कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

अविश्वास प्रस्ताव र एमाले सांसदको राजीनामा सँगसँगै !

राष्ट्रिय सभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनले संघीयताविद् खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने
बिनु सुवेदी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदको राजीनामा र अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ ।

अविश्वास प्रस्ताव र एमाले सांसदको राजीनामा सँगसँगै !

ओलीले २७ गते विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने रणनीति बनाएको आकलन गरिएकाले त्यसलाई चिर्न अगाडि नै अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ ।

कांग्रेस, एमाले (खनाल–नेपाल), माओवादी केन्द्र र जसपाका नेताहरूबीच बुधबार छुट्टाछुट्टै छलफल भएको थियो । छलफलमा एमाले नेता नेपालले आफूहरू २७ गतेअघि नै सामूहिक राजीनामा दिन तयार भएको सन्देश कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका थिए भने देउवाले पनि आफ्ना प्रतिनिधिहरू पठाएर अहिले एमालेभित्र सांसदहरूको स्थिति बुझेका थिए ।

‘अहिले अविश्वासको प्रस्ताव दर्ता गर्ने र राष्ट्रपतिसमक्ष समावेदन गर्ने गरी अघि बढौं भनेर छलफल चलाएका छौं, एमालेका साथीहरूले राजीनामा दिने कुरा गर्नुभएको छ, त्यसो हुँदा हाम्रो पक्षमा सजिलै संख्या पनि पुग्छ,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘अविश्वासको प्रस्ताव र एमाले सांसदहरूको राजीनामा सँगसँगै आउन सक्छ ।’ अविश्वासको प्रस्ताव दर्ता गराए त्यसमाथि छलफल गर्न प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बाध्यता राष्ट्रपतिलाई हुन्छ । नत्र प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा आउने परिणामसँगै प्रतिनिधिसभा अधिवेशन नै अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने र अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने योजना बनाएको आशंका विपक्षीको छ । ‘ओलीको यो कदम रोक्नुपर्ने विषयमा हामीबीच जोडदार छलफल भइरहेको छ, निष्कर्ष निस्किएको छैन,’ जसपाका एक नेताले भने ।

ओलीलाई विश्वासको मत दिएपछि कारबाही भोग्नुभन्दा पहिल्यै राजीनामा दिने गरी एमालेको खनाल–नेपाल समूह परामर्शमा

यसअघि कांग्रेस सभापति देउवाको जोड चुनावमै जानुपर्छ भन्ने भए पनि लुम्बिनी प्रदेशको प्रकरणपछि उनी हच्किएको र कम्तीमा ओलीको नेतृत्वमा चुनावमा जानु हुन्न भन्ने निष्कर्षमा पुगेका छन् । त्यसपछि नै उनले गठबन्धन सरकारबारे रुचि देखाएका हुन् । लुम्बिनी प्रदेशको प्रकरणपछि देउवा सार्वजनिक रूपमा पनि ओलीप्रति अलि धेरै आक्रोशित देखिन्छन् । बुधबारमात्रै ओलीले गरेको सत्ता सहकार्य र चुनावी गठबन्धनको प्रस्तावलाई देउवाले अस्वीकार गरेका छन् । बरु राष्ट्रिय सभाको वाग्मती प्रदेशको उम्मेदवारमा एमालेको नेपाल समूहले अघि सारेका संघीयताविद् खिमलाल देवकोटालाई सहयोग गर्ने निर्णय कांग्रेसले गरेको छ । यसलाई नेताहरूले रणनीतिक चालका रूपमा लिएका छन् । ‘यही सहमतिलाई सत्ता सहकार्यसम्म लैजाने गरी सहमति जुटाएर नेताहरू उठेका हुन्,’ स्रोतले भन्यो, ‘फाइनल कुरा हुन बाँकी छ, शुक्रबारसम्म सबै टुंगो लाग्छ ।’

कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्ष बुधबार राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका नेपाल पक्षीय उम्मेदवार देवकोटालाई सघाउन तयार भएका हुन् । यसअघि कांग्रेसले सहमति जनाएपछि बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर नेपालले आफ्ना उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । त्यसपछि दाहाल र जसपा अध्यक्ष यादवबीच भएको भेटमा पनि देवकोटालाई उम्मेदवार बनाउने विषयमा सहमति जुटेको हो । ‘माधव कमरेडले ओलीसँग भन्दा कांग्रेस–माओवादीसँगको सहकार्यलाई सहज रूपमा लिनुभएको छ,’ नेपालनिकट एक नेताले कान्तिपुरसँग भने, ‘यही सहकार्यलाई पछिसम्म लैजाने उहाँको सोच छ ।’

एमालेको खनाल–नेपाल समूहभित्र आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध फ्लोर क्रस गर्नुभन्दा त्यसअघि नै राजीनामा दिनु उपयुक्त हुने मत बलियो छ । एमालेका कम्तीमा २५ जनाजति सांसद राजीनामाका लागि तयार भएको जिकिर नेताहरूले गरेका छन् । फ्लोर क्रस गरेर पार्टी फुटाउनेभन्दा सुरुमै राजीनामा दिएर पार्टीभित्रै संघर्ष गर्नुपर्ने मत बलियो भएपछि नेता नेपाल पनि यही विचारसँग सहमत भएको एमालेका एक स्थायी कमिटी सदस्यले बताए ।

नेता नेपालले भने आफूहरूबीचमा अहिले विभिन्न कोणबाट छलफल भइरहेको तर के गर्ने भन्ने निष्कर्ष निस्किनसकेको बताए । ‘हामीले फाइनल निर्णय गर्न बाँकी छ । केपी ओलीले मिल्ने गरी कुरा गर्न चाहँदैनन् । उनले निकाल्ने नै योजना बनाएका छन् । के गर्नुपर्छ भनेर नियालिरहेका छौं,’ उनले कान्तिपुरसँग भने, ‘सांसदहरूको राजीनामाको कुरा जोडदार रूपमा उठेको छ, अब स्थायी कमिटीको बैठक बसेर टुंगो लगाउँछौं ।’ यो समूहमा अहिले फ्लोर क्रस या ओलीलाई मतदान गर्नुपर्छ भन्नेभन्दा राजीनामा दिनुपर्छ भन्ने मत बलियो छ । राजीनामा दिँदा एकातिर फ्लोर क्रस गरेको कलंक बोक्नु नपर्ने, अर्कातिर गठबन्धन सरकार बनाउन कांग्रेस–माओवादी–जसपालाई सजिलो हुने भएकाले यही कुरामा सहमति जुटेको हो । देउवाले निर्णय गर्नेबित्तिकै आफूहरूले राजीनामा दिइहाल्ने नेपालनिकट ती स्थायी कमिटी सदस्यले बताए ।

माओवादीले पनि देउवालाई २७ गतेअघि नै अविश्वासको प्रस्ताव दर्ता गराउनका लागि सहमत गराउने कोसिस गरिरहेको छ । ‘२७ गतेभन्दा अघि नै अविश्वासको प्रस्ताव दर्ता गराऔं भन्ने हाम्रो जोड हो तर शेरबहादुरजी तात्नुपर्‍यो,’ माओवादीका एक नेताले भने, ‘लुम्बिनीमा भएको घटना हेरेपछि ओलीले गराउने चुनाव आफूहरूको पक्षमा हुन्न भन्नेमा शेरबहादुरजी हुनुहुन्छ, ओलीले कारबाही गर्नुभन्दाअघि नै राजीनामा दिने माधवजीहरूको मनस्थिति छ । यति हुँदा परिस्थिति हाम्रो पक्षमा आउनुपर्ने हो, हेरौं ।’

प्रकाशित : वैशाख २३, २०७८ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?