एमाले नेता नेम्वाङले भने- 'काम टुंग्याए बराबर छ, भोलि बिहान ८ बजे सुखद् समाचार सुन्‍न पाउनुहुनेछ'

काठमाडौँ — नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले आफूहरुले कामलाई करिब टुंगो लगाइसकेको दाबी गरेका छन् । 

एमाले नेता नेम्वाङले भने- 'काम टुंग्याए बराबर छ, भोलि बिहान ८ बजे सुखद् समाचार सुन्‍न पाउनुहुनेछ'

सिंहदरबारमा शनिबार भएको कार्यदल बैठकपछि सञ्‍चारकर्मीसँग नेता नेम्वाङले काम टुंग्याए बराबर रहेको र आइतबार बिहान सुखद् समाचार सुनाइने बताए । उनले भने, 'काम टुंग्याए बराबर छ । भोलि बिहान ८ बजे सुखद् समाचार सुन्‍न पाउनुहुनेछ ।'

उनले पार्टीमा तीन वर्षदेखि विवाद कायम रहेकोले समाधानको उपाय खोज्न पनि समय लागेको प्रस्ट पारे । 'यो विवादले झन्डै तीन वर्ष भयो होला, कत्रो विवादमार्फत हामी यहाँ आइपुगेका छौं । तीन वर्षको विवाद, आज हामी कति दिन भयो र बसेको, त्यसकारणले गर्दा ढिला भएको हो,' उनले भने ।

नेता नेम्वाङले कार्यदल बैठक आइतबार बिहान ८ बजे सिंहदरबारमै पुन: बस्ने जानकारी पनि दिए ।

शनिबार अर्थ मन्त्रालयमा एक घण्टाभन्दा बढी समय बसेको कार्यदल बैठकले 'सहमति' लाई अन्तिम निष्कर्षमा पुर्‍याउन सकेन । शुक्रबार बसेको कार्यदल बैठकमा सहमति जुटेको र त्यसलाई शनिबार अन्तिम रुप दिने नेताहरुले दाबी गरेका थिए । बैठकपछि कार्यदल सदस्य गोकर्ण विष्टले पनि भोलि सार्थक निष्कर्षमा पुग्ने गरी बैठक सकिएको बताए । नेता विष्टले भने, 'भोलिको दिन एकताको निष्कर्ष सुन्ने दिन हुनेछ ।'

त्यस्तै नेता भीम रावलले छलफलको अन्तिम विन्दुमा रहेको बताउँदै छिट्टै निष्कर्षमा दिने दाबी गरे । 'हामीले विभिन्न विषयमा छलफल गरेका छौं । छलफलको अन्तिम विन्दुमा छौं । सम्भवतः छलफललाई छिट्टै पूरा गरेर निष्कर्षमा पुग्नेछौं ।'

कार्यदलका अर्का सदस्य घनश्याम भूसालले भने केही प्रतिक्रिया नदिई बाहिरिएका थिए । कार्यदलमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेता नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

प्रकाशित : असार २६, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?