कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

केही सातादेखि छिमेकी भारतलगायत देशमा कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

छिमेकी देशमा जस्तै नेपालमा संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक/भौतिक दूरी राख्नु र मास्कको अनिवार्य प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ । पछिल्लो समय कोरोना संक्रमणको जोखिमको बेवास्ता गर्दै राजनीतिक दल, संघसंस्था, सर्वसाधारणले भेला, बैठक, भीडभाड गर्दै आएका छन् ।

भारतमा हरेक दिन हजारौं संक्रमित हुन थालेपछि नेपाली स्वदेश फर्कने क्रमसँगै फेरि जोखिम बढेको हो । ‘सामाजिक/भौतिक दूरी, साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजर प्रयोगलगायत यस मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी कोभिड–१९ रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा हार्दिक अनुरोध छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञहरूले अबको एक महिनामा नेपालमा कोरोनाको दोस्रो लहर आउन सक्ने भन्दै सचेत रहनुपर्ने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन सातै प्रदेशका स्वास्थ्य निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले सातै प्रदेश स्वास्थ्य निर्देशनालयलाई निर्देशनात्मक पत्र लेखी जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर काम गर्न, उच्च जोखिम स्थान पहिचान गरी रोकथामका उपाय अपनाउन भनेका हुन् ।

मन्त्रालयले प्रदेश स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै भारतबाट आउने यात्रुका लागि आरडीटी, एन्टिजेन परीक्षण, पोजिटिभ आएका व्यक्तिको उपचार र आइसोलेसनको व्यवस्थापन, आवश्यक परे पीसीआर परीक्षण, क्वारेन्टाइनको व्यवस्था र रोगको निगरानी गर्न पनि सुझाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या ३ हजार १६ छ । हालसम्म देशभर २२ लाख ३६ हजार ५ सय २६ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ४८ जना छन् ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति

प्रकाशित : चैत्र ८, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?