कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

भारतमा एकै दिन ४१ हजार संक्रमित

‍नयाँदिल्ली — भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र बनेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार एकै दिन ४० हजार ९ सय ५३ नयाँ संक्रमित थपिएका छन् ।

भारतमा एकै दिन ४१ हजार संक्रमित

जुन दैनिक संक्रमितको संख्याका हिसाबले चार महिनायताकै बढी हो । भारतमा दैनिक संक्रमित ३० हजार बढी थपिएको यो लगातार तेस्रो दिन हो ।

शनिबार थपिएका संक्रमितसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड १५ लाख ५५ हजार नाघेको छ । कुल संक्रमितमध्ये १ करोड ११ लाख १० हजारभन्दा बढी निको भइसकेका छन् । साथै संक्रमणले पछिल्लो २४ घण्टामा १ सय ८८ जनाको मृत्यु भएको छ । योसँगै बिहीबार शनिबारसम्ममा भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५९ हजार ५ सय ५८ पुगेको छ ।

विगत केही दिनयता संक्रमण भएको वृद्धिलाई संक्रमणको दोस्रो लहर भएको आशंका गरिएको छ । विशेषगरी महाराष्ट्र, कर्नाटक, केरला, पन्जाब, मध्यप्रदेश, गुजरातलगायत राज्यमा संक्रमण बढ्न थालेको छ । त्यसमध्ये पनि महाराष्ट्रको अवस्था त निकै चिन्ताजनक छ । शुक्रबार मात्रै महाराष्ट्रमा थप करिब २६ हजारमा संक्रमण पुष्टि भएको छ । महाराष्ट्रको राजधानी मुम्बईमा मात्र ३ हजार ६२ जना नयाँ संक्रमित थपिएका छन् । जुन हालसम्मकै उच्च वृद्धि भएको बताइएको छ । राजधानी नयाँदिल्लीमा पनि संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । गएको २४ घण्टामा दिल्लीमा थप ८ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्दै गएपछि महाराष्ट्रलगायत केही राज्यहरूले विभिन्न स्थानमा लकडाउन र रात्रिकालीनको कर्फ्यु आदेश जारी गरिसकेका छन् । मध्यप्रदेश राज्य सरकारले राजधानी भोपाल, इन्दोर र जबलपुरमा रात्रिकालीन कर्फ्यु जारी गरेको छ । त्यसैगरी पन्जाबले मार्चको अन्तिमसम्मका लागि शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ । साथै, सिनेमा र मलहरू पनि बन्द गर्न आदेश जारी भएको छ ।

भाइरसको उच्च संक्रमण देखिएका यिनै राज्यहरूमा नेपाली कामदारहरूको बाक्लो उपस्थिति छ । भारतमा करिब १५ लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान गरिन्छ । तीमध्ये अधिकांश घरेलु कामदार, सेक्युरिटी, कुक, वेटरका रूपमा काम गर्ने गरेको पाइन्छ । प्रवासी नेपाली संगठनहरूका अनुसार सबैभन्दा बढी नेपाली कामदार हुनेमा दिल्ली र महाराष्ट्रमा पर्छन् ।

मुम्बईमा मात्र दुईदेखि ३ लाखको संख्यामा नेपाली कामदारहरू भएको अनुमान गरिन्छ । संक्रमण बढ्दा यी सहर र राज्यहरूमा आर्थिक गतिविधि क्रमशः कमजोर बन्दै जाने र त्यसले नेपालीहरूको रोजगारीमा पनि असर पर्छ ।

पछिल्लो समय भारतमा बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा विकास भएका कोरोना भाइरसका नयाँ प्रकारका संक्रमण पनि फैलँदो छ । बुधबारसम्म नयाँ प्रकारको भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय नाघेको छ ।

प्रकाशित : चैत्र ८, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?