१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सम्झनाको बलात्कारपछि हत्या : पोस्टमार्टम रिपोर्ट

ज्यान जाने कारण कलेजोमा दुइटा चोट
वसन्तप्रताप सिंह

बझाङ — गत बुधबार मन्दिरभित्र मृत अवस्थामा भेटिएकी बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङले तयार गरेको पोस्टमार्टम प्रतिवेदनले बलात्कारपछि हत्या भएको पुष्टि गरेको हो ।

सम्झनाको बलात्कारपछि हत्या : पोस्टमार्टम रिपोर्ट

‘यौनांगमा भित्री र बाहिरी चोटहरू रहेको भनेर पोस्टमार्टम रिपोर्टमा लेखिएको छ,’ प्रहरी स्रोतले कान्तिपुरलाई भन्यो, ‘टाउको, अनुहार, पिठिउँलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएको रिपोर्टमा उल्लेख छ । बाहिरी चोटहरू सम्झनाले बलात्कारीसँग प्रतिकार गर्ने क्रममा लागेको देखिन्छ ।’

सम्झनाको मृत्यु भने कलेजो च्यातिएको कारणले भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । उनको कलेजोको दुई ठाउँमा ठुल्ठूला घाउ रहेको र त्यसैका कारण मृत्यु भएको रिपोर्टमा उल्लेख गरेको प्रहरी स्रोतले बतायो । कलेजोको चोट उनलाई हत्याराले हिर्काउँदा लागेको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला अस्पताल बझाङले सम्झनाको पोस्टमार्टम रिपोर्ट शनिबार जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।

सम्झना हत्यासम्बन्धी थप प्रमाण जुटाउन भन्दै जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्का, प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्की र निमित्त जिल्ला न्यायाधिवक्ता सन्तोषकुमार कटुवालसहितको टोली पुनः घटनास्थल मस्टा गाउँपालिकाको खिकाला गएको छ । टोलीले शनिबार दिनभरि घटनास्थलको निरीक्षण र स्थानीयसँग सोधपुछ गरेको थियो । घटना भएको खबर आएलगत्तै बुधबारको राति नै खिकाला पुगेको प्रहरीको टोलीले बालिका घरबाट निस्कँदा बोकेको डोको, नाम्लो र हँसिया कसैले नछुनू भन्दै घटनास्थलमै छाडेर आएको थियो ।

‘शनिबार हामीले शंकास्पद व्यक्तिले घटना भएको दिन गरेका गतिविधिहरू बुझ्ने र घटनास्थल हेर्ने काम गरेका छौं,’ प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले भने, ‘घटनाक्रम हेर्दा हामीले पक्राउ गरेको आरोपित नै दोषी हो कि भन्ने प्रमाणहरू बलियो हुॅदै गएका छन् । तर उसले अपराध स्वीकार गरिसकेको छैन ।’

१२ वर्षे बालिकाको बलात्कारपछि हत्याको आशंका : विह्वल छन् बाजेबज्यै

उनले घटनास्थलमा रहेको डोको, नाम्लो र हँसिया मृतक सम्झनाको फुपूले उठाइसकेको र सुरक्षित राख्न भनिएको बताए । लामो समय घटनास्थलमै रहेको र त्यो बीच वर्षाले पखालिसकेकाले यी वस्तु प्रमाणका रूपमा काम नलाग्ने देखेर प्रहरीले छाडेको कार्कीको भनाइ छ ।

यसैबीच हत्यामा संलग्नलाई कारबाही माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा स्थानीयले दबाबमूलक कार्यक्रम गरेका छन् । मृत बालिकाका परिवार र छिमेकीहरू, विभिन्न अधिकारकर्मी, संघसंस्था, सदरमुकामका उद्योगी व्यवसायी तथा राजनीतिक दलका भ्रातृ संगठनहरूले सम्झनाको हत्यारा छिटो सार्वजनिक गर्नुपर्ने माग राख्दै नाराजुलुससहित बजार परिक्रमा गरेका थिए । महिला तथा बालबालिकाको समेत उल्लेख्य उपस्थिति रहेको दबाब कार्यक्रमका सहभागीले ‘निर्दोष नफसोस्, अपराधी नउम्कियोस्, सम्झनालाई न्याय दे, बलात्कारीलाई फाँसी दे’ जस्ता प्लेकार्ड बोकेका थिए ।

उनीहरूले हत्यारा लुकाउन सक्ने सम्भावना भएको भन्दै निष्पक्ष छानबिनका लागि निरन्तर खबरदारी गरिने बताएका थिए । बजार परिक्रमापछि लोकतान्त्रिक चोकमा भएको दबाब सभामा बोल्नेहरूले हत्यारालाई उन्मुक्ति दिने खालका गतिविधि कसैले नगर्न चेतावनीसमेत दिएका छन् । ‘गरिब र दलितको पक्षमा कोही छैन भनेर अपराधी लुकाउन चलखेल हुन सक्छ,’ स्थानीय युवा प्रवीन्द्र धामीले भने, ‘यो अमानवीय घटनाको निष्पक्ष छानबिनका लागि सबैले निगरानी र खबरदारी गर्नु जरुरी छ ।’

जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्काले आफ्ना सबै संयन्त्र परिचालन गरेर अनुसन्धानमा खटिएकाले अपराधीलाई कारबाही हुने कुरामा कुनै शंका नगर्न आग्रह गरे । ‘प्रहरीले गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ, हामी अपराधीको निकै नजिक पुगिसकेका छौं,’ उनले भने ‘छिट्टै अपराधी सार्वजनिक गरिनेछ ।’

प्रकाशित : आश्विन ११, २०७७ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?