कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको प्रश्‍न - कसले भन्यो प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ ?

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने ठोकुवा गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदानलमा विचाराधीन रहेको बेला संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीले ठोकुवा गरेका हुन् । 

प्रधानमन्त्रीको प्रश्‍न - कसले भन्यो प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ ?

आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलामा शनिबार प्रधानमन्त्री ओलीले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको बताए । 'प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर ? पुनर्स्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन उहाँहरू भन्नुभएको होला,' प्रधानमन्त्रीको भनाइ थियो ।

प्रतिनिधिसभा विघटन गर्नुका पछाडि आफूविरुद्ध पार्टीभित्रैबाट आएको अविश्वासको प्रस्ताव लगायतका कुरा रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले आफूलाई जानकारी नदिइ राष्ट्रपतिकहाँ गएर विशेष अधिवेशन माग गर्नु, संसदमा सरकारले लगेका प्रस्ताव निर्णयार्थ प्रस्तुत नगर्नु लगायत रहेको बताए । तीन वर्षदेखिका विधेयक संसदीय समितिमा लगेर अड्काएकाले पनि प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा गरिएको बताए ।

कतिपयबाट प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भनेर कुप्रचार गरिएको भन्दै आफूसँग लगभग दुई तिहाई रहेको र पनि निर्वाचन चाहियो भनेकाले पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीको ठोकुवा थियो । उनले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए ।

'प्रतिनिधिसभा विघटन गरेर नयाँ जानादेशका लागि जाने सिफारिस लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व खतरामा परेका ले हो,' ओलीले भने । प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भएपछिको गठबन्धनबारे विभिन्न सञ्चारमाध्यमले अनावश्यक अल्ला फैलाइएको भन्दै रोष प्रकट गरे ।

प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै ओलीले पुनर्स्थापना हुनै नसक्ने बताए । उनले बेलायत र इजरायलको उदाहरण दिँदै आफूले गरेको संसद विघटन सही रहेको र स्वाभाविक भन्दै पुनर्स्थापना नहुने बताए । उनले मुद्दा लड्नु सबैको अधिकार रहेको र लड्दै गर्ने तर निर्वाचनको तयारी सुरु भइसकेको भनाइ राखे ।

प्रकाशित : पुस १८, २०७७ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?