खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी

चैत्र १३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । कलंकीस्थित एक पार्टी प्यालेसमा १२ बजेपछि सुरु भएको बैठकमा पछिल्लो विवादका बारेमा छलफल हुने भएको छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताले पछिल्लो परिस्थितबारे ब्रिफिङ गर्ने भएका छन् ।

गत शनिबार बालुवाटारमा बसेको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चार नेतालाई स्पष्टिकरण माग्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले तीन दिनभित्र जवाफ पेस गर्न भन्दै चार नेतालाई सोमबार पत्र पठाएका थिए । नेपालसहितका नेताहरुलाई स्पष्टिकरण सोधेपछि एमाले विवाद उत्कर्षमा पुगेको छ ।

तत्कालीन नेकपामा भएका गतिविधिसमेत लाई जोडेर स्पष्टीकरण मागिएपछि यो समूहका नेताहरुले सामूहिक छलफल पनि गरेका थिए । त्यसपछि नेता नेपाल र उपाध्यक्ष भीम रावलले बिहीबार ओलीमाथि प्रतिप्रश्न गर्दै जवाफ पेस गरेका छन् ।

उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने शुक्रबार स्पष्टीकरण पत्र बुझाउने भएका छन् । तर, खनाल–नेपाल समूहमा पनि पार्टीमै रहेर संघर्ष गर्ने वा छुट्टै पार्टी बनाउने भन्नेमा नेताहरुबीच विवाद देखिएको छ । जारी केन्द्रीय कमिटी बैठकमा यसबारे नेताहरुले धारणा राख्ने भएका छन् ।

अर्कोतर्फ शुक्रबार नै प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका छन् । उक्त बैठकमा जाने वा नजाने भन्नेबारे छलफल गर्न १ बजे खनाल–नेपाल समूहका सांसदहरुको बैठक बस्दैछ । बैठकले प्रधानमन्त्रीले बोलाएको दलको बैठकमा जाने वा नजाने भन्नेबारे निर्णय गर्नेभएको छ ।

एमाले

कान्तिपुर

Link copied successfully