२४ घन्टामा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय २३ जना डिस्चार्ज

आश्विन ६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ६६ हजार ६३२ संक्रमितको संख्या पुगेको जनाए । 

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८२३ रहेको छ । यो सँगै हालसम्म कोेरोना संक्रमण निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

२४ घन्टामा ११ हजार १ सय ५४ पीसीआर परीक्षण गरिएको छ । 

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ४९ हजार ७७ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ७१ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ जना रहेको छ । 

थप २ को मृत्यु 

कोरोना संक्रमणबाट २४ घन्टामा थप २  को मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा १ जना महिला र १ जना पुरुष रहेको बताए । उनका अनुसार मृतकमा काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोकका ५० वर्षीया महिला रहेका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४२९ पुगेको छ । 



स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully