कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुला सीमाको छाङरुमा सशस्त्रको पोस्ट राख्‍न बल्ल जग्गा

भारतले सडक खन्दा पैदल हिँड्ने बाटो पुरियो : सशस्त्र
एक वर्षभित्र संरचना बनाएर छाङरुमा डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरी राख्ने तयारी
मातृका दाहाल

काठमाडौँ — भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक–पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको बिन्दुमा नेपाली सुरक्षाकर्मी तैनाथ गर्न बल्ल जग्गाको व्यवस्था हुँदै छ । सीमा सुरक्षार्थ दार्चुलाको व्यास गाँउपालिका–१, छाङरुमा सशस्त्र प्रहरी बल (एपीएफ) को फौज राख्न सरकारले केही समयअघि २५ रोपनी जग्गा उपलव्ध गराएको छ ।

दार्चुला सीमाको छाङरुमा सशस्त्रको पोस्ट राख्‍न बल्ल जग्गा

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले १ वर्ष भित्र भौतिक संरचना निर्माण गर्ने गरी सशस्त्र प्रहरीलाई वनको जग्गा उपलब्ध गराइएको जानकारी दिए । ‘दार्चुलाबाट भारत र चीनसग सीमा जोडिएका क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी फौज राख्न जग्गा व्यवस्थापन भइसकेको छ, भौतिक संरचना बनाउन मन्त्रालयले साधनस्रोतको व्यवस्थापन गरिसकेको छ,’ उनले भने ।

सशस्त्रले छाङरुमा डीएसपीको नेतृत्वमा फौज तैनाथ गरेर त्यसअन्तर्गत ३ देखि ४ वटासम्म एकाइलाई सीमा क्षेत्रमा राख्ने योजना बनाएको छ । अर्थ मन्त्रालयले सीमा सुरक्षार्थ बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) निर्माणका लागि करिब ९ करोड रुपैयाँ विनियोजन गरिसकेको सशस्त्रका एक अधिकारीले जानकारी दिए । गएको कात्तिकमा सरकारले लिपुलेक–लिम्पियाधुरा हुँदै भारत र चीनसँगको सीमा नाका सुरक्षार्थ सशस्त्रको फौज राख्ने गर्ने निर्णय गरेको थियो ।

नेपालको गोरेटो बाटो पुरियो

भारतले नेपाली भूभाग हुँदै चीन जोड्ने सडक एकतर्फी रूपमा खनेपछि छाङरुबाट दुम्ली हुँदै लिम्पियाधुरा जाने नेपालतर्फको करिब ५ किलोमिटर गोरेटो बाटो पुरिएको छ । छाङरुबाट लिम्पियाधुरा करिब ४० किलोमिटरको दूरीमा पर्छ ।

दार्चुला सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरीको गुल्मले भारतले एकतर्फी बाटो खन्दा गोरेटो बाटोमा माटो र ढुंगा खसेर अवरोध पुगेको जानकारी सशस्त्र प्रहरी मुख्यालयलाई दिइसकेको छ ।

दार्चुलाको खलंगामा डीएसपीको कमान्डमा सशस्त्र प्रहरीको गुल्म तैनाथ भए पनि चीन र भारतसग सीमा जोड्ने लिम्पियाधुरा–लिपुलेक तथा त्यस आसपास सीमा सुरक्षामा सरकारी उपस्थिति शून्य छ । नेपाल प्रहरीले व्यास गाउँपालिकाकै छाङरु र टिंकर भञ्ज्याङमा चौकी राखे पनि मौसमी प्रतिकूलताका कारण जाडो यामका ५ महिना दुवै सुरक्षा चौकी तल झर्छन् । यो अवधिमा भारतीय पक्षले सीमा अतिक्रमणका गतिविधि झनै बढाउने गरेको जिल्लास्थित एक सुरक्षा अधिकारीले बताए ।

सम्बन्धित समाचार

लिपुलेकमा भारतको सडक : स्थानीय प्रशासन र बासिन्दा चकित

भारतले खोल्यो नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो

प्रकाशित : वैशाख २८, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?