१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नरैनापुरका ५९ संक्रमित रातभर बगैंचामा

प्रशासनले समयमै उपचार गर्न नसकेको भन्दै स्थानीयले घर फिर्ता पठाउन दबाब दिएपछि संक्रमितहरूलाई सोमबार रातभर सुरक्षाकर्मीले घेरा हालेर बसेका थिए ।

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार कोभिड–१९ पुष्टि भएका ५९ जना २४ घण्टासम्म क्वारेन्टाइनमा अलपत्र परेका छन् । धेरै जनामा संक्रमण पुष्टि भएपछि उनीहरूलाई छिटो आइसोलेसन केन्द्रमा पुर्‍याउन नसक्दा स्थानीय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले एक दिन त्रासमै बिताए । मंगलबार स्थानीयले संक्रमितको गाउँमै उपचार हुनुपर्ने माग राखेपछि गाउँपालिका दिनभर तनावग्रस्तसमेत बन्यो ।

नरैनापुरका ५९ संक्रमित रातभर बगैंचामा

सोमबार अपराह्न ४ बजे गाउँपालिकाका ४७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि राति १२ जना संक्रमित थपिए । तर, आइसोलेसनको व्यवस्था हुन सकेन । स्थानीयले प्रशासनले संक्रमितको उपचार गर्न नसकेको भन्दै घर फिर्ता पठाउन दबाब दिएपछि उनीहरूलाई बगैंचामा लगेर राखिएको थियो । संक्रमित भाग्ने खतरा बढेपछि रातभर सुरक्षाकर्मीले घेरा हालेर बसेका थिए । संक्रमित रहेको स्थानमा चार/पाँच सय स्थानीय भेला भएर कुनै पनि हालतमा संक्रमितलाई नेपालगन्ज लैजान नदिने अडान लिएपछि स्थिति तनावपूर्ण बनेको थियो ।

‘कोरोनाका बिरामीलाई राख्न समयमै आइसोलेसन केन्द्र बनाइएन । क्वारेन्टाइनमै राखेपछि अरूलाई सर्ने भनेर स्थानीयले विरोध जनाएका हुन्,’ नरैनापुर–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले भने, ‘बिरामीलाई पशुलाई जस्तो व्यवहार गरेपछि जनता आक्रोशित हुनु स्वाभाविक हो ।’ प्रशासनले संक्रमितलाई राख्न लक्ष्मणपुरमा आइसोलेसन केन्द्र बनाउने आश्वासन दिएको थियो । एकाएक नेपालगन्जको लायन्स डेन्टल अस्पताल र कोहलपुर नगरपालिकास्थित कृषि विकास बैंकको तालिम कक्षमा राख्ने निर्णय सुनाइयो । त्यसपछि संक्रमितले त्यहाँ जान मानेनन् ।

वडाध्यक्ष मौर्यले संक्रमितलाई सोमबार अस्पताल नलगिएका कारण उनीहरू उक्त क्वारेन्टाइनमा बसिरहेका तर रिपोर्ट नेगेटिभ आएका अन्य व्यक्तिहरूसँग पनि घुलमिल भइसकेको बताए । ‘रिपोर्ट नेगेटिभ र पोजिटिज आएकालाई एउटै क्वारेन्टाइनमा भेडाबाख्राजस्तो गरेर हुलियो,’ उनले भने, ‘जसका कारण रिपोर्ट नेगेटिभ आएका व्यक्तिमा संक्रमणको जोखिम बढेको छ ।’

नरैनापुर गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ । गाउँपालिकामा संक्रमण फैलिएपछि प्रदेश सरकारले त्यसलाई आइसोलेसन केन्द्र बनाउने घोषणा गर्‍यो । तर, विद्युत् नहुँदा आवश्यक पूर्वाधार जडान गर्न सम्भव भएन । त्यसैले प्राथमिक स्वास्थ्य केन्द्रको भवन प्रयोगमा नआएको स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले दाबी गरे ।

‘कोरोना पुष्टि भइसकेपछि क्वारेन्टाइनमा राख्ने नै होइन, सीधै आइसोलेसनमा राख्नुपर्छ,’ भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डले भने, ‘पूर्वतयारी नगर्नु चरम लापरबाही हो ।’ संक्रमितलाई जानाजान अन्य व्यक्तिसहित क्वारेन्टाइनमा राख्नु भनेको निकै खतरनाक भएको उनको भनाइ छ । स्थानीयका अनुसार संक्रमितलाई नेपालगन्ज ल्याउने क्रममा धेरैका परिवारले रोकेका थिए । त्यसक्रममा पनि संक्रमितसँग धेरै जना घुलमिल भइसकेका स्थानीयको दाबी छ ।

जिल्ला प्रशासन कार्यालयको लामो प्रयासपछि मंगलबार राति संक्रमितलाई नेपालगन्ज ल्याइएको छ । उनीहरूलाई नेपालगन्जस्थित लायन्स डेन्टल अस्पतालमा राखिएको प्रशासनले जनाएको छ । उक्त अस्पतालमा २६ शय्या छन् । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले लामो समय वार्ता गरेपछि संक्रमित नेपालगन्ज आउन राजी भएका थिए । ‘दुईवटा एम्बुलेन्समा दुई पटक गरी ल्याइएको छ । आइसोलेसन वार्ड बनाउने काम भइरहेको छ,’ उनले भने ।

आइतबार स्थानीय एक युवाको कोरोना संक्रमणबाट सोही क्वारेन्टाइनमै मृत्यु भएको थियो । गत शुक्रबार संक्रमण पुष्टि भएका अन्य ८ जनाको दाङको बेलझुन्डीस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ । गाउँपालिकाका ९९ जनाको स्वाब परीक्षणका क्रममा छ ।

कोहलपुरमा विरोध

संक्रमितलाई कोहलपुरस्थित तालिम केन्द्रमा ल्याउन लागेको भन्दै मंगलबार दिउँसो स्थानीय विरोधमा उत्रिए । कोहलपुर–८ स्थित कृषि विकास बैंकको तालिम कक्षमा संक्रमितलाई राख्ने तयारी गरिएको थियो । उक्त जानकारीपछि स्थानीय विरोधमा उत्रिँदा प्रशासनमाथि दबाब बढेको थियो ।

त्यहाँ आल भारतबाट फर्किएका २५ जनालाई राखिएको छ । उनीहरू कोहलपुर–८ र ९ का बासिन्दा हुन् । क्वारेन्टाइनमा रहेका उनीहरूलाई बागेश्वरी बहुमुखी क्याम्पसमा सार्ने तयारी गरिएको थियो । अन्यत्र सार्न थालेको भन्दै उनीहरूले समेत विरोध जनाएका थिए । उनीहरूका आफन्तले समेत अन्यत्र लैजान नपाउने भन्दै नगरप्रमुख लुटबहादुर रावतको कार्यकक्ष घेराउ गरेका थिए ।

‘निरीह’ नरैनापुर

दुई दशकअघि पोल गाडे पनि नरैनापुर गाउँपालिका बिजुलीविहीन छ । त्यहाँ १५ शय्याको प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । दरबन्दी भए पनि डेढ वर्षदेखि चिकित्सक गएका छैनन् । तल्लो तहका स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । हिउँदमा आगलागीको चपेटा त वर्षायाममा यहाँका स्थानीय बाढीको मारमा पर्छन् । राप्तीमा बाढी आएपछि आउजाउ नै बन्द हुन्छ । असुविधा धेरै भएकाले यसले ‘तराईको कर्णाली’ उपमा पाएको छ । राप्तीको कटानले स्थानीय विस्थापित हुन बाध्य छन् । गाउँपालिका अहिले कोभिड–१९ महामारीको चपेटामा समेत परेको छ ।

कोरोना संक्रमणबाट आइतबार नरैनापुर–५ का युवकको मृत्यु भइसकेको छ । अहिले ६७ स्थानीय संक्रमित छन् । ७ सय १८ स्थानीय अस्तव्यस्त क्वारेन्टाइनमा दयनीय जीवन बिताइरहेका छन् । नेपालगन्जबाट ३५ किलोमिटर दक्षिण पूर्वमा यो गाउँपालिका रहेको छ ।

यहाँस्थित छोटी नाका हुँदै भारतबाट स्वदेश फर्किन दशगजामा भेला भएका स्थानीयलाई गाउँपालिकाले ल्याएर क्वारेन्टाइनमा राखेको थियो । संख्या धेरै भएपछि स्थानीय सरकारले क्वारेन्टाइनमा सुविधा उपलब्ध गराउन सकेन । छिटो स्वास्थ्य परीक्षण गरिएन । प्रदेश र संघीय सरकारले यहाँको बिजोग देखेनन् । यस्तो आपत्मा पनि प्रदेश र संघीय सरकारले नसघाएको भन्दै स्थानीय जनप्रतिनिधिले निराशा व्यक्त गरे ।

‘महामारीका बेला प्रशासनसँग सहयोग माग्दा स्थानीय सरकारले गर्नुपर्छ भन्ने जवाफ आउँछ । प्रदेशसित गुहार माग्यो, संघीय सरकारले गर्छ भन्छन्,’ नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘विकास बजेट कोरोनाविरुद्ध खर्च गर्न तयार छौं । तर सहयोग पाइएन । महामारीका बेला एक्लो महसुस भयो ।’ क्वारेन्टाइन व्यवस्थित नभएकाले संक्रमण व्यापक भएको उनले स्विकारे । गाउँपालिकाले सुरुमा एक सय जनाका लागि क्वारेन्टाइन बनाएको थियो । दुई साताको बीचमा भारतबाट फर्किनेको लर्को लाग्यो । कुनै उपाय नलागेपछि १३ वटा क्वारेन्टाइन बनाएर उनीहरूलाई भित्र्याइयो ।स्वास्थ्य कार्यालय प्रमुख शाहले पनि भारतबाट फर्किने बढेपछि समस्या भएको बताए । उनले उक्त क्षेत्रमा स्वास्थ्य जनशक्ति अभाव रहेको बताए । नरैनापुरमा ३५ हजार जनसंख्या छ । स्थानीय नेपाली भाषा बोल्दैनन् । कारोबार भारतीय रुपैयाँमा हुन्छ ।

‘रेड जोन’मै लापर्बाही

समुदायमा संक्रमण फैलिएको नेपालगन्ज उपमहानगरपालिकामा लकडाउनको उचित पालना गरिएको छैन । प्रशासनले अति आवश्यक सामग्री खरिद गर्न बिहान ११ देखि दिउँसो ३ बजेसम्मको समय छुट्याएको छ । तर, बजारमा बिहानैदेखि भीड लाग्छ । पान पसलदेखि पोलेका मकै खाने र तरकारी किन्नेको भीड अन्य समयको जस्तै छ ।

बाँके उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले प्रशासनले जति कडाइ गरे पनि स्थानीयले लकडाउन पालना गर्न अटेर गरिरहेको बताए । नेपालगन्ज–८ स्थित रानीतलाउ सब्जीमन्डी, त्रिभुवन चोक वरपर, एकलइनी बजार, टाँगा स्टेसनलगायत स्थानमा तरकारी र फलफूल किन्नेको भीड लाग्छ । यही क्षेत्रमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसलाई ‘रेड जोन’ क्षेत्रसमेत घोषणा गरिएको छ । ‘प्रहरी हेरेर बस्छन्,’ वैश्यले भने, ‘कोरोना भान्सामा पुग्दै छ ।’

नेपालगन्ज–८ का वडाध्यक्ष सुरेन्द्र गुप्ताले धेरैपटक प्रशासन, उपमहानगरपालिका र वडा प्रहरीलाई भीडभाड नियन्त्रण गर्न अनुरोध गरेको सुनाए । ‘लकडाउनजस्तै लाग्दैन,’ वडाध्यक्ष गुप्ताले भने, ‘यो क्षेत्रमा प्रहरी चौबीसै घण्टा खटिनुपर्ने हो ।’ नेपालगन्जकी उपप्रमुख उमा थापाले प्रशासन कमजोर भएकाले लापरबाही बढेको बताइन् । बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले भने यस्तो बेलामा प्रहरीले बल प्रयोग गर्न नमिल्ने जिकिर गरे ।

म थाकिसकें : इस्तियाक अहमद शाह, अध्यक्ष, नरैनापुर गाउँपालिका

कोरोना संक्रमण सुरु भएपछि रातदिन सुत्न पाएको छैन । खाने ठेगान पनि छैन । भारतबाट आउने बढेपछि क्वारेन्टाइन बनाउन व्यस्त रहें । त्यहाँ बसिरहेकाको गुनासो सुन्न दैनिक पुग्छु । सुरुमा एक सय जनालाई राख्ने र खाने व्यवस्था मिलाइएको थियो । त्यसबेला व्यवस्थापन राम्रो थियो । भारतमा लकडाउन सुरु भएपछि यहाँका जनता धमाधम घर फर्किन थाले । कोरोना संक्रमण फैलिन सक्छ भनेर क्वारेन्टाइनमा राख्न थालियो । दशगजामा आइसकेका नेपालीलाई फिर्ता पठाउनु पनि भएन ।

हामीले यताबाट पठाए पनि भारतीय सुरक्षाकर्मी फर्काइदिन्थे । गाउँकै बासिन्दा भएकाले यहाँ ल्याएर क्वारेन्टाइनमा राख्न थालियो । संख्या बढ्दै गयो । खान दिनै पर्‍यो । हुँदाहुँदै १३ स्थानमा क्वारेन्टाइन बनायौं । त्यसले पनि नपुग्ने भएपछि क्वारेन्टाइन अव्यवस्थित बन्दै गए । थुपै्रपल्ट प्रशासनसँग नजिकैका जंगलमा टेन्ट हालेर क्वारेन्टाइन बनाउन आग्रह गरें तर सुनुवाइ भएन । यति धेरैलाई एक्लै गाउँपालिकाले कसरी धान्न सक्छ ? प्रशासनसित सहयोग माग्यो भने प्रदेश, प्रदेश सरकारसित भन्यो भने संघीय सरकारलाई देखाउने काम भइरहेको छ । जसका कारण समस्यासित जुझ्न समस्या छ । निकै प्रयास गरें तर कतैबाट सहयोग पाएको छैन । म थाकिसकेको छु ।

प्रकाशित : जेष्ठ ७, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?