सक्रिय संक्रमित ४ महिनायताकै उच्च

शुक्रबार एकै दिन ९०० लाई कोरोना, जसमा ९ महिने बालिकादेखि ९६ वर्षीय वृद्धसम्म
मकर श्रेष्ठ

काठमाडौँ — सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ५ हजार ८ जना सक्रिय संक्रमित छन् । यसमध्ये १ सय जना आईसीयू र ३८ जना भेन्टिलेटरमा छन् ।


पछिल्लो २४ घण्टामा एन्टिजेनसहित ६ हजार ५ सय ५८ जनाको परीक्षण गर्दा ९ महिने बालिकादेखि ९६ वर्षीय वृद्धसम्मका ९ सय जनामा संक्रमण पुष्टि भएको छ । २० देखि २९ वर्ष उमेर समूहका सबैभन्दा बढी २ सय ५ जना संक्रमित भएका छन् ।

शुक्रबारको संक्रमण दर १४ दशमलव ७२ प्रतिशत छ । संक्रमण दर बुधबार १२ दशमलव ७२, बिहीबार १२ दशमलव ८६ प्रतिशत थियो । ‘संक्रमण दर बढेकाले सावधानी अपनाउन बारम्बार आग्रह गर्दै आएका छौं,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । शुक्रबार संक्रमित देखिएकामा ९ महिनादेखि १८ वर्षसम्मका मात्रै ६९ जना छन् । यसमा ३३ बालिका र ३६ बालक छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ३२ जना बालबालिका संक्रमित भएका छन् ।

जोखिम कम गर्न मन्त्रालयले बिहीबार उपत्यकाका ३ सहित १४ जिल्लालाई अति प्रभावित सूचीमा राखेको थियो । ‘केही दिनयताको संक्रमण दरलाई आधार मानेर यी जिल्लामा विस्तार हुन नदिन अति प्रभावितमा वर्गीकरण गरेका हौं,’ उनले भने, ‘संक्रमित दर बढ्न नदिन यी जिल्लामा के नगर्ने भन्ने सूची नै सार्वजनिक गरेका छौं ।’ मन्त्रालयले यी जिल्लामा विद्यार्थी विद्यालय नपठाउन अभिभावकलाई अपिल गरेको छ । शिक्षा मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ । कोरोनाकै कारण भक्तपुरमा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको ज्यान गइसकेकाले सावधानी अपनाउन र अभिभावकलाई छोराछोरी विद्यालय नपठाउन आग्रह गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘यसअघि बालबालिकामा फाट्टफुट्टमात्रै संक्रमण देखिन्थ्यो,’ डा. अधिकारीले भने, ‘दोस्रो चरणमा भने संक्रमित हुनेमध्ये बालबालिका सरदर १० प्रतिशत छन् ।’

फागुन १९ मा ८२ जना संक्रमित भेटिँदा देशभर सक्रिय संक्रमित ७ सय ६६ जनामात्रै थिए । फागुन २२ मा ४७ जना संक्रमित भेटिए । चैत दोस्रो साताबाट भने संक्रमितको संख्या बढ्दै गयो । चैत ९ मा १ हजार १७ जना सक्रिय संक्रमित थिए । चैत २५ बाट २ हजार कटेको सक्रिय संक्रमितको संख्या चैत ३० मा ३ हजार ३ सय पुग्यो । पुस २४ मा ५ हजार २१ जना सक्रिय संक्रमित थिए । त्यसयता संक्रमण घटेपछि सक्रिय संक्रमितको संख्या पनि ओरालो लागेको थियो । शुक्रबारसम्म देशभर ५ हजार ८ जना सक्रिय संक्रमित पुगेका छन् ।

यसैबीच, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको ल्याबमा पछिल्लो २४ घण्टामा ४५ जनाको स्वाब परीक्षण गर्दा ४५ जनाकै रिपोर्ट पोजिटिभ देखिएको छ । संक्रमित २३ जना पुरुष र २२ जना महिला छन् । २० देखि ४० वर्ष उमेर समूहका २४ जना संक्रमित भएको कलेजले जनाएको छ । बिहीबार पनि ३५ जनाको परीक्षण गर्दा ३५ जनाकै रिपोर्ट पोजिटिभ देखिएको थियो । यस्तै, भेरी अस्पतालमा १ सय ८३ जनाको स्वाब परीक्षण गर्दा १ सय ४० जनामा कोरोना पुष्टि भएको छ । संक्रमित नेपालगन्ज उपमहानगरपालिकाका मात्रै ८७ जना छन् । संक्रमितमध्ये २० वर्षभन्दा कम उमेरका २२ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वाब परीक्षणका आधारमा सबैभन्दा बढी संक्रमण लुम्बिनी प्रदेशमा देखिएको छ । लुम्बिनीमा ५ सय ६२ जनाको परीक्षण गर्दा २ सय ४८ जना अर्थात् ४४ दशमलव १२ प्रतिशतमा कोरोना देखिएको छ । प्रदेश १ को ९ वटा प्रयोगशालामा ३ सय ३० जनाको स्वाब परीक्षण गर्दा ३५ जना अर्थात् १० दशमलव ६० प्रतिशत संक्रमित पाइएको छ । प्रदेश २ का ४ वटा ल्याबमा १ सय १४ को परीक्षण गर्दा ४९ जना अर्थात् ४२.९८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

वाग्मतीमा ४ हजार ६७ जनाको परीक्षण हुँदा ४ सय २७ जना अर्थात् १० दशमलव ४९ प्रतिशत संक्रमित भेटिएका छन् । गण्डकीमा ३ सय ४९ परीक्षण गर्दा ४६ जनामा संक्रमण पाइएको छ । कर्णालीमा शुक्रबार संक्रमित हुनेको संख्या शून्य छ । सुदूरपश्चिममा ६९ जनाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना देखिएको छ ।

प्रकाशित : वैशाख ४, २०७८ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्

अन्‍नपूर्णमा नेपाली महिलाको पहिलो आरोहण

सुरज कुँवर, घनश्याम खड्का

म्याग्दी — यस वर्षको पहिलो वसन्तकालीन हिमाल आरोहण सिजनअन्तर्गत शुक्रबार कम्तीमा ६ नेपाली महिलासहित ६८ जनाले विश्वको दसौं अग्लो अन्नपूर्ण (प्रथम) हिमाल आरोहण गरेका छन् । ८ हजार ९१ मिटर उचाइको यो चुचुरोमा मानव पाइला पुगेको ७१ वर्षपछि पहिलोपटक ६ नेपाली महिलाको टोलीले पनि आरोहण गरेका छन् ।

काठमाडौंस्थित सेभन समिट ट्ेरक्सका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार शुक्रबार दिउँसो १ देखि साढे ४ बजेसम्म डोरी टाँगेर बाटो बनाउँदै गइरहेको समूहसँगै आरोहीहरू चुचुरोमा पुगेका हुन् । काठमाडौंस्थित पायोनियर एडभेन्चर प्रालिका अध्यक्ष पासाङ तेन्जी शेर्पाका अनुसार चुचुरोमा पुगेकाहरू अन्नपूर्ण हिमालको आधार शिविरमा चाँडोमा शनिबार बेलुकीसम्म आइपुग्नेछन् । ‘त्यहाँको मौसम राम्रो छैन । फोनको नेटवर्क पनि सगरमाथामा जस्तो राम्रो छैन यकिन जानकारी भोलि बेलुकी नत्र पर्सिमात्रै थाहा पाइएला,’ उनले कान्तिपुरसँग भने ।

यो सिजनमा अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागले ४ वटा आरोहण दलका लागि ८ महिलासहित ४४ जना विदेशीलाई मात्रै आरोहण अनुमति दिएको थियो । विभागकी निर्देशक मीरा आचार्यका अनुसार विदेशी आरोहीहरूको सहयोगीका रूपमा गएका कम्तीमा ६ नेपाली महिलाहरू पनि शुक्रबारै अन्नपूर्ण चढेका छन् । जसमा गोरखा घर भएकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, ओखलढुंगाकी माया शेर्पा, दोलखाकी दावा याङजेन शेर्पा, दावा फुटी शेर्पा, काभ्रेकी शर्मिला तामाङ र सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा छन् । यी सबै पूर्व आरोही हुन् । उनीहरू यस सिजनमा अन्नपूर्ण हिमाल आरोहण दलमा सदस्यका रूपमा नभई पथप्रदर्शक र उचाइका कामदारको भूमिकामा गएको निर्देशक आचार्यले बताइन् । आरोहण कम्पनीहरूले शुक्रबार बेलुकीसम्म नेपाली तथा विदेशी गरी ६८ जनाले अन्नपूर्ण आरोहण गरेको जनाएका छन् । तर विभागले बेलुकी ७ बजेसम्म २५ जनाले आरोहण गरेको जानकारीमात्रै प्राप्त भएको जनाएको छ । आरोहण दलका लागि तोकिएका सरकारी सम्पर्क अधिकृतबाट यकिन जानकारी पाउन नसकेको जनाइएको छ । आरोहण दलका सदस्यबाहेक पथप्रदर्शक र उचाइका कामदार पनि आरोहीसँगै चुचुरोसम्म पुग्छन् ।

त्यसैगरी भारतीय पर्वतारोही प्रियंका मंगेश मोहितीले शुक्रबारै अन्नपूर्ण आरोहण गरेकी छन् । उनलाई अन्नपूर्ण प्रथम आरोहण गर्ने पहिलो भारतीय महिला भनिएको छ ।

सन् १९५० जुन ३ मा पहिलोपटक ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम आरोहण फ्रान्सेली पर्वतारोही मौरिस हर्गोजले गरेका थिए । गोरखा आरुघाटकी आरोही पूर्णिमा श्रेष्ठले स्थानीय अन्नपूर्ण गाउँपालिकाले प्रवद्र्धन गरेको ‘मौरिस हर्जोग’ पदमार्ग हुँदै आरोहणमा गएकी थिइन् । ‘संसारको जेठो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा आजसम्म नेपाली महिलाका पाइला पुगेका छैनन् । म यस हिमालका प्रथम आरोहीले हिँडेको पदमार्ग पछ्याउँदै चुचुरोमा पुग्न चाहन्छु,’ अन्नपूर्ण हिमाल आरोहणमा निक्लेकी श्रेष्ठले म्याग्दीमा भनेकी थिइन्, ‘अन्नपूर्ण कठिन र ज्यानमारा हिमाल भनेर चिनिन्छ । यसमा ३८ प्रतिशत मृत्युदर छ, म त्यो चुनौती सामना गर्न आतुर छु ।’

अन्नपूर्ण प्रथम हिमालको आरोहणमा निक्लेकी आरोही पूर्णिमाको अभियानलाई अन्नपूर्ण गाउँपालिकाले ४ लाख र अध्यक्ष डमबहादुर गर्बुजा पुनबाट २ लाख २५ हजार नगद आर्थिक सहयोग गरेको छ । ‘अन्नपूर्ण हिमालको चुचुरोमा पहिलोपटक नेपाली महिलाको पाइला पुगेको खबरले खुसी छौं । आरोहीलाई स्वागत गर्न आतुर छौं,’ अध्यक्ष गर्बुजाले भने । अन्नपूर्ण प्रथम आरोहण गर्न मुस्ताङको घाँसा हुँदै जाने नर्थ बेसक्याम्पको बाटो १४ लिन लामो र जोखिमपूर्ण छ । उक्त बाटोको विकल्पमा सहज, सुविधायुक्त, हिमालको फेदीसम्मै सडक मार्ग पनि छ । गाडीमा जाँदा ३ दिनमा अन्नपूर्णको उत्तरमा रहेको आधार शिविरमा सजिलै पुग्न सकिन्छ । यो नीलगिरि हिमालका लागि पनि प्रयोग हुने रुट हो ।

प्रकाशित : वैशाख ३, २०७८ २२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×