समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्त्री 

'आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ?'

चैत्र २१, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिएमा राजीनामा दिने बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै उनले आफूले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताएका हुन् । 

बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिइदिन भनेको तर त्यसो नभएकाले राजीनामा नदिएको बताएका हुन् । 'आज मागेको हो र राजीनामा ?  माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या माग्यै छ,' ओलीले भने , 'ए बाबा ! हटाउ न त । समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छ । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन,  अनि राजीनामा माग्छन् ।'

ओलीलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छैन । ओलीले माओवादीतर्फ लक्षित गर्दै समर्थन फिर्ता नलिएकाले राजीनामा दिन नसकेको बताएका हुन् । 

प्रमुख प्रतिपक्षी कांग्रेसले शुक्रबार प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको थियो । त्यस्तै, उसले ओलीलाई हटाएर आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने पनि निर्णय गरेको थियो । 

ओलीले राजीनामाको समाचारलाई प्राथमिकता दिएको र सरकारले गरेका विकास निर्माणका कामलाई अगाडि नराखेको भनेर असन्तुष्टि पोखेका छन् । उनले जहिले पनि आफ्नो राजीनामालाई बढी प्राथमिकता दिइएको तर सडक निर्माण, मेलम्ची खानेपानी जस्ता परियोजनाका समाचार अगाडि नल्याएको भन्दै सञ्चारमाध्यमको आलोचना गरेका हुन् । 'दिनैपिच्छे राजीनामा माग्छन्, दिनैपिच्छे त्यो समाचार छाप्छन् तर मेलम्चीको पानी आएको समाचार छाप्दैनन्,' ओलीको असन्तुष्टि थियो । 

असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक दलहरूले सडकदेखि सदनसम्म प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका छन् । प्रधानमन्त्री ओली भने सर्वोच्चको प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भनेर फैसला आउँदा पनि उक्त कदम सही थियो भनेर जिकिर गर्दै आइरहेका छन् । 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले गरे एकैपटक १६५ सडकको शिलान्यास

प्रतिनिधिसभा पुनःस्थापना

कान्तिपुर

Link copied successfully