कांग्रेस महामन्त्री शशांक कोइराला डिस्चार्ज

केही दिन होम आइसोलेसनमै बस्ने

आश्विन ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्री डाक्टर शशांक कोइराला शनिबार दिउँसो डिस्चार्ज भएका छन् । महामन्त्री कोइरालाले फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएपछि शनिबार डिस्चार्ज भएको बताएका छन् ।

चिकित्सकको सल्लाहबमोजिम उनी अझै केही दिन होम आइसोलेसनमा बस्नेछन् । महामन्त्री कोइरालाले आफ्नो उपचारमा संलग्न डाक्टर विश्वनाथ कोइरालालगायतको चिकित्सक टोलीलाई धन्यवाद व्यक्त गरेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइराला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते ॐ अस्पताल भर्ना भएका थिए । कोइरालालाई नरम खालको निमोनिया र ज्वरो देखिएको अस्पतालले जनाएको थियो । 

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो ।

महामन्त्री कोइराला कोरोनामुक्त भने भइसकेका छैनन् । १४ दिन काटेपछि असोज ७ गते उनको पीसीआर परीक्षण गरिने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । शुक्रबार गरिएको पीसीआर रिपोर्ट भने पोजिटिभ नै आएको उनले बताए । 

कान्तिपुर

Link copied successfully