२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

१२ वर्षे बालिकाको बलात्कारपछि हत्याको आशंका : विह्वल छन् बाजेबज्यै

वसन्तप्रताप सिंह

बझाङ — बाजे गोरख र बज्यै हाँसुको सहारा थिइन् १२ वर्षीया सम्झना कामी । घरभित्रको सानोतिनो काम मात्र होइन, घाँस काट्ने, बस्तुभाउको स्याहार तथा बारी गोडमेल गर्नेलगायत काममा पनि उनी निपुण थिइन् ।

१२ वर्षे बालिकाको बलात्कारपछि हत्याको आशंका : विह्वल छन् बाजेबज्यै

‘हामी बूढाबूढी बिरामी हुँदा पानी दिने उही थिई । केही परिहाल्यो भने नातिनी छँदै छ भनेर सोच्थ्यौं । मेरी फूलजस्ती नातिनीलाई राक्षसले चुँडिदियो,’ बज्यै हाँसुले भनिन् ।

बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बुधबार साँझ बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । नातिनीको ‘हत्या’ ले कामी परिवार मात्र होइन, खिकाला गाउँ नै शोकमा डुबेको छ । घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि प्रहरीलाई दबाब दिन खिकालावासी सदरमुकाम चैनपुर आएका छन् । यस घटनाको सामाजिक सञ्जालमा समेत व्यापक निन्दा भइरहेको छ । विभिन्न अधिकारकर्मी संघसंस्था, राजनीतिक दल र तिनका भ्रातृ संगठनले अपराधीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै विज्ञप्तिसमेत निकालेका छन् । आमाबाबु चार वर्षदेखि भारतको बेंग्लोरमा रहेकाले सम्झना दुई बहिनीसहित बाजेबज्यैसँग बस्दै आइरहेकी थिइन् ।

नातिनीको हत्यापछि उनका बाजेबज्यै विह्वल अवस्थामै चैनपुर आई प्रहरी, पत्रकार र अधिकारकर्मीहरूसँग हत्यारालाई कारबाही गराइदिन अनुरोध गरिरहेका छन् ।

घटनाको दिन दिउँसो ४ बजेतिर खाजा खाएर सम्झना आधा घण्टाको पैदल दूरीमा रहेको गोठमा गाईबस्तुलाई घाँस हाल्न डोको–नाम्लो बोकेर गएकी थिइन् ।

‘दिनभरि बाख्रा चराएर थाकेर आएकी थिई, गोठमा म जाउँला तँ आराम गर् भन्दा मानिन,’ बज्यै हाँसुले विलाप गर्दै भनिन्, ‘तपाईं बिरामी हुनुहुन्छ, म एकैछिनमा पुगेर आइहाल्छु भनेर गएकी हो, सबै साथीहरू आए ऊ आइन ।’ नातिनीलाई रोक्न घरबाट ५ मिनेट जति लाग्ने स्वास्थ्यचौकीसम्म आफूले पछ्याएको स्मरण गर्दै उनले भनिन्, ‘उसले नमानेपछि त्यहाँबाट फर्किएँ । १५ मिनेटजति टाढा पर्ने सिमथला डाँडासम्म सम्झना गएको घरबाट देखेकी थिएँ ।’

बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झनाको हत्यापछि भावविह्वल भएकी बज्यै हाँसु कामी ।तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

डाँडा कट्नेबितिकै कसैले नियन्त्रणमा लिएको र केही तल रहेको सिममाडौं मन्दिरभित्र लगेर उनको बलात्कारपछि हत्या गरिएको परिवारको दाबी छ । उनले बोकेको नाम्लो र डोको मन्दिरभन्दा करिब सय मिटर तलको खोंचमा फालिएको अवस्थामा भेटिएको उनका काका ईश्वर कामीले बताए । घटनास्थल पुगेका स्थानीयका अनुसार मन्दिरभित्र हत्यारासँग सम्झनाको निकै घम्साघम्सी परेको जस्तो देखिने र छटपटाउँदा भुइँ खुट्टाले खोस्रिएको अवस्थामा रहेको छ ।

न्यून आर्थिक अवस्था भएका सम्झनाका बाजे गोरख बुढेसकालमा पनि आरनको काम गर्छन् । आरनमा कृषिऔजार बनाउने र मर्मत गरेबापत पाइने अन्न (खलो) को सहाराले कामी परिवारको गुजारा चलिरहेको छ । आफूहरूको आर्थिक अवस्था र पहुँच कमजोर भएका कारण अपराधी उम्किने हो कि भन्ने गोरखलाई चिन्ता छ । ‘हामी त आरनको काम गरी खाने मान्छे, हाम्रो लागि बोलिदिने न मान्छे छन्, न पैसा । कतै पैसा पेलेर अपराधी उम्काउने हुन् कि भन्ने चिन्ता छ । तपाईंहरू सबैले बोलिदिनुपर्‍यो,’ उनले भने ।

प्रहरीले पनि सम्झनाको बलात्कारपछि हत्या भएको आशंका गरेको छ । मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले यस विषयमा ठोकुवा गरेर भन्न नसकिने बझाङका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले बताए । ‘घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने देखिन्छ,’ घटनास्थल पुगेका उनले भने, ‘अपराधमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’

उनले पक्राउ परेका व्यक्ति नै अपराधमा संलग्न रहेको खुल्ने केही बलिया प्रमाण फेला परेको खुलाए । यद्यपि अभियुक्तले अपराध स्वीकार नगरेको र थप प्रमाणहरू संकलन गर्न प्रहरी टोली घटनास्थलमै रहेको उनले बताए । ‘गम्भीर अनुसन्धान भइरहेको छ, छिट्टै अपराधी पत्ता लाग्नेछ,’ उनले भने ।

प्रकाशित : आश्विन १०, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?