कसरी फुट्यो मेलम्चीको मुख्य गेट ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कसरी फुट्यो मेलम्चीको मुख्य गेट ?

बगेर इन्जिनियर र चालक बेपत्ता, साइट इन्जिनियर र सबहेल्पर घाइते
अनिश तिवारी

काठमाडौँ — बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी नआउँदै मुख्य सुरुङ (२६ किमि) मार्गभित्रको गेट मंगलबार एक्कासि फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् । साइट इन्जिनियरसहित दुई गम्भीर घाइते छन् । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानस्थलको मुख्य सुरुङको गेट नम्बर १७ फुटाएर बीचमा जोडिएको अम्बाथान अडिटबाट निस्किएको पानीले बाढीको रूप लिँदा घटना भएको हो ।

मेलम्चीको मुख्य सुरुङ मार्गभित्र मंगलबार गेट फुटेपछि निस्किएको पानीले क्षति पुर्‍याएको अडिट र हेडवर्क्सस्थल हेर्दै आयोजनाका कर्मचारी (माथि) र सुरुङभित्रैदेखि बगेर आएको गाडी । तस्बिर : अनिश तिवारी/कान्तिपुर

आयोजनाका प्राविधिकका अनुसार मुख्य सुरुङबाट गेट फुटेर फर्किएको पानी बीचको गेट बल्बसमेत टुटाएर मुख्य सुरुङसँगै बीचमा जोडिने सहायक अडिटबाट निस्किएको थियो ।

गेट नम्बर १७ र गेट बल्बमा समस्या देखिएपछि दुई इन्जिनियरसहित हेल्पर र प्राविधिक सुरुङभित्र बुझ्न जाँदै थिए । ‘त्यही क्रममा उनीहरूलाई बीचैबाट बगायो, गेट नम्बर १७ मा सुरुदेखि नै समस्या थियो,’ एक प्राविधिकले भने । उनका अनुसार आयोजनाको ग्याल्थुम, सिन्धुदेखि अम्बाथानसम्म ३ वटा अडिट मार्ग पानी र बालुवा थिग्य्राएर फाल्नका लागि बनाइएका छन् । ‘मान्छे र सवारी छिर्ने सुरुङबाट एक्कासि बाढी आउनुका साथै बीचमा अडिटसँग जोडिएको गेट बल्बको नट वा गेट कुनै कारणले खुस्किएको हुन सक्छ,’ ती प्राविधिकले भने । अचेल आयोजनामा ‘रिभिनिङ पार्ट’ र गेट नम्बर १७ लाई पूर्वतयारी राख्नेदेखि अन्य संरचनालगायतका काम हुँदै आएको थियो । मुख्य टनेललाई ‘फिलिङ’ गर्दै लगेर अन्य काम अगाडि बढाइएको थियो । सुन्दरीजलसम्म पानी लैजानका लागि महत्त्वपूर्ण मानिने मुख्य सुरुङको मेन गेट (गेट नम्बर १७) लाई बलियोसँग लगाउनका लागि ३ साता लाग्ने आयोजनाले जानकारी दिएको थियो ।

साताअघि मुख्य सुरुङको गेट नम्बर १७ सम्म पानी पुर्‍याएपछि मुहानस्थलमा कर्मचारी उत्साहसाथ खटिरहेका थिए । मंगलबार दिउँसो करिब १२ बजेतिर सुरुङबाट ‘ड्याम्म’ आवाज आयो । त्यतिखेर सुन्दरीजल जोड्ने सुरुङमार्गको ‘जिरो जेनेज’ देखि ८ सय मिटरसम्म पानी भर्खरै पठाइएको थियो । मुख्य अडिट गेटसम्म पठाइएको सबै पानी एक्कासि फर्किएपछि सबैतिर खैलाबैला मच्चिन थाल्यो । सुरुङभित्र निरीक्षण गर्न गएको टोली चढेको रातो रङको बा१झ १७६४ नम्बरको स्कारपियो बग्यो । बाढीमा परेका साइट इन्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामालाई घाइते अवस्थामा उद्धार गरियो । सुरक्षाकर्मी र स्थानीयले इन्जिनियर खनाल र सबहेल्पर लामालाई बग्दाबग्दै उद्धार गरेका थिए । प्राथमिक उपचारपछि उनीहरूलाई श्री एयरलाइन्सको हेलिकप्टरबाट थप उपचारार्थ काठमाडौं लगियो । बगेर बेपत्ता हुनेमा आयोजनाका इन्जिनियर सतिश गोहित र सवारी चालक राधाकृष्ण थापा मगर छन् ।

सुरुङस्थलभित्रको सम्पूर्ण संरचनादेखि ‘अडिट गेट’ अर्थात् गेट नम्बर १७ सुरक्षित भनिए पनि कसरी फुट्यो भन्नेबारे कारण फेला पार्न नसकेको आयोजनाका इन्जिनियर शिवकुमार शर्माले बताए । ‘अहिले मुख्य सुरुङभित्रको संरचना पूरै क्षतविक्षत हुन पुगेकाले हामी कोही जान सक्ने अवस्थामा छैनौं, फिल्डमा नपुगी कसरी घटना भयो, के आधारमा भन्न सक्छौं र ?’ उनले कान्तिपुरसँग भने । जाँचबुझका लागि मन्त्रालयले प्राविधिक टोली गठन गरेकाले छिट्टै ‘प्राविधिक तथ्य’ खुल्ने आशा उनले व्यक्त गरे ।

आयोजना प्रमुख त्रिरेशप्रसाद खत्रीसँग बुझ्न खोज्दा उनको ९८५११२६२४५ नम्बर अफ थियो । आयोजनास्थलमा कार्यरत केही प्राविधिकको अनुमानअनुसार गेट नम्बर १७ मा आवश्यकभन्दा बढी चाप हुने गरी पानी पठाइएकाले बालुवा थिग्य्राउने गेट फुटेर सुरुङतर्फ नै पानी फर्किएको हो । सुरुङभित्रको गेटसम्म पुगेर वेगसँग फर्किएको बाढीले ‘मुख्य अडिट गेट’ देखि ‘हेडवर्क्स’ स्थललगायत वरिपरिको अधिकांश संरचना ध्वस्त बनाएको छ । ‘घण्टैपिच्छे पानीको प्रेसर मापन गर्न गइरहन्थ्यौं, यस्तो घटना होलाजस्तो कुनै संकेत थिएन, अन्य प्राविधिक कुरा हामीलाई थाहा भएन,’ आयोजनामा कार्यरत कामदार कृष्ण तामाङले भने ।

गेटमा बम पड्केजस्तो आवाज आयो

शेखर खनाल, साइट इन्जिनियर (घाइते)

हामी चार जना १२.१० बजे गेट नम्बर १७ को प्रेसर गज रिडिङ गर्न गएका थियौं । गेटको ढोका लगाइएको थियो । अडिट गरेर १७ नम्बर गेटबाट फर्कंदाखेरि बम पड्केजस्तो आवाज आयो । पानीको भेलले हामीलाई २५० मिटर जति बगायो । पानी पनि खाएकाले केहीछिन अप्ठ्यारो भयो । हामी दुई जना हस्पिटलमा छौं । अरू दुई जना साथी बेपत्ता हुनुहुन्छ । पानीको प्रेसर बढेर नै फुटेको हो जस्तो लाग्छ । ढोका झन्डै ३/४ टनको थियो । म यहाँ काम गर्न थालेको दुई वर्षजति भयो । फुट्लाजस्तो कुनै सम्भावना देखिएको थिएन । कुनैखाले घटना पनि भएको थिएन । मेरो हात र घुँडामा मुख्य चोट लाग्यो । हामीलाई उद्धारलगत्तै मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरियो र त्यसपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

बस्ती बगाउने त्रास

आयोजनामा जोखिमपूर्ण घटना भएलगत्तै पुगेका हेलम्बु–१ का मिङ्मार ह्योल्मो एकदमै त्रासमा देखिए । ‘यस्तो कमजोर गेट र ड्यामले हाम्रो बस्ती बगाउने डर देखियो, हामीले गुहार्न कहाँ जाने ?,’ उनले भने । आयोजनाभन्दा केही पर र माथि एक दर्जन ह्योल्मो, शेर्पा परिवारको बस्ती छ । घटनापछि स्थानीय डराएका छन् । स्थानीय जनप्रतिनिधि आक्रोशित छन् । ‘मेलम्ची खानेपानी आयोजनाले जनप्रतिनिधिलाई खबरसमेत नगरी मुख्य सुरुङ परीक्षण गर्‍यो, अहिले यस्तो घटना भयो,’ हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘आयोजनाका बेपत्ता र घाइतेप्रति सहानुभूति छ । तर यो घटनाले कुनै पनि बेला बस्तीसमेत ध्वस्त हुन सक्छ भन्ने संकेत गरेको छ, यो ठूलो प्राविधिक कमजोरी हो ।’ सरकारले गम्भीरतापूर्वक निरीक्षण गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘एक साता नटिक्ने मुख्य सुरुङको गेटले कसरी मेलम्चीको पानीलाई राजधानी पुर्‍याउँछ ?’

प्रकाशित : असार ३१, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्

मल नपाएपछि किसान आन्दोलित

भवानी भट्ट

कञ्चनपुर — भारतबाट मलखाद ल्याउन पाउनुपर्ने माग गर्दै सीमावर्ती क्षेत्रका किसान आन्दोलित बनेका छन् । भारतबाट दोधारा चाँदनीमा भित्रिएको मलखाद झोलुंगे पुल भएर ल्याउन पाउनुपर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

भारतबाट दोधारा चाँदनीमा भित्रिएको मल ल्याउन पाउनुपर्ने मागसहित मंगलबार प्रदर्शनमा उत्रिएका किसान । तस्बिर : भवानी भट्ट

किसानले मंगलबार मल ल्याउन पाउनुपर्ने भन्दै झोलुंगे पुलमा प्रदर्शन गरे । उनीहरूले करिब दुई घण्टा पुलमा आवागमनसमेत बन्द गराए । प्रहरी र जनप्रतिनिधिले दोधारा चाँदनीबाट व्यावहारिक रूपमा मल ल्याउन दिइने बताएपछि पुलको आवागमन खुला भएको हो ।

रोपाइँ गर्ने बेला डीएपी अभाव झेलेका किसानले यतिबेला युरियाको पनि अभाव भएका कारण दोधारा चाँदनीबाट ल्याउन पाउनुपर्ने माग गरेका हुन् । ‘यता मल आउँदैन, भारतबाट आएको पनि हामीले प्रयोग गर्न पाउँदैनौं,’ भीमदत्त नगरपालिका–१३ बडैपुरकी जानकी धामीले भनिन्, ‘भारतबाट आएको मल दोधाराका गोदाममा भरिएको छ, त्यहाँबाट हामीलाई ल्याउन दिनुपर्छ भन्ने हाम्रो माग हो ।’

युरियाका लागि दोधारा पुगेका किसानलाई प्रहरीले ल्याउन नदिएपछि त्यहाँबाट फर्केर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले साइकलसमेत पुलमा राखेर आवातजावत बन्द गरेका थिए । ‘भारतबाट लुकीछिपी ल्याएर दोधारामा राखेका मलसमेत हामीले ल्याउन नपाइने, खेतीपातीका बेला जहिल्यै मलको अभाव किन गरिन्छ,’ भीमदत्त नगरपालिका–१३ बडैपुरका उत्तम नेगीले भने, ‘न यताबाट मल पाइन्छ, न त भारतबाट भित्रिएको ल्याउन पाइन्छ ।’ उनले असार पहिलो साता रोपाइँ सकेका थिए । त्यति बेला पनि डीएपी पाएनन् । अहिले युरिया हाल्ने बेलासमेत अभाव भएको उनले बताए ।

कञ्चनपुरमा प्रायः असार पहिलो साताभित्रै रोपाइँ गरिन्छ । प्रायः क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध भएकाले अन्य क्षेत्रको तुलनामा चाँडै रोपाइँ हुने गरेको छ । यहाँ रासायनिक मल भने कहिल्यै समयमा उपलब्ध हुँदैन । किसानले जहिल्यै अभाव झल्दै आएका छन् । सीमा क्षेत्रका किसानले विगतमा पनि भारतबाटै लुकीछिपी रासायनिक मल ल्याउँथे । तर यस पटक लकडाउनका कारण आफैं भारत जान नसक्दा मल ल्याउन नसकेकाले उनीहरू दोधारा चाँदनीमा भारतबाट अवैध रूपमा भित्रिएको मल ल्याउन पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रेका हुन् ।

जिल्लामा मलखाद आपूर्ति गर्ने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेड दुवैका गोदाम रित्ता छन् । वैशाखमा एक लट आएको मल सकिएपछि दोस्रो पटक डीएपी र युरिया आएको छैन । ‘भैरहवामै मल पुगेको छैन, तत्काल मल आउने सम्भावना कम छ,’ साल्ट ट्रेडिङका कञ्चनपुर प्रमुख दीपक भट्टले भने, ‘भैरहवामा आएपछि मात्रै यहाँ पनि आउने हो ।’ युरिया पनि वैशाखमै आएको थियो । सबै त्यतिबेलै सकिएपछि अहिले अभाव भएको हो । कम्पनीसँग युरिया मल मौज्दात नभएको कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरका प्रमुख बलबहादुर शाहले बताए । ‘एक महिनाअघि आएको हो, सबै सकियो,’ उनले भने, ‘तत्काल आउने सम्भावना पनि छैन ।’

प्रकाशित : असार ३१, २०७७ ०६:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×