रोकिएन भारत फर्कनेको लर्को

बिहीबार पनि गौरीफन्टा नाकाबाट २८० जना गए, जसमध्ये ५५ जना महिला छन् ।
मोहन बुढाऐर

धनगढी — रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणको डरले घर फर्किए । केही महिना घर–गाउँमै रहे तर आर्थिक उपार्जन ठप्पजस्तै बन्यो । दैनिक गुजारा धान्नै समस्या हुन थालेपछि अहिले पुनः कामकै खोजीमा भारततिर फर्किनेको सीमा नाकामा लर्को छ । कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार पनि २ सय ८० जना नेपाली भारत पसे । जसमध्ये ५५ जना महिला छन् ।

रोकिएन भारत फर्कनेको लर्को

धनगढी भन्सार रोडकी मन्जु धामीले केही दिनयता हरेक बिहान घरअघिको सडकमा भारत जानेहरूको ताँती देखिरहेको बताउँछिन् । ‘यस्तो बेला पनि ज्यानको माया किन मारेका होलान् ?,’ उनले भनिन्, ‘कोही महिलासँग त काखे बच्चा पनि छन् ।’ धनगढीका होटलमा बास बसेकाहरू निषेधाज्ञाका कारण यातायातका साधन नचल्दा गौरीफन्टा नाकासम्मको २ किलोमिटर दूरी पैदलै छिचोल्ने गरेका छन् ।

त्रिनगर नाकाको तथ्यांकअनुसार कैलालीको लम्कीचुहा नगरपालिकाबाट मात्रै ३ दिनयता २ सय जना कामका लागि भारत गएका छन् । कोरोना महामारीका बीचमा भारतबाट आएका नगरवासीहरूको संख्या ६ हजार जति थियो । फर्किनेहरू गाउँमा केही काम नपाएर जन्मथलो छाडेर जान लागेको बताउँछन् ।

लम्कीचुहा नगर प्रमुख महादेव बजगाईंले तत्काल रोजगारी दिलाउन सक्ने अवस्था नहुँदा भारतबाट आएकाहरू पुनः फर्कन थालेको स्विकारे । ‘भारतबाट घर फर्कनेलाई लक्षित गरी स्वरोजगार कार्यक्रमका योजना त ल्याएका छौं,’ उनले भने, ‘७ हजार जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिने, ४ हजार बिघामा लसुन तथा अन्य व्यावसायिक तरकारी खेतीलगायतका थुप्रै कृषि र पशुपालनका कार्यक्रम पनि छन् । तर कोरोना महामारीले योजना सञ्चालन गर्न सकेका छैनौं ।’ स्थानीय स्तरमा उद्योग, व्यवसाय तथा निर्माण क्षेत्रसमेत ठप्प हुँदा सानातिना रोजगारीका अवसरसमेत गुमेको उनले बताए ।

धनगढी उपमहानगरले पनि कोरोना महामारीबाट घर फर्केकालाई मध्यनजर गरेर स्वरोजगार योजना ल्याएको प्रमुख नृपबहादुर ओड दाबी गर्छन् । तर कार्यान्वयन भएको देखिँदैन । उपमहानगरभित्र भारतलगायत विदेशबाट फर्कनेको संख्या करिब ७ हजारजति छ । फर्किएका अधिकांश खाली बस्नुपरेको गुनासो गर्छन् । धनगढी–१९ का शंकर चौधरीले भने, ‘फेरि भारततिरै फर्कने सोच बनाएको छु । उता बजार खुलिसकेकाले कतै होटलमा त काम पाइएला ।’

सीपअनुसारकै रोजगारी जरुरी

तालिम तथा रोजगार महासंघ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले तीनै तहका सरकारले मानव श्रमशक्तिलाई अवसरमा बदल्न नसकेको आरोप लगाए । ‘धेरै संख्यामा घर फर्केको जनशक्तिको सीप र ज्ञानसम्बन्धी प्रोफाइल नाकामै तयार पार्नुपर्थ्यो,’ उनले भने, ‘क्वारेन्टाइनको अवधि पूरा गरिसकेकालाई निर्माण र कृषि क्षेत्रमा संलग्न गराउन सकिएन ।’

कोरोना महामारीकै बीच पनि सावधानी अपनाएर उनीहरूलाई सीप र ज्ञानअनुसार स्वरोजगार बनाउन सकिने उनको सुझाव छ । अब वैदेशिक रोजगारीबाट फर्केकालाई सरकारले तत्कालै कामको बाटो खोल्नुपर्नेमा उनले जोड दिए ।

गुजारा नचलेपछि फेरि भारततिरै

कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेश भण्डारीले संसारमा कोरोना महामारी बाजा बजाएर आउँदासमेत सरकार गम्भीर हुन नसकेको आरोप लगाए । ‘महामारीले पार्ने सबै क्षेत्रको असर र प्रभाव अध्ययन नै गर्न सकेको छैन,’ उनले भने, ‘वैदेशिक रोजगारीमा रहेकाहरू महामारीका बेला त घर फर्कलान् भन्ने त थाहा थियो होला नि ?’

उनले सरकारले घर फर्कन सक्ने नेपालीको तथ्यांक आकलन गरेर त्यसअनुसारको रणनीतिक योजना तयार पार्न नसकेको बताए । ‘सरकारले मानव संसाधन बैंक नै खडा गरी सक्नुपर्थ्यो,’ उनले भने, ‘घर फर्केको जनशक्तिलाई सदुपयोग गर्ने मौका थियो, गुम्यो ।’ अहिले पुनः भारत पस्न लागेको लर्कोलाई देखेर पनि सरकारलाई कुनै लज्जाबोध नभएको उनको टिप्पणी थियो ।

सुदूरपश्चिम प्रदेशसभाका प्रतिपक्ष दलका नेता रणबहादुर रावलले घर फर्केको जनशक्तिलाई आशा जगाउन नसकेर सरकार स्वयंले पुनः भारततिरै फर्कन बाध्य पारेको बताए । उनका अनुसार भारतमा सुदूरपश्चिमका मात्रै ७ लाख नेपाली रहेको आकलन गरिए पनि महामारीका बेला ३–४ लाख मात्रै भित्रिएका थिए । उनीहरूलाई स्थानीय तहमार्फत कृषि, पशु, जडीबुटीलगायत क्षेत्रमा उत्पादन र उद्यममा लगाउन सकिने सुझाए । ‘सरकारले बजेटमा कृषि तथा पशुमा करोडौं अनुदान रकम विनियोजन त गरेकै छ,’ उनले भने, ‘तर त्यो रकम अब आफ्ना कार्यकर्तालाई बाँड्ने होलान् ।’

प्रकाशित : भाद्र १९, २०७७ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?