चीनकै भूभागमा भवन बनेको हो, नेपालले फेरि प्रमाणीकरण गर्न सक्छ : चिनियाँ दूतावास - समाचार - कान्तिपुर समाचार

चीनकै भूभागमा भवन बनेको हो, नेपालले फेरि प्रमाणीकरण गर्न सक्छ : चिनियाँ दूतावास 

‘चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ ।’
जगदीश्वर पाण्डे

काठमाडौँ — केही दिनयता नेपाली सञ्चार माध्यमहरुमा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति खण्डन जारी गरेको छ ।

चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले आफ्नो आधिकारिक भनाई सार्वजनिक गर्दै चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेका छन् । ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ प्रवक्ता वाङले भनेका छन् । उनले चीन र नेपाल नजिकको छिमेकी रहेको बताएका छन् । ‘चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ,’ उनले भनेका छन् ।

केही दिनयता नेपाली मिडियाले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा चिनियाँ पक्षले बनाएको भवन नेपालको नाम्खा गाउँपालिकामा पर्ने समाचार प्रकाशन गरेका थिए । लगत्तै सीमाको वास्तविक रुपमा स्थलगत अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एक टोली गएको थियो ।

लाप्चाबाट फर्कियो सीमास्तम्भ खोज्‍न गएको टोली

उक्त टोलीले स्थलगत अध्ययन गरेपछि केन्द्रमा रिपोर्ट पठाएको छ । तर उक्त सीमा सम्बन्धमा नेपाल सरकारले हालसम्म कुनै प्रक्रिया दिएको छैन । सम्बन्धित मन्त्रालयहरु गृह, परराष्ट्र र भूमि व्यवस्था मन्त्रालयले यस बारेमा केही पनि बोलेका छैनन् ।

चिनियाँ दूतावासका प्रवक्ता वाङले चीन र नेपालको कुनै पनि भूभाग सम्बन्धमा विवाद नभएको उल्लेख गर्दै दुवै पक्षले जहिले पनि सीमा मामिलामा संवाद गर्न सक्ने बताएका छन् ।

प्रकाशित : आश्विन ७, २०७७ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

अस्ट्रेलियाको समुद्री तटमा फसेका ९० ह्वेल मरे

एजेन्सी

तास्मानिया — अस्ट्रेलियाको तास्मानियास्थित समुद्री तटमा फसेका २ सय ७० ह्वेलमध्ये एक तिहाइ मरेका छन् । उद्धारकर्ताहरूले अझै धेरै ह्वेलहरू मर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका बीबीसीले उल्लेख गरेको छ ।

अधिकारीहरूले हालसम्म २५ वटा ह्वेलको उद्धार गरिएको र अन्यलाई समुद्रमा पुर्‍याउने प्रययास भइरहेको जनाएका छन् । मंगलबार ४० जना उद्धारकर्ताहरूको टोलीे ती ह्वेललाई पुन: समुद्रको गहिरो पानीमा पठाउन सफल भएको हो । समुद्री जीवविज्ञहरूले सबै ह्वेलको उद्धार गरिसक्न अझै केही दिन लाग्ने बताएका छन् ।

ह्वेलहरूको समूह सोमबार समुद्री तटमा फसेको थाहा भएको थियो । ती ह्वेलहरू कसरी समुद्रको तटसम्म पुगे भन्ने यकिन भइरसकेको छैन । उद्धारकर्ताहरूले तीन विभिन्न समूहमा ह्वेलहरू पाइएका र त्यहासम्म पुग्न निकै कठिन भएको जनाएका छन् ।

उक्त क्षेत्रका समुद्री किनारमा ह्वेलहरू आउनु सामान्य भए पनि एक दशकपछि यति ठूलो संख्यामा एकै ठाउँमा जम्मा भएका हुन् । सन् २००९ मा करिब २ सय ह्वेलहरू समुद्री तटमा अड्केका थिए ।

अस्ट्रेलिया र न्युजिल्यान्ड वरपरका क्षेत्रमा प्रत्येक वर्ष विभिन्न प्रकारका ह्वेलहरूले मौसमी बसाइँसराइ गर्छन् । सन् २०१८ मा न्युजिल्यान्डको पूर्वी तटीय क्षेत्रमा फसेका २ सयभन्दा बढी ह्वेल मरेका थिए । 

प्रकाशित : आश्विन ७, २०७७ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×