१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

संसद् सचिवालय  बैठकलाई तयार

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि संघीय संसद् सचिवालयले संसद् बैठकको तयारी थालेको छ ।

संसद् सचिवालय  बैठकलाई तयार

अदालतको आदेशअनुसार सरकारले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक राख्ने दिन तय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिसक्नुपर्नेछ । सरकारको निर्णयका आधारमा राष्ट्रपतिले संसद् बैठक आह्वान गर्न सक्ने संवैधानिक प्रावधान छ ।

‘बैठकको मिति तय भएपछि सचिवालयको जिम्मेवारी पूरा गर्छौं,’ प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले भने, ‘पुसमै हिउँदे अधिवेशनका लागि गरेको तयारीले १३ दिनभित्रै बैठक गर्न सक्छौं ।’ पुस १७ अघि संसद् अधिवेशन हुने भन्दै सचिवालयले सबै तयारी पूरा गरेको थियो । सचिवालयले सामाजिक दूरी कायम हुने गरी कुर्सी व्यवस्थापन गरिसकेको उनले बताए । ‘कार्य व्यवस्था परामर्श समितिले अब बस्ने बैठक कसरी अघि बढाउने भन्ने खाका र कार्यसूची तयार गर्नेछ,’ योगीले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । यो प्रस्ताव कसरी अघि बढ्छ भन्नेमा पार्टीले निर्णय गर्ने नेकपा दाहाल–नेपाल पक्षका प्रमुख सचेतक देव गुरुङले बताए । ‘जुन बेला प्रस्ताव दर्ता भएको थियो, त्यो बेला र अहिलेको अवस्था अलि फरक छ । प्रस्तावको भाषा जुन अवस्थामा लेखिएको थियो अहिले परिस्थिति बदलिएको छ,’ उनले भने, ‘अब कसरी अगाडि बढ्ने भन्ने पार्टीले निर्णय गर्नेछ ।’ अब अर्कैर् प्रस्ताव दर्ता हुन सक्ने संकेत उनले गरे ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेकै दिन दाहाल र नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्ताव गरिएको छ । ९० जना सांसदको हस्ताक्षरसहित उक्त प्रस्ताव प्रतिनिधिसभाको कार्य व्यवस्था शाखामा दर्ता भएको थियो । प्रस्तावको प्रक्रिया अघि बढ्न नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग भएको घोषणा गरेकी थिइन् ।

संसद् नियमित सञ्चालन गर्न ‘बिजनेस’ पनि पर्याप्त रहेको सचिवालयले जनाएको छ । प्रतिनिधि र राष्ट्रिय सभामा गरी ५३ वटा विधेयक रहेको योगीले बताए । प्रतिनिधिसभामा मात्रै ३६ वटा विधेयक छन् । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ‘भौतिक संरचना तयारै छ । हाउस बोलाउँदा हाम्रोतर्फबाट गर्नुपर्ने सबै तयारी पूरा हुन्छ ।’

प्रकाशित : फाल्गुन १२, २०७७ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?