फेरि बढ्यो संक्रमण दर

विज्ञ भन्छन्– ‘बहुसंख्यक नागरिकलाई खोप नपुर्‍याउँदा, परीक्षण र कन्ट्याक्ट ट्रेसिङ विस्तार नहुँदा तथा संक्रमितलाई आइसोलेसनमा व्यवस्थित गर्न नसक्दा संक्रमण दरमा कमी आएन’
अतुल मिश्र

काठमाडौँ — निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा कोरोना संक्रमण दर विस्तारै उकालो लागेको छ । बुधबार ७ हजार ८ सय ३५ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ७७ जना अर्थात् २६.५० प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

फेरि बढ्यो संक्रमण दर

यो पछिल्लो एक सातामा देखिएको सबैभन्दा बढी संक्रमण दर हो । आइतबार २१.३६, सोमबार २३.२६ र मंगलबार २२.८९ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो ।

यो तथ्यांकले तेस्रो लहरको स्पष्ट संकेत गरेको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार बहुसंख्यक नागरिकलाई खोप नपुर्‍याउँदा, परीक्षण र कन्ट्याक्ट ट्रेसिङ विस्तार नहुँदा र संक्रमितलाई आइसोलेसनमा व्यवस्थित गर्न नसक्दा संक्रमण दरमा कमी नआएको हो ।

‘१०–२० जनामा संक्रमण देखिए देशभर फैलिन सक्ने स्थितिमा अझै दिनहुँ करिब दुई–तीन हजारमा संक्रमण देखिन थालेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘निषेधाज्ञाताका घरभित्रै परिवारबीच रहेको भाइरस हाल खुला भएर समाजमा पुनः फैलिन थालेको छ ।’ सरकारले कन्ट्याक्ट ट्रेसिङ नगर्दा समस्या देखिएको उनले बताए । ‘कन्ट्याक्ट ट्रेसिङ गर्दा धेरै जना पोजिटिभ निस्किन्थे । जसलाई आइसोलेसनमा बसाउँदा समाजमा संक्रमण फैलने र बढ्ने सम्भावना घट्थ्यो,’ उनले भने ।

छाती दुख्ने, सास फेर्न गाह्रो हुनेलगायत गम्भीर बिरामी मात्र परीक्षण गराउन गइरहेका छन् । निषेधाज्ञाको समयमा कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआर परीक्षणको दायरा बढाएको भए हाल दैनिक संक्रमित पाँच सयभन्दा कम हुन सक्ने डा. मरासिनीले दाबी गरे । ‘सरकारले आईसीयू, भेन्टिलेटरमा एक जना बिरामीका लागि १० लाखभन्दा बढी खर्च गर्ने तर कन्ट्याक्ट ट्रेसिङ, परीक्षण नगर्दा तेस्रो लहर आउने निश्चित छ,’ उनले भने । ईडीसीडीका अर्का पूर्वनिर्देशक डा. जीडी ठाकुर दैनिक संक्रमण दर एक चौथाइभन्दा बढी देखिनु नराम्रो संकेत भएको बताउँछन् ।

‘कम्तीमा ६० प्रतिशत जनसंख्यामा खोप लगाइसकेपछि मात्र संक्रमणको पुनः विस्तार हुने सम्भावना धेरै न्यून हुन्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा बहुसंख्यक नागरिकमा दुवै मात्रा खोप लगाउनै धेरै समय लाग्ने देखिएको छ ।’ कन्ट्याक्ट ट्रेसिङबाट देखिएका लक्षण भएका र नभएकालाई अनिवार्य आइसोलेसनमा न्यूनतम १० दिन राख्न उनले सुझाए । उनका अनुसार यस्तो आइसोलेसन सरकारले निर्माण गरेको वा व्यक्ति विशेषले विशेष मापदण्डसहित घरमै तयार पारेको हुनुपर्छ ।

विज्ञका अनुसार हाल मृत्यु कम देखिए पनि संक्रमणले थला परेर जटिल अवस्थामा नपुग्दासम्म परीक्षण गराउन जानेको संख्या पनि निकै कम छ । मृत्युभन्दा संक्रमण दर र अस्पताल भर्ना हुने दरले संक्रमण पुनः विस्तारको चरणमा रहेको डा. मरासिनीले बताए ।

सरकारी तथ्यांकअनुसार बुधबारसम्म सक्रिय संक्रमित २६ हजार ५ सय ४४ अर्थात् ४.०८ प्रतिशत छन् । ५ सय ७१ जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत छन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा ३ सय २८ जना आईसीयू र ९४ जना भेन्टिलेटरमा छन् भने काठमाडौं उपत्यकामा मात्रै १ सय ५५ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् ।

कुल सक्रिय संक्रमितमध्ये झन्डै आधा वाग्मती प्रदेशमा छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कुल संक्रमितको ४३.५६ प्रतिशत अर्थात् ११ हजार ५ सय ६३ सक्रिय संक्रमित वाग्मतीमै छन् । प्रदेश १ मा १८.८९ प्रतिशत, गण्डकीमा १३.१६, प्रदेश ५ मा ९.३६, प्रदेश २ मा ५.६०, कर्णालीमा ४.८२ र सुदूरपश्चिममा ४.५८ प्रतिशत सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असार २४, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?