एमालेमा कारबाही सुरु

कर्णालीका चार सांसद निष्कासित, नेपाल पक्षका नेता हटाएर स्थायी कमिटी गठन

वैशाख ११, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग असहमति राखेर समानान्तर गतिविधि गरिरहेका अर्को पक्षका नेताहरूलाई ‘कडा कारबाही’ गर्ने सिलसिलाको सुरुआत गरेका छन् । यसअघि चैत ८ मा एउटै नेतालाई तीन पटकसम्म स्पष्टीकरण सोधेका ओलीले विपक्षी धारका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही थालेका हुन् ।

गत वैशाख ३ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फेल गराउन फ्लोर क्रस गरेका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेले शुक्रबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । यसलाई ओली नेतृत्वको एमालेले कडा कारबाहीको रूपमा व्याख्या गरेको छ ।

१० औं महाधिवेशन आयोजक कमिटीको शुक्रबार बसेको बैठकपछि प्र्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधिएकामध्ये संघीय संसद्का अधिकांश सांसदको स्पष्टीकरण आइसकेको र उनीहरूको सन्दर्भमा के गर्ने भनेर थप अध्ययन गरी निर्णय गर्न आयोजक कमिटीले स्थायी कमिटीलाई जिम्मा दिएको बताए । ‘एक खालको संकेत यहाँहरूले पाइसक्नुभएको छ, पार्टीको निर्देशन नमान्ने कर्णाली प्रदेशका साथीहरूलाई हामीले कडा कारबाही गरेका छौं । त्यो खालको स्थिति नआओस् भन्ने हाम्रो प्रयास छ, बैठकमा साथीहरूको संख्या अझ थपिँदै छ,’ उनले भने, ‘साथीहरूले आन्दोलन र आफैंलाई नोक्सान गर्ने निर्णय गर्नुहुन्न भन्ने विश्वास छ ।’

एमालेले शुक्रबारै माधव नेपाल पक्षका नेताहरूलाई नराखी स्थायी कमिटी गठन गरेको छ । नवौं महाधिवशेनबाट निर्वाचित कमिटी भंग गरेर अध्यक्ष, महासचिवबाहेक अरू सबैलाई दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्य बनाएको एमालेले स्थायी कमिटी गठन गर्दा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षधर नेताहरूलाई नसमेटेको हो । नवौं महाधिवेशनबाट निर्वाचित एमालेका २२ स्थायी कमिटी सदस्यमध्ये ११ जना खनाल–नेपाल पक्षमा र १० जना ओलीतिर छन् । उपाध्यक्ष वामदेव गौतम कतै खुलेका छैनन् ।

शुक्रबार बनेको स्थायी कमिटीमा ओलीको विपक्षमा लागेका ११ जनालाई नै हटाइएको छ । माओवादी केन्द्रबाट आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा स्थायी कमिटीमा समेटिएका छन् । केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्बाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेललाई शुक्रबारको महाधिवेशन आयोजक कमिटी बैठकले स्थायी कमिटी सदस्य बनाएको छ । अर्को पक्षका झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने स्थायी कमिटीबाट हटाइएका छन् । प्रवक्ता ज्ञवालीले समानान्तर कमिटी गठन गर्दै अर्को पक्षमा लागेका नेताहरू मूलप्रवाहमा फर्किए सम्मानजनक र यथोचित जिम्मेवारी दिने बताए । बैठकले आयोजक कमिटीमा रहेका अरू सदस्यको पनि जिम्मेवारी बाँडफाँट गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई एकताबद्ध बनाउन आफू लचिलो भएर माधव नेपाल पक्षसँग भेटघाट गर्दा पनि उनीहरूले पहल नगरेको बताए । ‘म अझै पनि लचिलो भएर आएको छु, माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरूसँग मेरो भेटघाट भयो,’ बैठकमा ओलीले भने, ‘दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें तर साथीहरूमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति भएको देखिँदैन ।’

कम्युनिस्ट पार्टी एकताबद्ध बनाउन आफू दिनरात खटिएको भन्दै ओलीले अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेको बताए । ‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेका छन्, पार्टीकै नेताहरूविरुद्ध विषवमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पंक्तिलाई बदनाम गराउन लागेका छन्,’ ओलीलाई उद्धृत गर्दै एक नेताले भने, ‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन । कम्युनिस्ट पार्टी नयाँ उचाइ, शान र गौरवका साथ अगाडि बढ्छ । यसको नेतृत्व र पहल एमालेले गर्नेछ ।’ ती नेताका अनुसार ओलीले पुष्पकमल दाहाल र माधव नेपालको स्वार्थका कारण पार्टी विभाजन भएको बताएका छन् । आफूले दुःख गरेर एकीकृत गरेको पार्टीको साधारण सदस्यबाट समेत हटाउने दुस्साहस दाहाल र नेपालले गरेको उनको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully