मेलम्चीको उल्लासमा बिर्सिइएका अनुहार

बेपत्ता व्यक्तिको आशंका गरिएको कंकालको डीएनए अझै परीक्षण हुन सकेन
ज्यान गुमाएका इन्जिनियरको परिवारले केही राहत पाएनन्
जनकराज सापकोटा

काठमाडौँ — मेलम्चीको मुहान भएको हेलम्बु गाउँपालिका–१, अम्बाथानको १७ नम्बर गेट गत असार ३० मा फुट्दा पानीले इन्जिनियर सतीश गोइत र सवारी चालक राधाकृष्ण थापामगरलाई बगायो । यो घटनाको आठ महिना २० दिनपछि गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उद्घाटन गरिन् ।

मेलम्चीको उल्लासमा बिर्सिइएका अनुहार

त्यसयता मेलम्चीको पानी काठमाडौं ल्याएको जस लिने राजनीतिक भाषण सार्वजनिक वृत्तमा बाक्लिएका छन् । तर यही मेलम्चीकै पानी ल्याउने क्रममा ज्यान गुमाएका इन्जिनियर र बेपत्ता चालकबारे कसैले बोल्ने ‘कष्ट’ गरेनन् ।

हराएका सवारी चालक राधाकृष्णको दाहसंस्कार परिवारले शवबिनै गरिसकेको छ । शव नभेटिँदै घटनाको ५ महिना १० दिनपछि गत फागुन १० मा खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर हतारका साथ मेलम्चीको मुहानस्थल पुगेका थिए । तीनै जनाले कन्ट्रोल कक्षको स्विच थिचेर उद्घाटन गरेपछि अस्थायी डाइभर्सनबाट सुरुङको मुख्य गेटसम्मको २ सय ७० मिटर पानी बग्यो । त्यसपछि मेलम्चीको पानी काठमाडौंसम्म ल्याइपुर्‍याउने काम विभिन्न चरणमा चल्यो ।

घटना हुँदा राधाकृष्णका छोरा संगम मलेसियामा थिए । कोरोना संक्रमणको दर तीव्र बनेकाले मलेसिया–काठमाडौं उडान भन्नेबित्तिकै हुने अवस्थामा थिएन । घटनाको दुई सातापछि बल्लतल्ल उनी नेपाल आए । सुरुवाती दिनमा सुरक्षा निकायले पनि राधाकृष्णको शव खोज्न चासो देखाएको थियो । आफन्तले घटनापछि ४/५ दिनसम्म सम्भावित स्थानमा शव खोजेका थिए । तर समय बित्दै जाँदा खोजीको चासो पनि हट्दै गयो । राधाकृष्णको मृत्यु भएपछि आयोजनाको परामर्शदाताका रूपमा काम गरिरहेको स्पेनको इप्टिसा बेट्स जेभी कम्पनीका तर्फबाट संगमले रेकर्ड किपरको जागिर पाएका छन् ।

उनको परिवारलाई कम्पनीले कामदार बिमाबापतको १० लाख रुपैयाँ थमाएको छ । संगमले भने, ‘त्यसबाहेक अरू क्षतिपूर्ति वा सम्झिने कुनै काम भएको छैन ।’ मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले इन्जिनियर सतीशकृष्ण र सवारी चालक राधाकृष्ण दुवै सिनो हाइड्रोमार्फत काम गरेकाले आयोजनाले कुनै क्षतिपूर्ति नदिएको बताए । उनले भने, ‘उचित किसिमले सम्बोधन गरिदिनुहोला भनेर कम्पनीलाई पत्राचार भने गरेका थियौं ।’

मेलम्ची खानेपानी आयोजना : सुरुङको गुणस्तरमाथि छानबिन

संगमकी आमा विस्तारै पति वियोगबाट बाहिर निस्कने प्रयासमा छिन् । संगमले भने, ‘जेनतेन मन बुझाए पनि शव नभेटिएसम्म फर्केर घर आउनुहुन्छ भन्नेजस्तो हुँदो रहेछ ।’ उनले घटना भएको यतिका महिना भइसक्दा पनि राज्यले बुबालाई नसम्झिएको गुनासो सुनाए । उनले भने, ‘मेलम्चीको पानी काठमाडौं लैजान ठूलठूला कर्मचारीको जस्तै मेरो बुबाको पनि योगदान थियो । कम्तीमा बुबाको योगदान सम्झिदिए हुन्थ्यो ।’

घटनाको करिब डेढ महिनापछि घटनास्थलबाट केही पर भीमटार–सिपाघाट क्षेत्रमा एउटा कंकाल भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी अधिकारीले उक्त कंकाल राधाकृष्णको हो भनेर लख काटे पनि त्यसलाई पुष्टि गर्ने आधार थिएन । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता पन्तले डीएनए परीक्षणका लागि कंकालको नमुना पठाइएको बताए । संगमका अनुसार कंकाल भेटिएपछि उनी र उनकी आमालाई डीएनए म्याचिङका निम्ति भन्दै रगतको नमुना दिन बोलाइएको थियो । उनले भने, ‘अस्पतालमै गएर आमा र मैले रगतको नमुना दिएका थियौं । खै अहिलेसम्म केही खबर गरेका छैनन् ।’

आयोजनाका सामाजिक विकास विज्ञ शम्भु कट्टेलले डीएनए परीक्षणका निम्ति नमुना राखेर कंकाल प्रहरीले नष्ट गरिदिएको बताए । उनले भदौ अन्तिम सातातिर डीएनए परीक्षणका निम्ति प्रहरीको विधि विज्ञान प्रयोगशालामा नमुना पठाइएको भए पनि अहिलेसम्म रिपोर्ट हात नपरिसकेको बताए । उनले भने, ‘विधि विज्ञान प्रयोगशालामा अहिले डीएनए टेस्ट गर्ने केमिकल सकिएकाले परीक्षण नभएको कुरा आयो । यसबारे प्रहरीसँग तारन्तार बुझिरहेका छौं ।’

मेलम्ची सुरुङ : सात दिन पनि टिकेन अडिटको मुख्य गेट

घटनापछि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा गठन गरिएको समितिले प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदनमा ढोका भत्किनुमा आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीलाई जिम्मेवार ठहर्‍याइएको छ । प्रतिवेदनमा जे लेखिए पनि घटनाको करिब नौ महिना हुँदा पनि न कोही दोषी ठहर भएका छन् न त कसैमाथि कुनै कारबाही नै गरिएको छ । चालक राधाकृष्णका छोरा संगमले भने, ‘खै के कारणले त्यस्तो दुर्घटना भयो र बुबा घटनामा पर्नुभयो, हामीलाई कसैले केही बताएको छैन ।’

उक्त ढोका भत्किएकै कारण आयोजनाको निर्माण तोकिएभन्दा सात महिना ढिलो भयो । घटनाको विषयमा राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पनि सांसदहरूले प्रश्न उठाएका थिए । साउन १५ मा मन्त्रालयले तयार पारेको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाइयो । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीलाई यसबारे जिज्ञासा राख्दा उनले केही बताएनन् ।

मेलम्चीको मुख्य सुरुङ मार्गभित्र गेट फुटेपछि निस्किएको पानीले क्षति पुर्‍याएको अडिट र हेडवर्क्सस्थल हेर्दै आयोजनाका कर्मचारी (माथि) र सुरुङभित्रैदेखि बगेर आएको गाडी । फाइल तस्बिर : अनिश तिवारी/कान्तिपुर

इन्जिनियर सतीशकृष्णका दाइ आतिश प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको सवारी चालक हुन् । घटनाको दिन उनी कार्यालयको काममा जनकपुरमै थिए । घटना भएको करिब डेढ घण्टापछि आयोजनामै काम गर्ने सतीशका साथीले उनलाई दुर्घटनाबारे बताएका थिए । खबर सुनेपछि ओठतालु सुकेको उनले सुनाए । नसुकोस् पनि किन, सतीशकृष्णलाई भारतको चण्डीगढमा इन्जिनियरिङ पढाउनका लागि खर्च जुटाउन उनले ४ वर्ष साउदी अरबमा काम गरेका थिए । उनले भने, ‘३५ लाख खर्च गरेर भाइलाई इन्जिनियर बनाएका थियौं । उसको पढाइको ऋण पनि तिरिनसक्दै यस्तो घटना भयो ।’

घटनाबारे थाहा पाएको साँझ उनी आफन्तसँग गाडी रिजर्भ गरेर घटनास्थल लागेका थिए । भोलिपल्ट बिहान ६ बजे उनीहरू पुग्दा सशस्त्र प्रहरीको टोलीले सतीशको शव खोजिरहेको थियो । थप उद्धार टोली आउँदै छ भन्ने सुनेपछि उनीहरू घटनास्थल नजिकै बसे । दिउँसो ४ बजेतिर भाइको शव भेटियो । आयोजनाका कर्मचारीले उनलाई दाहसंस्कार खर्च भन्दै एक लाख रुपैयाँ थमाए । त्यही राति १० बजे उनी भाइको शव लिएर जनकपुर हिँडे । भोलिपल्ट बिहान गंगासागरमा भाइको सद्गत सकियो ।

घटनाको केही सातापछि सतीशको परिवारलाई सिनो हाइड्रोले बिमाबापतको रकम बुझ्न बोलायो । १० लाखको बिमा भए पनि उनीहरूलाई घटनालगत्तै किरिया खर्च भनेर दिइएको १ लाख कटाएर ९ लाख दिइयो । आतिशले भने, ‘न हामीलाई कसको गल्तीले मेरो भाइको ज्यान गयो भनेर बताइयो । न बिमाबाहेकको अरू राहत नै दिइयो ।’ घटनापछि उनले खानेपानी विभागको अस्थायी सवारी चालकको जागिर भने पाए । मृतकका बाबु स्थानीय सरकारी स्कुलका निमावि तहका शिक्षक अमर किशोर लाउँलाउँ खाउँखाउँको उमेरमा ज्यान गुमाएको छोरालाई सम्झेर दिन बिताइरहेका छन् ।

कसरी फुट्यो मेलम्चीको मुख्य गेट ?

आतिशको परिवारले केही राहत मिल्छ कि भनेर प्रदेश २ का मुख्यमन्त्रीलाई पनि पत्र लेखेको थियो । तर प्रदेश सरकारले घटना वाग्मती प्रदेशमा भएका भन्दै राहत दिन नसकिने बतायो । उनले चित्त बुझाएको भाकामा भने, ‘हामीले कसैलाई चिनेको छैन । कसैले थप केही सोधेको पनि छैन । भाइको ज्यान गए पनि उसले गरेको कामले गर्दा काठमाडौंको मान्छेले पानी खान पाएछन् ।’

काठमाडौंवासीलाई पानी खुवाउन दुई दशकदेखि राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको र हरेक सरकारको चुनावी नारा बनेको मेलम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारीले ज्यान गुमाउनुको यकिन कारण पत्ता लगाउने विषय कसैको प्राथमिकतामा परेको छैन । करिब २९ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनामा उक्त घटना हुनुको जिम्मेवार को थियो ? उनीहरूलाई सम्झिने कसले ? जिम्मेवार निकायको सरोकारबाट यो विषय हराएपछि सम्बन्धित परिवारलाई यही प्रश्नले घोचिरहेको छ ।

यसरी भएको थियो दुर्घटना

अनिश तिवारी (सिन्धुपाल्चोक)

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बु–१, अम्बाथानमा ‘रिभिनिङ पार्ट’ र गेट नम्बर १७ लाई तयारी राख्नेलगायतका काम हुँदै थिए । सुन्दरीजलसम्म पानी लैजानका लागि महत्त्वपूर्ण मानिने मुख्य सुरुङको मेन गेट अर्थात् गेट नम्बर १७ लाई बलियोसँग लगाउन ३ सातासम्म लाग्ने जानकारी मेलम्ची खानेपानी आयोजनाले दिएको थियो । यता मुख्य सुरुङको गेट नम्बर १७ सम्म पानी पुर्‍याएपछि मुहानस्थलमा कर्मचारीलगायत सबै उत्साहका साथ आयोजनामा खटिरहेका थिए ।

साताअघिदेखि गेट नम्बर १७ र गेट भल्भमा केही समस्या देखिएकाले दिउँसो १२ बजेतिर दुई इन्जिनियरसहित हेल्पर र प्राविधिक सवारी लिएर सुरुङभित्र बुझ्न गए । टोलीमा साइट इन्जिनियर शेखर खनाल, सब हेल्पर पेम्बा लामा, सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतीशकृष्ण गोइत थिए । उनीहरूले सुरुङको प्राविधिक समस्या नियाल्दै थिए । सुरुङबाट एक्कासि ड्याम्म आवाज आयो । आयोजनाका कर्मचारी र केही परका गाउँलेमा खैलाबैला मच्चियो । उनीहरू अम्बाथान हेडबक्सस्थलमा जम्मा भए । सुरक्षाकर्मी आइपुगे । एकैछिनमा गेट नम्बर १७ भत्काएर आएको बाढीले सुरुङ, गेट र अन्य संरचना ध्वस्त भत्काउँदै लग्यो । हेर्दाहेर्दै चालक थापामगरले चलाउने गरेको बा१झ १७६४ नम्बरको रातो स्कार्पियो बाढीले बगाएर मेलम्चीमा मिसायो । साइट इन्जिनियर शेखर खनाल, सब हेल्पर पेम्बा लामा त्यही बाढीमा भेलमा बग्दै गरेको देखेपछि सुरक्षाकर्मी र स्थानीयले बग्दाबग्दै उद्धार गरे ।

मेलम्चीमा प्राथमिक उपचारपछि उनीहरूलाई श्री एयर लाइन्स हेलिकप्टरबाट उद्धार गरेर उपचारार्थ काठमाडौंको ग्रान्डी अस्पताल लगियो । त्यतिखेर सुरुङबाट काठमाडौंको सुन्दरीजल जोड्ने सुरुङमार्गको ‘जिरो ग्रेनेज’ देखि ८ सय मिटरसम्म पानी पठाइएको थियो । आयोजनाका एक प्राविधिकका अनुसार मुख्य सुरुङबाट गेट फुटेर फर्किएको पानीको बाढीले बीचको गेट भल्भ टुटाएर मुख्य सुरुङसँग बीचमा जोडिने सहायक अम्बाथन अडिटबाट निस्किएको थियो । ‘त्यही क्रममा उनीहरूलाई बीचैबाट बगाएको हो, गेट नम्बर १७ मा त सुरुदेखि समस्या देखिएको थियो,’ एक प्राविधिकले भने ।

उनका अनुसार मेलम्ची आयोजनाको ग्याल्थुम, सिन्धुदेखि अम्बाथानसम्म ३ वटा अडिट पानी बालुवा थिग्राएर फाल्न बनाइएका छन् । ‘मान्छे र सवारी छिर्ने सुरुङबाट एक्कासि बाढी आउनु, बीचैमा अडिटसँग जोडिएको गेट भल्भको नट वा गेट कुनै कारणले खुस्किनु जस्ता समस्या देखिन्छ,’ उनले भने ।

प्रकाशित : चैत्र २६, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?