काठमाडौँ — संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको वास्तविक नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबारको बैठकपछि लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई फेरि निर्देशन दिने निर्णय गरेको हो ।
समितिले यसअघि मंसिरमा सरकारलाई नक्सा जारी गर्न निर्देशन दिएको थियो । समिति बैठकमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा जारी गर्न प्राविधिक तयारी गरेको जानकारी दिएकी थिइन् ।
समितिले नेपाली भूमिमा अतिक्रमण गरी भारतले सडक निर्माण गर्नु अन्तर्राष्ट्रिय कानुन, दुई देशबीचको सम्झौता र सहमति, असल छिमेकीसम्बन्धी मान्यता एवं नीतिविपरीत रहेको निचोड निकालेको छ । ‘भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन, लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न उच्च तहबाट राजनीतिक, कूटनीतिक र अन्य आवश्यक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने,’ समितिको निर्णयमा भनिएको छ ।
समितिले सीमा क्षेत्रमा भारतद्वारा अन्तर्राष्ट्रिय कानुनविपरीत भौतिक संरचना निर्माण र नेपाली भूमिबाट ढुवानी बन्द गर्न तथा सम्बन्धित मन्त्रालयको संयुक्त संयन्त्र बनाएर सीमा सुरक्षा गर्न यसअघि नै निर्देशन दिइए पनि सरकारले काम नगरेको जनाएको छ । समितिले त्यस विषयमा फेरि ध्यानाकर्षण गराएको छ ।
