कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक र कसैको भावनामा ठेस पुर्‍याउन होइन : परराष्ट्र

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मबारे सोमबार दिएको अभिव्यक्तिप्रति नेपाल र भारतबाट टिकाटिप्पणी र आलोचना भएपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाई राजनीतिक विषयसँग सम्बन्धित नभएको जनाएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

भानु जयन्तिको अवसरमा सोमबार प्रधानमन्त्री ‌ओलीले बालुवाटारमा आयोजित कार्यक्रममा राम नेपालकै भएको र रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा रहेको दाबी गरेका थिए । जसलाई लिएर प्रधानमन्त्रीको नेपालमा र भारतमा आलोचना भइरहेको छ ।

परराष्ट्रको विज्ञप्तिमा लेखिएको छ, 'श्रीरामको जन्मभूमिलाई लिएर विभिन्न पौराणिक कथाहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्तिमा रामको जन्मभूमिको बारेमा थप अध्ययन र अनुसन्धानमा जोड दिन उक्त धारणा व्यक्त गर्नुभएको थियो ।'

प्रधानमन्त्रीले रामले उपस्थिति जनाएको ठूलो सांस्कृतिक भूभाग र धनी सभ्यताको थप अध्ययन तथा अनुसन्धान हुनुपर्नेमा जोड दिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । 'प्रधानमन्त्रीको अभिव्यक्ति भारतको अयोध्याको विशेषता र सांस्कृतिक महत्त्वलाई अवमूल्यन गर्नको लागि नभएको' परराष्ट्रले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

परराष्ट्रले सांस्कृतिक परम्पराअनुसार विवाह पञ्चमीको दिन भारतको अयोध्याबाट नेपालको जनकपुरसम्म हरेक वर्ष विवाह आउने गरेको स्मरण गराएको छ । हरेक वर्ष विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट सीताको जन्मभूमि नेपालको जनकपुरमा जन्ति आउने परम्परा छ । प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०१८ मे मा जनकपुर-अयोध्या यात्रु बस सेवालाई महत्त्वका साथ उद्घाटन गरेको परराष्ट्रले स्मरण गराएको छ । उसले नेपाल र भारतका जनताबीचको सांस्कृतिक सम्बन्धलाई नेपालले महत्त्वका साथ लिएको पनि जनाएको छ ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको सत्तारुढ नेकपाका नेताहरूले नै आलोचना गरिरहेका छन् । उनको अभिव्यक्ति पदीय जिम्मेवारी र कूटनीतिक मर्यादाअनुसार नआएको उनीहरूको भनाइ छ ।

सम्बन्धित समाचारः

परराष्ट्र मन्त्रालयको विज्ञप्तिः

प्रकाशित : असार ३०, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्

बीपी प्रतिष्ठानबाट १५ जना संक्रमित निको भएर घर फर्किए

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ महिलासहित १५ जना कोरोना संक्रमित मंगलबार निको भएर घर फर्किएका छन् ।

दोस्रो पटकको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना नदेखिएपछि डिस्‍चार्ज गरिएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार डिस्‍चार्ज हुनेहरुमा ९ वर्षका बालकदेखि ५० वर्षसम्मका छन् । निको हुनेहरुमा झापाका १२, सुनसरी, दिक्तेल र महोत्तरीका एक/एक जना छन् ।

हाल आइसोलेसनमा १३ जना मात्र उपचाररत रहेका छन् ।

प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट हालसम्म २ सय ५४ जना उपचार पश्चात निको भएर घर फर्किएका छन् । प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा हालसम्म ११ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण भइसकेको उनले बताए ।

प्रकाशित : असार ३०, २०७७ १८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×