भेटियो ११ नम्बर सीमास्तम्भ- समाचार - कान्तिपुर समाचार

भेटियो ११ नम्बर सीमास्तम्भ

छपाल लामा

हुम्ला — लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको जानकारी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिए ।

उनका अनुसार सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको हो । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको उनले बताए । ‘यो स्तम्भ भेटिएपछि अब रेखांकन गर्न सहज हुने भएको छ,’ उनले भने, ‘यसले अहिले चीनले संरचना बनाएको लोलुङजोङ क्षेत्र कतातिर पर्छ भन्ने पनि स्पष्ट पार्नेछ ।’

स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ । पहिलोपटक २०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे एजेण्डा राखेका थिए । उक्त बैठकमा दुवै पक्ष मिलेर पिलर खोजी गर्ने निर्णय भएको थियो । तर, खोजीकार्यले गति लिन भने सकेको थिएन ।

यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन ८, २०७७ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

दाउन्नेमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध

नारायण शर्मा

नवलपरासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । बुधबारदेखिको अविरल झरीले दाउन्नेका दर्जनौं स्थानमा पहिरो गएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दाउन्ने पहाडको ध्युखोलादेखि पश्चिमतर्फ धेरै स्थानमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो । दुम्कीवास र बर्दघाटमा सयौं गाडी रोकिएका छन् ।

झरीले पहिरो पन्छाउन गरिएको प्रयास सफल भएको छैन । ‘जति हटायो उति माथिबाट पहिरो खसेको खस्यै छ,’ जाममा फसेका बस चालक इन्द्र चापागाईंले भने, ‘पानी नरोकिएसम्म राजमार्ग खुल्न मुस्किल छ ।’ दाउन्ने सडकखण्डका दर्जनौं स्थानमा पहिरो झरेका कारण यात्रा जोखिमपूर्ण बनेको उनले टेलिफोनमा जानकारी दिए ।

प्रकाशित : आश्विन ८, २०७७ ०८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×