पहाडमा २०० र सहरमा ५०० संक्रमित नाघे निषेधाज्ञा, स्थिति नियन्त्रणबाहिर गए लकडाउन सिफारिस

काठमाडौं उपत्यकामा सक्रिय संक्रमित १ हजार जना नाघे निषेधाज्ञा

वैशाख १२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबारको बैठकले सक्रिय संक्रमितको संख्या अनुसार निषेधाज्ञा गर्ने जिम्मेवारी स्थानीय प्रशासन (डीसीसीएमसी)लाई दिने र कोरोना संक्रमण नियन्त्रण बाहिर जाने भएमा लकडाउनको निर्णय लिन सकिने पनि जनाएको छ । 

कोरोनाको संक्रमण तीव्र रूपमा बढ्दै गएकाले मुलुकभर लकडाउनको अवस्था आउन नदिनका निम्ति स्थानीय प्रशासनलाई निषेधाज्ञाको जिम्मेवारी दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । 

'पहाडमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा स्थानीय प्रशासनले नै अवस्था हेरेर निषेधाज्ञा जारी गर्ने भन्ने निर्णय भएको छ । भविष्यमा लकडाउनको अवस्था पनि आउन सक्छ,' ती मन्त्रीले भने । काठमाडौं उपत्यकामा भने सक्रिय संक्रमित १ हजार जना नाघे निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ । 

सरकारी अधिकारीहरूले तत्काल पूर्ण लकडाउन गरिहाल्नुपर्ने स्थिति आइनसकेको ब्रिफिङ गरेको ती मन्त्रीले बताए । 

त्यस्तै, भारतबाट आउने हवाइ उडानमा रोक नलगाए पनि भारतबाट आएर तेस्रो मुलुक जानेहरूलाई भने रोक्ने सीसीएमसीले निर्णय गरेको छ । 'नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रमलाई पूर्णतया रोक्ने निर्णय भएको छ,' ती मन्त्रीले भने, 'नेपाल आउने विदेशीलाई नेपालको स्वास्थ्य मापदण्डअनुसार निश्चित समय क्वारेन्टाइन बसेपछि मात्रै आवतजावत गर्न दिने भन्ने निर्णय भएको छ ।'

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully