कसले पुर्‍यायो नेपाली युवालाई कोलम्बिया ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कसले पुर्‍यायो नेपाली युवालाई कोलम्बिया ?

धरौटीमा छुटेका व्यक्तिले दुबई हुँदै युक्रेन पुगेर फेरि चलाइरहेछन् मानव तस्करीको सञ्जाल
जनकराज सापकोटा

काठमाडौँ — क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परेर बेपत्ता भइरहेका सात नेपालीको अवस्था अज्ञात रहेका बेला उनीहरूलाई कसले त्यहाँसम्म पठायो भन्ने खोजी सुरु भएको छ । विश्वव्यापी कोरोना संक्रमणको फैलावट र अन्तरदेशीय उडानहरू प्रभावित भइरहेका बेला उनीहरूलाई कसले पुर्‍यायो त कोलम्बिया ?

२०७७ चैतमा दुई फरक–फरक एजेन्टबाट विभिन्न देश हुँदै कोलम्बिया पुगेका ८ नेपाली असार ५ गते निकोक्लीबाट डुंगा चढेर कपुरगाना जाने क्रममा दुर्घटनामा परेका थिए । उक्त डुंगामा ८ नेपालीसहित १८ जना रहेको कोलम्बियाको कोभेनास कोस्ट गार्डले जनाएको छ ।

घटनापछि कान्तिपुरसँग सम्पर्कमा आएका एक परिवारका सदस्यहरूका अनुसार क्यारेबियन सागरमा हराइरहेका दाङका तीन जनालाई लैजाने एजेन्ट दाङकै टोपबहादुर जीसी हुन् । उनी तिनै मान्छे हुन्, जसलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरी २०७६ जेठ २७ गते मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधमा मुद्दा चलाएको थियो । थुनामा परेका जीसीलाई २०७६ असार ५ गते काठमाडौं जिल्ला अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो ।

२०७३ फागुनमा उडेका दाङ तुलसीपुरका नरेन्द्र बस्नेत गैरकानुनी बाटोबाट १२ वटा देश हुँदै महिनौंपछि अमेरिका पुगेका थिए । अध्यागमन विभागको हिरासतमा १७ महिना बसेर उनी २०७५ पुस २४ मा अमेरिकाबाट डिपोर्ट भए । यो अवैध यात्रामा ७५ लाख ९७ हजार रुपैयाँ गुमाएर फर्केका नरेन्द्रकै उजुरीका आधारमा जीसी पक्राउ परेका थिए । स्रोतका अनुसार छुटेलगत्तै उनी दुबई पुगेका थिए । अहिले भने युक्रेनमा बसेर संगठित मानव तस्करीको सञ्जाल चलाइरहेका छन् ।

स्रोतका अनुसार अमेरिका जानका लागि एन्जल बुढामगरको परिवारले मात्रै २७ लाख ७२ हजार रुपैयाँ बुझाएको छ । दाङकै रेशम डिंगामगर र हेमराज अधिकारीको परिवारले पनि टोपमार्फत नै अमेरिका जानका लागि रकम बुझाएका थिए । चैत पहिलो साताबाट सुरु भएको यो यात्रामा उनीहरू दुवैले करिब ३० लाख खर्चिसकेको देखिन्छ । यी तीनै जनालाई जीसीले सुरुमा पर्यटक भिसामा दुबई पुर्‍याएका थिए । उनीहरूलाई दुबईस्थित जीसीकै फ्ल्याटमा करिब डेढ महिना राखेर युक्रेन, फ्रान्स हुँदै कोलम्बिया पुर्‍याइएको थियो ।

कोलम्बियाबाट सम्पर्कमा आएका एक नेपालीका अनुसार अहिले पनि कोलम्बियाको निकोक्ली र मेडलिनमा जीसीलाई पैसा बुझाएर गएका करिब एक दर्जन नेपाली महिनौंदेखि अलपत्र छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहका अनुसार मानव बेचबिखनका गम्भीर मुद्दामा धरौटीमा छुटेका व्यक्तिहरू पछिल्लो समय उही धन्दामा लागेको सूचना मिलेको बताइन् । उनले जीसीतिर संकेत गर्दै भनिन्, ‘धरौटीमा छुटेपछि पुरानै शैलीमा मानव तस्करी सुरु गरिएको देखिन्छ ।’ कोलम्बियमा जहाज दुर्घटनामा परेका परिवारका सदस्यलाई आफूहरूले सम्पर्क गर्न प्रयास थालिसकेको बताउँदै एसएसपी सिंहले इन्टरपोलमार्फत पनि घटनाबारे बुझ्न सुरु गरेको जानकारी दिइन् । उनले भनिन्, ‘यो घटनामा को–को संलग्न छन् भन्नेबारे मसिनो अध्ययन सुरु भइसकेको छ ।’

डुंगा दुर्घटनामा परेका पर्वतका २, स्याङ्जाका १ र म्याग्दीका १ जनालाई भने ब्राजिलमा बस्ने एक नेपाली एजेन्टले त्यहाँसम्म पुर्‍याएको सम्पर्कमा आएका परिवारका सदस्यहरूले बताए । मानव बेचबिखन नियन्त्रण ब्युरोका एक अधिकारीका अनुसार लामो समयदेखि ब्राजिलमा व्यापार/व्यवसाय गरेर बस्ने ती व्यक्तिले पर्वत र कास्कीमा एजेन्टहरू नै खटाएका छन् । तिनै एजेन्टमार्फत करिब ४० लाख रुपैयाँ खर्चेर अवैध बाटोबाट अमेरिका पुगेका एक नेपालीका अनुसार अनेकन् नाम फेरिराख्ने ती व्यक्ति वर्षौंदेखि नेपालीलाई अवैध बाटोबाट अमेरिका पठाउने काममा सक्रिय छन् ।

क्यारेबियन सागरमा हराइरहेका नेपालीका परिवारजनले अहिलेसम्म उनीहरूको अवस्था के छ भन्ने यकिन सूचना पाएका छैनन् । धेरैजसोका परिवारका सदस्य सरकारी संयन्त्रभन्दा पनि मानव तस्करीको सञ्जालमा संलग्न अनेकन् एजेन्टमार्फत सूचनाको खोजीमा जुटेको देखिन्छ । कोलम्बियामा डुंगा दुर्घटनामा परेर सात जना हराइरहेका र एक नेपालीको उद्धार भएको समाचार कान्तिपुरमा प्रकाशित भएपछि मानव तस्करीका एजेन्टहरूले केही व्यक्तिका परिवारका सदस्यलाई पत्रकारहरूको सम्पर्कमा नबस्न भनेको देखिन्छ । एक पीडित परिवारका सदस्यले भने, ‘सरकारलाई भनौं भने अवैध यात्रामा हिँडेको भनेर उल्टै कारबाही गर्ला भन्ने डर, एजेन्टले सूचना अरूलाई दियो भने फसेको रकम पनि नउठ्ने धम्की दिएका छन् । हामी त धर्मसंकटमा पर्‍यौं ।’

आर्थिक वर्ष २०७६/७७ मा मात्रै महिनौं लामो अवैध र कष्टकर बाटोमार्फत अमेरिका छिरेका ४५ जना नेपाली डिपोर्टमा परेका थिए । जबकि २०७५/७६ मा यो संख्या १८ जना थियो । यो संख्याले संगठित मानव तस्करको समूहले अवैध अमेरिका यात्राका क्रममा बर्सेनि कति धेरै नेपालीलाई ओसारिरहेको छ भन्ने बुझाउँछ । यो संख्याले बर्सेनि अर्बौं रुपैयाँ मानव तस्करहरूले उठाइरहेका छन् भन्ने पनि देखाउँछ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोकी प्रमुख दुर्गा सिंह बेरोजगारीको बढ्दो समस्या र अवसरको खोजीमा रहेकालाई आश्वासन दिएर सजिलै फसाउन सकिने परिपाटीले मानव बेचबिखनका गम्भीर घटना भइरहेको बताउँछिन् । उनले भनिन्, ‘कोलम्बिया दुर्घटनाले मानव तस्करीको दुःखद् पाटो उजागर गरेको छ । यसमा संलग्नमाथि गम्भीर अनुसन्धान र कडा कारबाही जरुरी छ ।’

यो पनि पढ्नुहोस्ः

क्यारेबियन सागरमा हराए ७ नेपाली

प्रकाशित : असार २७, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

बेपत्ता नेपालीबारे बेखबर सरकार

सम्पादकीय

क्यारेबियन सागरमा डुंगा पल्टिएर जुनसुकै देशका नागरिक हराए पनि त्यो एउटा दुःखद अन्तर्राष्ट्रिय समाचार अर्थात् विश्वव्यापी चासोको विषय हो । तर विडम्बनापूर्ण भन्नुपर्छ— दस हजार माइल पर उक्त सागरमा तीन सातादेखि आफ्नै सात नागरिक हराइरहँदा नेपाल सरकार भने पूरै किंकर्तव्यविमूढ देखिएको छ ।

हराइरहेका नागरिकका परिवारले आफ्नो मान्छेको खोजीनिती गर्न अनेकतिर हारगुहार गरिरहेका छन् । दलाललाई ऋण–धन गरेर बुझाएको लाखौं रुपैयाँको हिसाबभन्दा पहिला उनीहरूलाई आफन्तको अवस्थाबारे जानकारी चाहिएको छ, मरे–बाँचेको निधो गर्नु छ । तापनि अभरको यो घडीमा उनीहरूले राज्यका निकायहरूबाट यथोचित सहयोग पाउन सकेका छैनन् । सरकारले न सम्बन्धित परिवारलाई भेटेर सत्यतथ्यको जानकारी तथा सान्त्वना–ढाडस दिएको छ, न उनीहरूलाई विदेश लैजाने मानव तस्करहरूविरुद्ध उजुर–बाजुर लिने र अनुसन्धान गर्ने तदारुकता नै देखाएको छ । विदेशस्थित कूटनीतिक नियोगहरूलगायत परराष्ट्र मन्त्रालय र प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरो सबैले यस मामिलामा देखाएको निष्क्रियता चरम गैरजिम्मेवारीको द्योतक हो ।

मानव तस्करीका भयानक दुष्परिणाम देखिँदासमेत यसलाई न्यूनीकरण गर्न सरकार यति विघ्न उदासीन देखिएकैले ‘जसरी पनि अमेरिका’ को अवैध र आत्मघाती यात्रा अविराम अघि बढिरहेको हो । सरकारी बेवास्ताकै कारण मानव तस्करहरू अमेरिका सपनाको जालो बिछ्याउन सफल भैदिँदा घरी अफ्रिका त घरी दक्षिणी अमेरिकाका जंगल तथा समुन्द्रको बाटोमा नेपाली नागरिकहरूको ज्यानै जाने जोखिमको यात्रा नरोकिएको हो । त्यसैले सरकारले यतिबेला हराइरहेका नागरिकको हरहालतबारे पत्ता लगाउनेलगायतका तत्कालीन सवाललाई सम्बोधन गर्नुपर्छ । र आगामी दिनमा यस्तो दुष्प्रवृत्ति दोहोरिन नदिन मानव तस्करीको जालो तोड्ने सार्थक पहल थाल्नुपर्छ ।

अवैध बाटो अमेरिका छिर्न लागेको ८ नेपालीलगायत चढेको डुंगा असार ५ गते कोलम्बियाको समुद्रमा दुर्घटना पर्दा सात नेपाली बेपत्ता भएका हुन् । १८ जना सवार उक्त डुंगाबाट एक नेपाली र पाँच बंगलादेशीको उद्धार भए पनि सात नेपालीसहित १२ जना हराइरहेका छन् । बेपत्ता भएकामध्ये दाङका २१ वर्षीय एन्जल बुढामगरको त मृत्यु नै भएको ‘निश्चय गरी’ परिवारले काज किरियासमेत गरिसकेको छ । बेपत्ता नेपालीमा एन्जलसहित दाङकै हेमराज अधिकारी र रेशम डिंगामगर, पर्वतका दिनेश गौतम र राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा अनि जिल्ला र नाम नखुलेका अर्का एक जना छन् । उद्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उपचार गराएर फर्किइसकेका छन् ।

एन्जलबाहेकका परिवारहरू घटना के भएको हो भन्ने निष्कर्षमा पुगिसकेका छैनन् । डुंगा चढ्न होटलबाट हिँडेको बताएका कोही पनि त्यसयता कसैको सम्पर्कमा नआएकाले परिवारहरू चिन्तित छन् । उनीहरू अनेक हल्ला सुन्छन्, तर भएको यसो हो भनेर सरकार केही भन्दैन । लाग्छ, सरकारलाई यो सब कुनै मतलबै छैन । हाम्रा राजनीतिक नेताहरू पनि बरु ताल न सुरसित भेनेजुयलाका बारेमा विज्ञप्ति निकाल्न उद्यत हुन्छन्, तर झन्डै त्यतैउतै पुगेर आफ्ना नागरिक हराएको बारेमा भने कुनै चासो दिँदैनन् । सरकारदेखि राजनीतिक नेताहरूसम्मको देखाएको यो संवेदनहीनता निन्दनीय छ ।

विश्वका जुनसुकै कुनामा रहे–पुगेका नागरिकको हरहालतबारे जानकारी राख्नु सरकारको प्राथमिक कर्तव्यभित्र पर्छ । तर यति लामो अवधिदेखि यी बेपत्ता नागरिकबारे सरकारी संयन्त्रहरूले खोजखबर गरेकै छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा खबर आएलगत्तै आवश्यक कार्यका निम्ति तात्नुपर्ने सरकारी पक्ष परिवारका सदस्यले दुर्घटनाबारे परराष्ट्र अधिकारीलाई जानकारी गराइसक्दा पनि त्यसै मौनप्रायः रहनु उदेकलाग्दो छ । उता, प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरो पनि यसबारे पूरै बेसरोकारजस्तै देखिन्छ । मानौं, यो उसले हेर्नुपर्ने विषय नै होइन । घटनाबारे आफूहरूले औपचारिक सूचना नपाएको भनेर यस्तै कामका लागि खडा गरिएको ब्युरो टक्टकिन मिल्दैन । ज्यान जोखिममा राखेर जसरी पनि अवैध बाटोबाट अमेरिका छिर्ने यात्रालाई रोक्ने आफ्नो दायित्व उसले भुल्नु हुँदैन ।

मानव बेचबिखन नेपालका निम्ति अति गम्भीर मामिला हो । सन् २०२० जुनमा अमेरिकी सरकारले प्रकाशित गरेको ‘ट्राफिकिङ इन पर्सन रिपोर्ट’ मा नेपाललाई टायर २ देशको सूचीमा राखिएको छ । जसको अर्थ मानव बेचबिखन रोक्नका निम्ति बनाइएका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न नेपाल सरकारको पहल पर्याप्त छैन भन्ने हो । २०७५ सालमा राष्ट्रिय मानवअधिकार आयोगले प्रकाशित गरेको प्रतिवेदनले पनि करिब ३५ हजार नेपाली मानव बेचबिखनमा परेको र १५ लाख जना यसको जोखिममा रहेको आकलन गरेको छ । यस्तै, महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४–७५ मा १ हजार १ सय १६ मुद्दा मानव बेचबिखन तथा ओसारपसार र वैदेशिक रोजगारसँग सम्बन्धित थिए । मानव बेचबिखनका कति घटना त अभिलेखको चरणसम्म आउनै सकेका छैनन् ।

यही मानव बेचबिखनको तथा तस्करीको एउटा पाटो हो— अवैध बाटोबाट अमेरिका । यसरी अमेरिका हिँडेकाहरू कोलम्बियाको दुर्गम गाउँ कपुरगानाबाट डेरियन ग्याप भनिने घनाजंगलको बाटो हुँदै पानामा छिर्ने गर्छन् । आईओएमले सन् २०१६ मा प्रकाशित गरेको ‘माइग्रेसन एन्ड माइग्रेन्ट्स : अ ग्लोबल ओभरभ्यु’ शीर्षकको प्रतिवेदनले नै ‘घोस्ट ट्रेल’ नाम दिएको उक्त जंगल यात्रामा अहिलेसम्म कति नेपाली पीडित बनिसकेका छन् । कान्तिपुरकै अध्ययनमा यी ८ नेपालीलाई पनि तीन फरक–फरक दलालले विभिन्न मितिमा काठमाडौंबाट उडाएको र उनीहरूलाई अवैध मार्गबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्‍याएर त्यहाँबाट अमेरिका छिराउने योजना बनाएको देखिन्छ । कोलम्बियासम्म पुग्ने क्रममा औसतमा जनही ३० लाख हाराहारी खर्च गरेको पाइन्छ । त्यसैले सरकारले पहिले त यी नागरिकको यथार्थ पत्ता लगाई परिवारलाई जानकारी दिनु जरुरी छ । र, यसबारे प्रहरीको सम्बन्धित ब्युरोले उचित अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु अपरिहार्य छ । नत्र, संगठित मानव तस्करहरूको आश्वासनको पासोमा परेर दर्जनौं देश छिचोल्दै गरिने महिनौं लामो अवैध यात्राको यो क्रम कहिल्यै रोकिने छैन ।

प्रकाशित : असार २७, २०७८ ०७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×