै मिल्काइसकेका थिए । एजेन्टले यही सिकाएका थिए । उनले नेपालमा माओवादी हिंसा अहिले पनि कायम रहेको, देशमा बस्न सक्ने अवस्था नरहेको र शरणार्थीका रूपमा बस्न अमेरिका छिरेको बयान पनि दिए ।

बयान सकिएपछि उनलाई सुरक्षाकर्मीले सान डियागोस्थित थुनुवा शिविरमा राखे । शिविरमा उनी जसरी नै महिनौंको यात्रामा लाखौं खर्चेर अमेरिका छिरेका झन्डै ३० नेपाली थिए । उनले शरणार्थीका रूपमा अमेरिका बस्न पाऊँ भनेर वकिलको सहयोग लिए । पटक–पटक गरेर १४ हजार डलर खर्च पनि गरे । १४ महिनापछि आदेश आयो, शरणार्थीका रूपमा बस्न पाऊँ भनेर दिएको आवेदन खारेज भयो । त्यतिमात्र होइन, धरौटी बुझाएर मुद्दा लडिराख्ने सुविधा पनि उनले पाएनन् ।

अदालती आदेशको केही दिनमा उनलाई अलबामास्थित शिविरमा सारियो । त्यहाँ मुद्दा हारेपछि नेपाल डिपोर्ट हुने तयारीमा रहेका करिब ७० नेपाली थिए । केही दिनपछि सानफ्रान्सिस्कोस्थित शिविरमा राखियो । एक सातापछि न्युयोर्क लगियो, २ दिन राखेर उनलाई नेपाल डिपोर्ट गरियो ।

अमेरिकाबाट डिपोर्ट हुनेबेला अमेरिकी अध्यागमनले दिएको कागजपत्र

काठमाडौं झर्दा रामसँग छुटेका सपना र चरम निराशा मात्र होइन, १७ महिने कष्टप्रद यात्रामा सकिएको ५५ लाख ५५ हजार रुपैयाँ ऋणको बोझ पनि थियो । उनका अनुसार विमानस्थलमा नै उनलाई मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रहरीले अनौपचारिक बयान लिए । ‘प्रहरीले सोधेका सबै प्रश्नको उत्तर दिएपछि उनीहरूले पछि खबर गर्छौं, मुद्दा गर्नुपर्छ भने तर त्यस्तो खबर कहिल्यै आएन,’ उनी भन्छन् ।

तर यति ठूलो ठगीमा परेका उनले मुद्दामामिला गर्न मन गरेनन् । ‘मेलामा कसैले झगडा गर्‍यो, कसैको ज्यान गयो, अनाहकमा ज्यान मुद्दा लगाएर मेरो जीवन बर्बाद पारियो, त्यसैले कानुनी प्रक्रियामा मलाई विश्वास नभएकाले मुद्दामामिलातिर लागिनँ,’ उनको आफ्नै मनस्थिति छ । त्यसमाथि त्यसरी डिपोर्ट भएर आएकाले प्रहरी र प्रशासन धाए पनि न्याय नपाएको अनुभव उनलाई सुनाएका छन् ।

क्यारेबियन सागरमा हराए ७ नेपाली

नेपाल फर्केको केही दिनसम्म त रामलाई गृह जिल्ला दाङ नै कसरी जाने भन्ने लाग्यो । तर बाबुले धेरै सम्झाएपछि उनी दाङ फर्के । राम भन्छन्, ‘म जसरी अमेरिकाबाट डिपोर्ट भएर फर्किएका आठ/दस जना त मेरै जिल्लामा मैले नै चिन्छु ।’ हिजोआज उनी कोही अवैध बाटोबाट अमेरिका जान खोजेको सुने मात्रै भने पनि सम्झाउन पुगिहाल्छन् । ‘मेरो पैसा मात्रै होइन, सपना र जीवन डुब्यो । म जस्तै निराशाको खाडलमा कोही नपरून् । त्यसैले सम्झाउन मन लाग्छ,’ उनी भन्छन्, ‘मलाई अमेरिका पठाउन बाबुआमाले डेढ लाखमा बेचेको जग्गाको भाउ अहिले दस लाख नाघिसक्यो । धनसम्पत्ति त यही नै रहेछ नि ।’ विगतप्रति पछुतो छ तर भविष्यप्रति उनी आशावादी छन् । हन्डर ठक्करले रामलाई उमेरभन्दा पाको पनि बनाएको छ ।

उनले संगठित मानव तस्करको जालो नेपालमा कति बलियो छ, किन एजेन्टहरू प्रहरी र प्रशासनभन्दा माथि छन् भन्ने मसिनो गरी केलाउन पनि पाएका छन् । ‘किन त पचासौं लाख गुमाएर अमेरिकाबाट फर्केका कसैले पनि एजेन्टविरुद्ध उजुरी गर्न सक्दैनन्, किन कोही ठूलो एजेन्ट पक्राउ परेको खबर आएको छैन ?’

अवैध रूपमा अमेरिका पठाउने एजेन्ट पक्राउ

रामले भनेजस्तै महिनौं लामो दुःसाध्य यात्रामार्फत अमेरिका छिरेका ४५ जना नेपाली आर्थिक वर्ष २०७६/७७ मा मात्रै डिपोर्ट भएका छन् । जबकि २०७५/७६ मा यो संख्या १८ जना मात्रै थियो । मानव बेचबिखन ब्युरो स्रोतका अनुसार डिपोर्टमा परेकामध्ये दस प्रतिशतभन्दा कमले मात्रै प्रहरीमा उजुरी दिएको देखिन्छ । संगठित मानव तस्करहरूले पैसाको प्रभावले विधि र व्यवस्थाको मुख ठ्याप्पै पारिदिएको छ भन्ने उनको निष्कर्ष छ । रामले सुस्तरी सोधे, ‘सरकार भनेको त जनताका आमाबाबुजस्तै हो । के हरेक आमाबाबुलाई आफ्ना छोराछोरी कहाँ गइरहेछन्, कसले लगिरहेको छ, किन लगेको छ भन्ने थाहा हुन्न र ?’

प्रकाशित : श्रावण २, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?