काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र सांसद गगन थापाले सांसदका रूपमा पाएको दसैं भत्ता फिर्ता गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गरेर खाँणले दसैं भत्ता फिर्ता गरेको जानकारी दिएका छन् ।
प्रमुख सचेतक खाँणले दसैं भत्ता बापतको रकम जनहितमा खर्च गर्नका लागि भन्दै फिर्ता गरेको उल्लेख गरेका छन् । 'हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र कठिनाई भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक, जनउत्तरदायी र उचित नभएकोले मलाई प्राप्त भएको दसैं भत्ता बापतको रकम संसद सचिवालय मार्फत जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने व्यहोरा जानकारी गराउँदछु,' खाँणले विज्ञप्तिमार्फत भनेका छन् ।
खाँणले उक्त रकम सरकारको कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई आग्रह गरेका छन् ।
कांग्रेसका सांसद थापाले पनि आफ्नो खातामा आएको दसैं भत्ता बापतको रकम संघीय संसद सचिवालयमा फिर्ता गरेको जानकारी दिएका छन् । उनले नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरिएको बताए ।
सांसदहरूको खातामा असोज महिनाको पारिश्रमिकसँगै दसैं खर्च पनि संसद सचिवालयले जम्मा गरिदिएको थियो । दसैं भत्ता सांसदहरूलाई दिइएकोमा आलोचना भएसँगै केही सांसदहरूले आफूले भत्ता फिर्ता गरेको भन्दै सार्वजनिक गरेका छन् भने केहीले संसद सचिवालयलाई पत्र लेखेर रकम फिर्ता गर्न भनेका छन् ।
सम्बन्धित समाचारः
