काठमाडौंका ६३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुग्यो

भाद्र २६, २०७७

कान्तिपुर संवाददाता

ललितपुर — कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय संक्रमितको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो । 

योसँगै काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । त्यस्तै भक्तपुरमा १० र ललितपुरमा ७ जना गरी उपत्यकामा ६३ जनाको मृत्यु भएको छ ।

बढी जनघनत्व रहेको काठमाडौं उपत्यकामा मात्रै संक्रमित १० हजार नाघेका छन् । संक्रमितमध्ये करिब ३५ प्रतिशत लक्षणसहितका छन् ।  स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा संक्रमितको संख्या १० हजार १४ पुगिसकेको छ ।

काठमाडौंमा ८ हजार १ सय ८, ललितपुरमा १ हजार ५३ र भक्तपुरमा ८ सय ५३ जना छन् । मन्त्रालयका अनुसार बिहीबारसम्म उपत्यकामा ५ हजार ५ सय ५७ जना उपचाररत छन् भने ४ हजार ३ सय ९५ जना डिस्चार्ज भइसकेका छन् ।   हाल उपत्यकामा समूहमा रहनेहरू बढी मात्रामा संक्रमित देखिएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully