नियमित डायलसिस गराउन नपाउने, पाउनेलाई पनि अस्पतालले समय कटौती गरिदिने र सहायक उपचार समयमै र पुरानै शुल्कमा गर्न नपाउने समस्या बढ्दै गएको छ ।
काठमाडौँ — पाँच वर्षयता नियमित डायलसिस गराइरहेका धनुषा गणेशनाथ चारनाथ–४ का नारायणप्रसाद पहाडीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भयो । उनले काठमाडौं जोरपाटीको नेपाल मेडिकल कलेजमा निःशुल्क नियमित डायलसिस गराइरहेका थिए । संक्रमितलाई डायलसिस गर्दा भने शुल्क लाग्ने अस्पतालले बतायो ।
७० वर्षीया आमाको सहारामा उपचार गर्न काठमाडौं बसेका ३८ वर्षीय पहाडीले शुक्रबार जेनतेन ६ हजार रुपैयाँ खोजेर डायलसिस गराए । साताको तीन पटक डायलसिस गराउनुपर्नेमा आइतबार भने उनले पैसा जुटाउन नसकेर डायलसिस गराएनन् ।
कोरोना महामारीका बेला नियमित डायलसिस गराउन नपाउने, पाउनेलाई पनि अस्पतालले समय कटौती गरिदिने र बिरामीले गर्नुपर्ने सहायक उपचारहरू समयमै र पुरानै शुल्कमा गर्न नपाउने समस्या बढ्दै गएको छ । जसको मारमा पहाडी जस्ता नियमित डायलसिस गराइरहेका पाँच हजारभन्दा धेरै बिरामीलाई सकस परेको छ । कतिपयले त नियमित डायलसिसको अभावमा ज्यानै गुमाइसकेका छन् । नियमित डायलसिस गराइरहेका र अन्य मिर्गौलासम्बन्धी समस्या भएकाहरूको संस्था मिर्गौलापीडित सरोकार केन्द्रका अध्यक्ष बलराम सुवेदीका अनुसार चैत १० गते सुरु भएको लकडाउनयता समयमै डायलसिस नपाएर प्रदेश २ मा मात्र १८ सहित देशभरि ३५ जनाले ज्यान गएको सूचना पाएको बताए । उनले भने, ‘कैयन्ले यातायात असुविधाका कारण समयमै डायलसिस गराउन सकेनन् । डायलसिस गर्नुपर्ने समय अस्पतालहरूले घटाइदिएकाले कतिपयको स्वास्थ्यमा गम्भीर समस्या थपियो ।’
पहाडीले संक्रमित भएकै कारण निःशुल्क डायलसिस सुविधा नपाउँदा पैसा जुटाउन नसकेर आफ्नो ज्यान नै जाने हो कि भन्ने डर लागिरहेको सुनाए । अस्पतालको आइसोलेसन वार्डमा बसिरहेका उनले भने, ‘अस्पतालले भनेअनुसार शुल्क तिर्ने मेरो क्षमता छैन । म बाँच्ने कि मर्ने जस्तो अवस्थामा छु ।’ उनका अनुसार लकडाउनका बेला सबैजसो अस्पतालले डायलसिसको समय घटाएका थिए । केहीले अवस्था सहज भएपछि पुरानै समयअनुसार डायलसिस गर्न थाले पनि केहीले भने समय घटाई नै रहेका छन् ।
केन्द्रका अध्यक्ष सुवेदीका अनुसार अस्पतालहरूले कोरोना संक्रमण र अन्य समस्या देखाउँदै देशैभरि डायलसिसको समय घटाइदिएका छन् । बर्दिया मधुवनी–८ का सुवेदी ६ वर्षयता श्रीमती तुलसीलाई नियमित डायलसिस गर्नुपर्ने भएकैले भक्तपुरको सल्लाघारीमा डेरा गरेर बसिरहेका छन् । लकडाउनअघिसम्म उनले श्रीमतीलाई साताको तीन पटक भक्तपुरकै सहिद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लगेर चार/चार घण्टाका दरले १२ घण्टा डायलसिस गराउँथे ।
‘पछि अस्पतालले कोरोनाका कारण देखाउँदै एक घण्टा डायलसिस समय घटाइदियो,’ उनले भने । सुवेदीले मिर्गौला बिरामीले रगत उत्पादनलाई निरन्तरता दिन हरेक डायलसिसपछि लगाउनुपर्ने इरिथ्रोपोटिन नामक सुईको भाउ बढेको र डायलसिसका बिरामीले प्रत्येक तीन महिनामा गर्ने स्क्रिन टेस्ट ५० रुपैयाँमा टेकुस्थित केन्द्रीय प्रयोगशालामा हुने गरेकामा हाल त्यहाँबाट सेवा नमिलेको बताए । उनले भने, ‘टेकुमा ५० रुपैयाँमा हुने परीक्षणका लागि निजी अस्पतालले १५ सयदेखि २६ सयसम्म लिइरहेका छन् ।’
५ वर्षयता नियमित डायलसिस गराइरहेकी ३१ वर्षीया जितमाया चौधरीलाई कोरोना महामारी सुरु भएपछि जति समस्या पर्यो त्यति कहिल्यै परेको थिएन । ज्यामी काम गरेर १० वर्षमुनिका दुई छोराछोरी र श्रीमतीको पेट पालिरहेका उनका श्रीमान्ले यहीबीचमा काम पाएनन् । मासिक ८ हजारको कोठाभाडा तिर्न हम्मे–हम्मे पर्यो नै, हरेक ५ दिनमा डायलसिस गराउन अस्पताल कसरी पुग्ने होला भन्ने चिन्ताले पनि उत्तिकै सतायो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रले अन्य बिरामी जस्तै उनको पनि चार घण्टाको डायलसिस समय घटाएर तीन घण्टामा झारिदिएको छ । उनले भनिन्, ‘पहिले पूरै समय डायलसिस गर्दा जति सन्चो भएको थियो अहिले त्यति नभएजस्तो हुन्छ । डायलसिस पूरै गर्न नपाएर थप समस्या बल्झिन्छ कि भनेर मन डराइरहन्छ ।’
सुवेदीले तीन महिनाअघिको कुरा सुनाए । कोरोना कहरले सबैतिर त्राहीत्राही भएका बेला एक्कासि उनकी श्रीमतीलाई सास नै फेर्न गाह्रो भयो । उनले राति झन्डै साढे ८ बजेतिर डेराबाट श्रीमतीलाई अस्पताल पुर्याए । रगत, पिसाबलगायत जाँच गरेर डायलसिस गरीवरी घर ल्याएपछि अलिक निको भयो । उनले भने, ‘कोरोना महामारीका बेला नियमित डायलसिस गर्ने बिरामीले धेरै दुःख पाएका छन् ।’
बिरामीहरूको नेतृत्व गर्दै सुवेदीले योबीचमा स्वास्थ्यमन्त्रीलाई पनि नभेटेका होइनन् । सुरुमा त उनलाई स्वास्थ्य मन्त्रालयको पालेले भित्र छिर्न दिएनन् । एक दिन उनी पीपीई सेट लगाएर मन्त्रालय छिरे र मन्त्रीलाई नियमित डायलसिसका बिरामीका समस्या सुनाए । उनको कुरा सुनेर स्वास्थ्यमन्त्री गम्भीरजस्तो देखिए । ‘स्वास्थ्यमन्त्रीले कताकता फोन घुमाउनुभयो तर समस्या ज्युँकात्युँ छ,’ सुवेदीले भने ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवं नेपाल मिर्गौला केन्द्रका निर्देशक डा. ऋषिकुमार काफ्लेले महिनौं लामो लकडाउन र कोरोना संक्रमण फैलिरहेका बेला सरकारले निःशुल्क डायलसिस सेवामा देखा परेको अप्ठ्यारो फुकाउन गर्नुपर्ने काम नगरेको बताए । उनले भने, ‘निःशुल्क सेवा दिने अस्पतालले संक्रमणसँग जुधेर कसरी काम गरिरहेका छन् ? संक्रमित बिरामीलाई कसरी डायलसिस सेवा दिइरहेका छन् र त्यसमा उनीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्नेबारे सरकारले केही सोचेन ।’ उनले आफ्नो अस्पतालले पनि लकडाउनका बेला डायलसिसको समय दुई साता जति घटाए पनि अहिले पुरानै समयअनुसार सेवा दिइरहेको बताए । ‘डायलसिस गर्नुपर्ने संक्रमितलाई अलग्गै व्यवस्था गरेर पनि सेवा दिइरहेका छौं,’ उनले भने ।
धर्मभक्त माथेमा राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका प्रमुख प्रेम ज्ञवाली आफूहरूले कोरोना संक्रमणकै कारण निःशुल्क डायलसिस गराइरहेका बिरामीको समय नघटाएको बताए । उनले संक्रमित नै भएकाहरूलाई पनि छुट्टै व्यवस्था गरेर निःशुल्क नै डायलसिस दिइएको बताए । ‘इमर्जेन्सीमा डायलसिस गर्नेहरूको हकमा भने समय घटाइएको थियो तर अहिले कोरोनाकै कारण देखाएर कुनै सुविधा घटाइएको छैन,’ उनले भने ।
२०६३ सालदेखि विपन्न नागरिक औषधि उपचार कोषमार्फत मिर्गौला बिरामीलाई सुविधा दिँदै आएकामा सरकारले २०७३ भदौदेखि डायलसिस सेवा निःशुल्क बनाएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशका २० जिल्ला ५७ सरकारी र निजी अस्पतालले निःशुल्क डायलसिस सेवा प्रदान गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार अहिले देशभर पेटमा सर्जरी गरेर राखिएको पाइपमा औषधि पठाएर गरिने पेरोटोनियल डायलसिस गराउने १ सय ९१ जनासहित ५ हजार ८ सय ९७ जनाले डायलसिस सेवा लिइरहेका छन् ।
महाशाखाकी प्रमुख रोशनी तुइतुई लकडाउनको सुरुवाती चरणमा केही अस्पतालले डायलसिसको समय घटाएको सूचना आफूहरूले पाएपछि परिपत्र नै गरेर पुरानै समयअनुसार डायलसिस गर्न निर्देशन दिइएको बताइन् । उनले डायलसिस गराइरहेका बिरामी संक्रमित भए अन्तिममा र संक्रमण नफैलिने गरी सुरक्षा अपनाएर सेवा प्रदान गर्न पनि अस्पतालहरूलाई परिपत्र गरिसकेको जानकारी दिइन् । उनले कोरोना संक्रमित भए पनि पहिले जसरी नै डायलसिस सेवा पाउनुपर्ने उनले बताइन् । ‘कसैले अतिरिक्त शुल्क लिए त्यो कानुनविपरीत हुन्छ,’ उनले भनिन्, ‘कसैले संक्रमणकै कारण सेवा नदिए वा शुल्क लिए कारबाही गर्छौं ।’
