सत्ता टिकाउन अनुचित सम्झौता गर्दैनौं : प्रधानमन्त्री ओली

चैत्र ७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् । सत्तारुढ एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले अहिलेको अवस्थामा सरकार टिकाइराख्न कुनै पक्षसँग पनि अनुचित सम्झौता नगर्ने बताएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकपछि प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै परराष्ट्रमन्त्री रहेका एमाले प्रवक्ता ज्ञवालीले भने, 'बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार टिकाउन अनुचित सम्झौता गर्ने छैनौं, जनताको भावनाको विपरीतका काम गर्ने छैनौं भन्नुभएको छ । हामीलाई फेरि थप घेराबन्दी गरियो भने थप शक्तिका साथ पुनस्थापित हुनेछौं भन्नुभएको छ ।'

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीले एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताएको जानकारी दिए । बैठकमा प्रधानमन्त्रीले भनेका कुरा उल्लेख गर्दै उनले भने, 'हामी प्रतिपक्षमा बस्न पनि अभ्यस्त छौं, २०४८ सालयता पटक-पटक प्रतिपक्षमा बसेका छौं भन्नुभयो । आगामी दिनमा सबै दल एकातिर लागेर हट्नुपरे पनि जनताका बीचमा बस्छौ, अझै जनमुखी भएर अगाडि बढ्छौं भन्नुभयो ।'

प्रधानमन्त्री ओलीको असंवैधानिक सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन घोषणा गरेकी थिइन् । उक्त विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरेर प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । त्यसपछि सरकारलाई प्राविधिक रूपमा मात्रै बहुमत प्राप्त छ । सर्वोच्चले नेकपाको वैधानिकता सम्बन्धी मुद्दाको फैसला गर्दै एमाले र माओवादी केन्द्रलाई पुनःस्थापित गरिदिएपछि ओली नेतृत्वको सरकार झन् संकटमा परेको छ । 

पछिल्लो समय जसपालाई सरकारमा लिएर बहुमत जोगाइराख्ने प्रधानमन्त्रीको प्रयास छ । जसपाले सांसद रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्नेदेखि लिएर संविधान संशोधनसम्मका माग राखेपछि त्यो प्रयास सफल हुन सकेको छैन । यसै पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले कसैसँग पनि अनुचित सम्झौता नगर्ने बरु प्रतिपक्षमा बस्ने अभिव्यक्ति दिएका हुन् । 

प्रवक्ता ज्ञवालीले फागुन २३ गते, जुन दिन नेकपाको वैधानिकताबारे सर्वोच्चले फैसला सुनाएको थियो, पछि सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिमको भएको र आगामी दिनमा सोहीअनुसार अगाडि बढ्ने कुरा प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेको पनि उल्लेख गरेका थिए । 

एमाले

कान्तिपुर

Link copied successfully