सुदूरपश्चिममा दसैं भत्ता बापत ३५ लाख भुक्तानी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिममा दसैं भत्ता बापत ३५ लाख भुक्तानी

अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यले दसैं भत्ता बुझेका छन् ।

भत्ताबापत राज्य कोषबाट उनीहरुका लागि ३५ लाख २९ हजार अतिरिक्त भुक्तानी गरिएको छ ।

सम्बन्धित कार्यालयहरुले मुख्यमन्त्रीलाई ७१ हजार, मन्त्रीहरुलाई ६३ हजार र प्रदेशसभा सदस्यहरुले ५६ हाजर ५ सय दसैं भत्ता भुक्तानी गरिएको बताएका छन् । प्रदेशसभा सचिवालयले प्रदेश सांसदलगायत पदाधिकारीहरुलाई दसैंभत्ता बापत २६ लाख १८ हजार ५ सय भुक्तानी गरिएको सचिवालयका लेखा अधिकृत हरी जोशीले बताए । ‘नियमअनुसार सम्बन्धित पदाधिकारीको खातामा पठाएका हौं,’ उनले भने ।

मुख्यमन्त्री र मन्त्रीहरुका स्वाकीय सचिवहरुलेसमेत दसैं भत्ता बुझेका छन् । सुदूरपश्चिममा मुख्यमन्त्रीसहित सातजना मन्त्री र राजनीतिक नियुक्ति पाएका उनीहरुका १४ जना स्वकीय सचिवहरु छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले दसैं भत्ताबापत खातामा आएको रकम फिर्ता गर्ने सम्बन्धमा आन्तरिक छलफल भइरहेको बताएका छन् । सत्तारुढ दल नेकपाका सांसद लालबहादुर खड्काले पार्टी वा सरकारले हालको कठिन परिस्थितिमा दसैं भत्ता नलिनु भन्ने सर्कुलर गरिदिए सबैभन्दा सहज हुने बताउँछन् ।

नागरिक समाजका अगुवाहरुले भने देश अप्ठेरोमा परेका बेला, रोजगारी तथा मजदुरी गुमाएका जनतालाई दुई छाक जोड्न धौ-धौ परेको अवस्थामा राजनीतिक पदाधिकारीहरुले कर्मचारी सरह भत्ता लिनु अस्वभाविक भएको बताएका छन् ।

दसैं भत्ता लिएपछि आलोचना हुन थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको कोरोना संकटका बेला आफूले दसैं भत्ता फिर्ता गर्ने बताएका छन् । उनले भने ‘मैले लेखा शाखामा भनिसकेको छु, मेरो खातामा पठाउन बाँकी भए नपठाउनु र पठाइसकेको भए फिर्ता बुझाउँछु ।’

मन्त्रिपरिषदको लेखा शाखाले भने उनको खातामा दसैं भत्ताबापत ७१ हजार रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । प्रदेश कानूनअनुसार मुख्यमन्त्रीदेखि प्रदेश सांसदहरुसम्म सबैले चाडपर्वमा एक महिनाको अतिरिक्त सुविधा पाउने व्यवस्था रहेको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्

घोरेपानी–पुन हिलमा प्रवेश निषेध

दीपक परियार

पोखरा — म्याग्दीको पर्यटकीय गन्तव्य घोरेपानी–पुनहिलका स्थानीयले गाउँमा प्रवेश निषेधको घोषणा गरेका छन् ।

घोरेपानी टोल सुधार समितिको अगुवाइमा कात्तिक १ देखि तिहारसम्म पर्यटकलाई प्रवेश निषेध गरिएको हो ।

घोरेपानी पुग्न कास्कीको नयाँपुल, वीरेठाँटी, उल्लेरी हुँदै जाने एउटा पदमार्ग छ । वीरेठाँटीबाट घान्द्रुक, टाडापानी हुँदै पनि जान मिल्छ । घान्द्रुकमा यसअघि नै पर्यटन समितिले प्रवेश निषेध घोषणा गरिसकेको छ ।

कास्कीसहित म्याग्दीतर्फको पदमार्गबाट पनि पर्यटकलाई घोरेपानी प्रवेश निषेध गरेको टोल सुधार समितिका अध्यक्ष वीरेन पुनले बताए । उनका अनुसार अनुगमनको जिम्मा प्रहरीलाई दिइएको छ ।

बेनीबाट केही आन्तरिक पर्यटक घोरेपानी पुगेपछि स्थानीयमा त्रास बढेकोले प्रवेश निषेध गर्नुपरेको अध्यक्ष पुनले बताए । ‘दसैं तिहारमा आवतजावत बढ्दा कोरोना संक्रमण भित्रिने डर भयो,’ उनले भने, ‘तिहारसम्म हेरौं । संक्रमणको अवस्था हेरेर खोल्ने नखोल्न निर्णय गर्छौं ।’ घोरेपानीमा हाल २५ होटल छन् । चैतदेखि नै ती होटल खुलेका छैनन् ।

प्रकाशित : कार्तिक ३, २०७७ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×