गुल्मीका संक्रमितको मृत्यु भएको छैन : क्रिमसन अस्पताल

घनश्याम गौतम, सन्जु पौडेल

रूपन्देही — कोभिड–१९ संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ ।

बुधबार मध्यान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो । अस्पतालले विरामीको आइसियुमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको पनि जनाएको छ । 'विरामीको मृत्यु भएको भन्ने समाचारले जनमानसमा अनावश्यक त्रासको वातावरण सृजना भएको भन्दै गलत समाचारको पछि नलाग्न सबैलाई अपिल गर्दछौं,' विज्ञप्तिमा भनिएको छ ।

रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटर (कृतिम स्वासप्रश्वास)मा राखेर उपचार भइरहेको जनाएको छ । अस्पतालका सहायक प्रशासकीय अधिकृत चन्द्रकान्त बस्यालले पनि उनले अवस्था गम्भीर रहेको बताए । ‘अझै डाक्टरहरु उपचारमै हुनुहुन्छ, मृत्यु भएको होइन,’ उनले भने ।

अस्पताल संचालक समितिका अध्यक्ष चिन्तामणि पाण्डेले संक्रमितको अवस्था मंगलबारको जस्तै स्थीर रहेको बताए ।

बैशाख २५ गतेदेखि नै सामान्य ज्वरो र खोकी देखिएका उनले स्थानीय मेडिकलमा उपचार गराएका थिए । सुधार नभएपछि अर्घाखाँची हुँदै जेठ १ गते देखि रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका थिए । उनमा जण्डिस र मृगौलामा पनि समस्या देखिएको थियो । भर्ना भएदेखि नै उनको शरीरका धेरै अंगले काम गर्न छोडेको (मल्टी अर्गान डाइजफङसन सिन्ड्रोम) अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपचारकै क्रममा २ गते उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो ।

प्रकाशित : जेष्ठ ७, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्

आज दिउँसो सवा २ बजे नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरिने

नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बुधबार दिउँसो सवा २ बजे नेपालको नयाँ  राजनैतिक नक्सा औपचारिक रुपमा  सार्वजनिक गर्ने भएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार  कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा बुधबार दिउँसो औपचारिक रुपमा सार्वजनिक गर्न लागिएको हो । साथै नेपाल टेलिभिजनमार्फत नक्सा सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने पनि मन्त्रालयले जानकारी दिएको छ । 

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।

नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको मन्त्रालयले बताएको छ । मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि अब नेपालको नक्सामा

प्रकाशित : जेष्ठ ७, २०७७ १२:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×