नेपाल-चीनबीच समस्या उब्जिए वार्ताद्वारा समाधान गर्छौं : परराष्ट्र  - समाचार - कान्तिपुर समाचार

नेपाल-चीनबीच समस्या उब्जिए वार्ताद्वारा समाधान गर्छौं : परराष्ट्र  

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्र मन्त्रालयले नेपाल-चीनबीच कुनै पनि समस्या उब्जिए द्वीपक्षीय वार्ताद्वारा समाधान गर्ने जनाएको छ । संचारमाध्यममा चीनले नेपाली भूमि मिचेको भन्ने समाचार आएपछि ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरेर उक्त कुरा बताएको हो । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको अस्तित्वमा नै नरहेको रिपोर्टलाई आधार बनाएर आएका समाचारमा सत्यता नभएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

चीनले विभिन्न जिल्लामा नेपाली भूमि मिचेको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसदहरूले संघीय संसद प्रतिनिधिसभामा फिर्ता ल्याउन संकल्प प्रस्तावसमेत दर्ता गराएको अवस्थामा परराष्ट्रले विज्ञप्ति जारी गरेको हो ।

'नेपाल-चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ को सीमा सन्धिअनुसार निर्धारित गरिएको छ । त्यसपछिको समझदारीपत्रमा दुवै मुलुकले हस्ताक्षर गरेका थिए,' विज्ञप्तिमा भनिएको छ, 'समाचारहरूमा उल्लेख भएअनुसार हराइरहेका भनिएका चीनसँगको सीमाका स्तम्भ नम्बर ३७ र ३८ प्राकृतिक कठिनाइका कारण निर्माण नै गरिएका थिएनन् ।'

कुनै सीमा समस्या देखिएमा दुवै मुलुकका सम्बन्धित निकायबीच आपसी सहमतिमा नै सल्टाउने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीचको आपसी सम्बन्धमा खलल पुर्‍याउने सीमाजस्तो संवेदनशील विषयमा सूचना पुष्टि गरेर मात्र प्रकाशन प्रशारण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित : असार ११, २०७७ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सल्यान जिल्ला अस्पताल सिल

कान्तिपुर संवाददाता

सल्यान — एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल बिहीबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । अस्पतालले आकस्मिकबाहेक सबै सेवा बन्द गरेको हो । 

संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ । समुदायस्तरमा संक्रमण फैलन नदिन अस्पताल सिल गरिएको अस्पताल प्रमुख डा.अर्जुन बुढामगरले बताए । उनका अनुसार गत ५ गते एक दर्जन स्वास्थ्यकर्मीको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएकोमा एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : असार ११, २०७७ १७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×