अक्सिजनमा कोटा प्रणाली हट्यो

चिकित्सकको सिफारिसबाहेक घर वा संस्थामा सिलिन्डर नराख्न आग्रह

जेष्ठ १, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधानमन्त्रीले नेतृत्व गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अस्पतालमा अक्सिजन व्यवस्थापन गर्न नसकेपछि त्यसको जिम्मेवारी पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पाएको छ । अस्पतालका लागि लागू गरिएको अक्सिजनको कोटा प्रणाली पनि हटाइएको छ ।

अन्तरमन्त्रालय समन्वय र नीतिगत निर्णय गर्नुपर्ने सीसीएमसीले अक्सिजन व्यवस्थापनकै जिम्मेवारी लिएको थियो । अस्पतालमा कोटा प्रणालीबाट अक्सिजन दिने सीसीएमसीको निर्णय विवादमा परेको थियो । कोटा प्रणालीकै कारण अक्सिजन सिलिन्डर पाउन नसकेको भन्दै अस्पताल सञ्चालकहरूले विरोध गरेका थिए । अस्पतालले अक्सिजन लिइरहेको भन्दा फरक कम्पनीबाट लिनुपर्ने सीसीएमसीको प्रावधानले पनि समस्या भएको उनीहरूको गुनासो थियो ।

सीसीएमसीले लिएको जिम्मेवारी स्वास्थ्यमा जानेबित्तिकै कोटा प्रणाली हटेको हो । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर अक्सिजनको ढुवानी नियमित प्रक्रियाबाट हुने जनाएको छ । अक्सिजन वितरण व्यवस्थापनका लागि मन्त्रालयले उच्चस्तरीय टोलीसमेत गठन गरेको छ । आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले ११ औं तहका कर्मचारीको नेतृत्वमा दुईवटा टोली गठन गरेको हो ।

‘अर्को व्यवस्था नभएसम्म उद्योगबाट अस्पतालहरूमा साविककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराइदिनु हुन तथा आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीहरूको निर्णय र निर्देशनअनुसार स्थानीय प्रशासनहरूसँग सहकार्य र सरोकारवाला अन्य निकायको समन्वयमा गराइदिनुहुन अनुरोध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले कोटा प्रणाली हटेपछि अक्सिजन आपूर्ति सहज हुने विश्वास व्यक्त गरे । ‘सीसीएमसीको निर्णयले अस्पताल र वर्षौंदेखि कारोबार भइरहेको अक्सिजन कम्पनीको सम्बन्ध टुटाएर अर्कै कम्पनीबाट ग्यास लिनुपर्ने बाध्यता थियो । आवश्यकताअनुसार अक्सिजन पाउन सकेका थिएनौं,’ उनले भने । सीसीएमसीका एक कर्मचारीले भने अस्पतालमा भर्ना भएका बिरामीको अध्यावधिक तथ्यांक नभएकैले अक्सिजन व्यवस्थापनमा समस्या भएको बताए । 

स्वास्थ्य मन्त्रालयले चिकित्सकको सिफारिसबाहेक घर वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न, भएका सिलिन्डर नजिकको अस्पताल र स्थानीय प्रशासनमा उपलब्ध गराउन आग्रह गरेको छ ।

घरमा अक्सिजन सिलिन्डर राखे, नराखेको, सम्बन्धित उद्योगले अस्पतालबाहेक अन्यत्र निजी प्रयोगमा दिए, नदिएको अनुगमन स्थानीय प्रशासनमार्फत गर्ने, गराउने व्यवस्था गर्न मुख्यसचिवले बिहीबार गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिन्डर र वितरण भएका सिलिन्डरको अभिलेख राख्न सशस्त्र प्रहरी खटाइने भएको छ । मापदण्डविपरीत अक्सिजन सिलिन्डर प्रयोग वा वितरण गर्न कसैलाई दबाब नदिने, उद्योग र अस्पतालले पनि कुनै किसिमले मापदण्डविपरीत प्रयोग नगराउने जनाइएको छ । चौबीसै घण्टा

अक्सिजन प्लान्ट सञ्चालन गर्ने, खाली अक्सिजन सिलिन्डर तत्काल प्लान्टमा पठाउने र प्लान्टले पनि तत्काल भरी फिर्ता पठाउने व्यवस्था गर्ने, यसको समन्वय र अनुगमन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा उद्योग मन्त्रालयले गर्ने जनाइएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully