क्षमायाचना

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर दैनिकमा असार १० गते पहिलो पृष्ठमा प्रकाशित ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा ‘नेपाल सरकार, कृषि मन्त्रालय’ को प्रतिवेदन भन्दै सरकारी स्रोतले झूटो दस्तावेज उपलब्ध गराएका कारणबाट गम्भीर तथ्यगत त्रुटि हुन गएकामा हामी क्षमायाचना गर्दछौं ।

उक्त समाचारको आधार बनाइएको प्रतिवेदन प्रकाशित नै नभएको कृषि मन्त्रालयले र समाचार गलत रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको समाचार हामीले यसअघि नै प्रकाशन गरिसकेका छौं ।

कृषि मन्त्रालयको स्थलगत प्रतिवेदन भनी दावी गरिएको उक्त दस्तावेज कसले कुन प्रयोजनका लागि तयार पार्‍यो र सरकारी स्रोतहरूले नै त्यसलाई किन सञ्चारमाध्यमहरूलाई उपलब्ध गराए भन्नेबारे हामी सत्यतथ्य पत्ता लगाउन प्रयासरत छौं ।

–प्रधान सम्पादक

प्रकाशित : असार १३, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्

 मर्स्याङ्दीको बाढीले बस्ती जोखिममा

आश गुरुङ

लमजुङ — मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डे र ङोरो डाँडाबीचमा पहिरो खसेपछि बिहीबार केहीबेर मर्स्याङ्दी नदी आंशिक थुनियो । बाढीले कुनाबाट खोतलेपछि चामे–मनाङ सडकको उक्त क्षेत्र भासिएको छ । पहिरो गएको छ । सडक भासिएपछि उक्त गाउँमा सवारीसाधन र मानिस हिँड्न नमिलेको गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए ।

‘मर्स्याङ्दीमा बाढी आएपछि कुनातिर खोतल्दा सडक भासियो । बाटो बगाएर खोलामा पुर्‍याएको छ,’ उनले भने, ‘यो क्षेत्रमा कहिल्यै यस्तो भएको थिएन ।’ नदीमा बाढी आएर पहिरो चल्न थालेपछि खोलाछेउका गाउँ जोखिममा रहेको स्थानीय बताउँछन् । मर्स्याङ्दीमा बढेको बाढीले माथिल्लो क्षेत्रभन्दा तल्लो क्षेत्र बढी जोखिममा पार्छ । नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङका अनुसार पहिरोले तालडाँडा नजिकै पहिरो गएपछि सडक नै अवरुद्ध बनायो । घेराङ गाउँ छेउबाट गएको पहिरोले गाउँलाई जोखिममा बनाएको उनले बताए ।

मनाङबाट लमजुङ हुँदै तनहुँ भएर मुग्लिनमा पुगी त्रिशूलीसँग मिसिने मर्स्याङ्दी नदीले यस आसपासका बस्तीलाई जोखिममा पारेको छ । तल्लो मनाङ र उत्तरी लमजुङका बस्ती जोखिममा रहेको स्थानीय बताउँछन् । मर्स्याङ्दीको बहाव बढेपछि मनाङको नासों–१, तालगाउँका स्थानीय जोखिममा परेको सिरानतालका सिंहबहादुर गुरुङले बताए । बाढीले तालगाउँमाथिका सिरानताल, खोत्रो, बगरछाप, धारापानी, चामेलगायतका गाउँ बढी जोखिममा रहेको स्थानीय बताउँछन् । ‘नदीबाट जोगिन तटबन्ध पनि बनाइएको थियो । तर यही बेला बाढी तटबन्ध नाघेर घरखेतमा पस्न थालेको छ’ उनले भने । उनका अनुसार ६ वर्ष पहिले गाउँमाथिबाट ठूलो पहिरो झरेको र अहिले पनि झर्न थालेको छ । ‘कतिबेला बाढी आउला, माथिबाट पहिरो आउला भनेर सुत्न सकेका छैनौं’ उनले भने । यसबाट गाउँका ५५ घरधुरी बढी जोखिममा रहेको स्थानीयले बताए ।

नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार बाढीपहिरोले शाखा सडक र बेंसीसहर–चामे सडक पनि बगाउने गरेको छ । ‘बाटोमाथि पहिरो, बाटोमुनि पहिरो । गाउँ र सडक जोखिममा छन्’ उनले भने । पछिल्लो समय मर्स्याङ्दी नदीमा ढुंगा, माटो र बालुवा निकाल्ने गरिएकाले पनि बाढीले कुना खोतल्दै लगेको हा । जलविद्युत् आयोजना, सडक निर्माण, निजी आवास निर्माणलगायत निर्माण कार्य अघि बढाउँदा अवैध रूपमा नदीजन्य पदार्थ झिक्ने गरिएको स्थानीयले बताए । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले नदी छेउका स्थानीयलाई सतर्क रहन आग्रह गरेको बताए ।

प्रकाशित : असार १३, २०७७ ०६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×