अपराध गुपचुप मिलाउँदा अर्को बलात्कार !- समाचार - कान्तिपुर समाचार

अपराध गुपचुप मिलाउँदा अर्को बलात्कार !

पक्राउ परेका युवकले साउनमा एक किशोरीलाई बलात्कार गरेका थिए, जुन घटनालाई गाउँमै पञ्चायती राखेर सामसुम पारिएको थियो ।
वसन्तप्रताप सिंह

बझाङ — सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको खुलेको छ । गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव सिममाडौं मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा बोहरा शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए ।

उनका अनुसार बोहराले गत साउन २६ मा खिकालाकै १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको घटनालाई गाउँमै गुपचुप मिलाइएको खुलेको हो । साँझ ५ बजेतिर धनचडी बोहराको पानीघट्टमा अन्न पिस्न पुगेकी बालिकालाई जबर्जस्ती करणी गरेको बारे आइतबार मात्रै जाहेरी आएको डीएसपी खड्काले बताए । ५ कक्षामा पढ्ने ती बालिकाले तीन दिनपछि मात्रै घटनाबारे आफ्नी भाउजूलाई सुनाएकी थिइन् । त्यसपछि परिवारले पञ्चायती बसालेका थिए । पञ्चायतीमा ‘एकै गाउँका भाइबहिनी हुन्, यत्तिको घटना भइहाल्छ’ भन्दै पाँच सय जरिवाना गराएर घटना गाउँमै सामसुम पारेका थिए । दुवै पक्षबीच भएको मिलापत्रमा राजेन्द्रका बुवा र बालिकाका दाजुसहित ६ जनाले हस्ताक्षर गरेका छन् । मिलापत्रमा ‘गर्भ रहेमा युवकले जिम्मा लिने’ व्यहोरा उल्लेख छ ।

चरेस, मदिराजस्ता नशालु पदार्थ सेवन गर्ने, एक्लै हिँडडुल गर्न रुचाउने बोहरा यसअघि थुप्रै चोरी र लुटपाटका घटनामा संलग्न रहेको स्थानीय बताउँछन् । उनले महिला र बालिकाहरूले लगाएका गहना खोस्ने, घर तथा पसलमा चोरी गर्ने दर्जनौं घटना गाउँमै मिलाइएको खिकालाकै अर्जुन बोहराले बताए । ‘उसको समूहमा एक–दुई जना अरू पनि थिए,’ उनले भने, ‘मान्छे नभएको मौका पारेर सुटुक्क गाउँलेका घरमा पस्ने र चोर्ने गर्न थालेको तीन वर्षजति भयो ।’

सम्झनाको बलात्कारपछि हत्या : पोस्टमार्टम रिपोर्ट

सम्झनाको बलात्कार र हत्या भएको ठाउँ भन्दा ५ सय मिटर पर गत मंसिरमा ११ वर्षका बालक विमल कामी मृत भेटिएका थिए । शव फेला पर्दा उनको एउटा कानको मुन्द्रा थिएन । त्यसबेला गाउँमै रहेका राजेन्द्र बोहरा उक्त घटनालगत्तै भारत गए । फर्केर आएपछि गाउँका बालबालिकालाई तर्साउन थाले । उनीहरूका साथमा हुने पैसा र सामान खोस्दै ‘विमललाई मैले मारेको हुँ, तिमीहरूले पैसा दिएनौ भने मारिदिन्छु’ भन्ने गरेको विमलका बाजे टसी कामी बताउँछन् । उक्त घटनाबारे भने प्रहरीलाई जानकारी नआएको डीएसपी खड्काले बताए । ‘एक जना बच्चा रूखबाट लडेर ढुंगामा ठोक्किएर मृत्यु भएको भन्नेसम्म हामीले थाहा पायौं,’ उनले भने ।

१२ वर्षे बालिकाको बलात्कारपछि हत्याको आशंका : विह्वल छन् बाजेबज्यै

गाउँमा हुने आपराधिक घटनामा प्रायः बोहराकै संलग्नता भए पनि आफूकहाँ एउटा मात्रै उजुरी आएको वडाध्यक्ष शेरबहादुर खड्काले दाबी गरे । ‘आफ्नै ठूलोबुबाको पसलमा चोरेको घटना वडा कार्यालयसम्म पुगेको थियो । रकम फिर्ता गर्ने सहमतिमा हामीले मिलाएका हौं,’ उनले भने, ‘अरू कुरा त अहिले पो थाहा हुँदै छ ।’ अपराधका घटना गुपचुप गाउँमै मिलाउँदा सम्झनाले ज्यान गुमाउनुपरेको डीएसपी खड्काको भनाइ छ । ‘साउनमा भएको बलात्कार जस्तो जघन्य अपराधको घटना प्रहरीकहाँ पुगेको भए ऊ अहिले जेलमा हुन्थ्यो । सम्झनाको ज्यान जाने थिएन,’ उनले भने, ‘गाउँमै गुपचुप मिलाउँदा उसमा मनोबल बढेको देखिन्छ ।’

यसैबीच, सम्झनाको हत्या र बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेर सदरमुकाम चैनपुरमा आइतबार पनि प्रदर्शन गरिएको छ । सयौंको संख्यामा रहेका स्थानीयले जुलुस प्रदर्शनपछि बलात्कारीलाई कडा कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रकाशित : आश्विन १२, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्

राजस्थानको कीर्तिमानी जित

एजेन्सी

शारजहाँ — राजस्थान रोयल्सले आइतबार रोमाञ्चक खेलमा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । दिल्ली क्यापिटल्सजस्तै राजस्थानले पनि शतप्रतिशत विजय निकालेको हो ।

राजस्थानले त्यसनिम्ति आईपीएल इतिहासकै सबैभन्दा ठूलो विजय लक्ष्य पछ्याएको थियो । शारजहाँ क्रिकेट मैदान त्यसको साक्षी बन्यो । मायंक अग्रवालले आईपीएलमा आफ्नो पहिलो शतक बनाएपछि पन्जाबले २ विकेट गुमाई २ सय २३ रन जोड्यो । कप्तान स्टिभ स्मिथ, सन्जु सामसन र राहुल टेवाटियाले अर्धशतक बनाएपछि राजस्थानले तीन बलअगाडि नै लक्ष्य पार गरेको हो ।

पहिलो १९ बलमा ९ रनमात्र बनाउन सकेका टेवाटियाले त्यसपछि आफूले सामना गरेको १२ बलमा ४४ रन थपेका थिए, त्यसमा ७ छक्का समावेश थियो । उनले १८ औं ओभरमा सेल्डन कोट्रेललाई ५ छक्का प्रहार गरेपछि राजस्थान खेलमा फर्किएको थियो । अर्को ओभरमा जोफ्रा आर्चरले मोहम्मद सामीको बलमा लगातार दुई छक्का र टेवाटियाले १ छक्का प्रहार गरेपछि राजस्थानले अस्वाभाविक प्रदर्शन दिँदै जित निकाल्न सक्यो । टेवाटियाले ३१ बलमा ५३ र आर्चरले ३ बलमा अविजित १३ रन बनाए ।

यसअघि जोस बटलर ४ रनमै आउट भए पनि स्मिथले ५० र सामसनले ८५ रन बनाउँदै राजस्थानको आस जीवितै बनाएका थिए । स्मिथले २७ बल खेली ७ चौका र २ छक्का तथा सामसनले लगातार अर्धशतक बनाउनेक्रममा ४२ बलको इनिङ्समा ४ चौका र ७ छक्का प्रहार गरे । टेवाटिया विजयभन्दा २ रनअगाडि आउट भएका हुन् ।

पन्जाबका मायंकले कप्तान केएल राहुलसँग पहिलो विकेटमा १७ ओभरभित्र १ सय ८३ रनको साझेदारी गरेका थिए । मायंकलाई टम कुरानले आउट गरी यो साझेदारी तोडेका थिए । उनले ५० बल खेली १० चौका र ७ छक्का प्रहार गरे । राहुलले ६९ रन बनाउनेक्रममा ५४ बल खेली ७ चौका र १ छक्का प्रहार गरे । ग्लेन म्याक्सवेल ९ बलमा १३ र निकोलस पूरन ८ बलमा १ चौका र ३ छक्का प्रहार गरी २५ रनमा अविजित रहे ।

अघिल्लो खेलमा केएल राहुलले अविजित १ सय ३२ रन बनाउँदा पन्जाबले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनले पराजित गरेको थियो । राजस्थानले आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दा २ सय १६ रन खडा गरेको थियो ।

सोमबार मुम्बई इन्डियन्स र बेंग्लोरबीच दुबईमा खेल हुनेछ ।

प्रकाशित : आश्विन १२, २०७७ ०६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×