२४ जनामा संक्रमण पुष्टि भइसकेको वडामा तीन सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने लक्ष्यमा बल्ल पुग्यो दुई सय
नेपालगन्ज — समुदायमा संक्रमण फैलिएको नेपालगन्ज–८ जोलहनपुर्वामा संक्रमितको सम्पर्कमा आएका व्यक्तिकै स्वाब संकलन र परीक्षण हुन सकेको छैन । उक्त टोलमा शुक्रबारसम्म २४ संक्रमण पुष्टि भइसकेको छ । स्वाब संकलन र परीक्षणका लागि उक्त टोललाई प्राथमिकता दिनुपर्ने भए पनि यहाँ छरिएर काम भइरहेको छ, जसले गर्दा संक्रमण झन् फैलिने खतरा बढेको छ ।
अघिल्लो शुक्रबार पहिलोपल्ट नेपालगन्ज–७ का एक जनामा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा थप २२ जना संक्रमित थपिएका थिए । २२ जनाको सम्पर्कमा आएका तीन सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने लक्ष्य राखिएको थियो । तर, शुक्रबारसम्म दुई सय हाराहारीको मात्रै स्वाब संकलन गरेर जाँच गरिएको छ ।
पहिलो संक्रमितको सम्पर्कमा आएका जोलहनपुर्वाका व्यक्तिको स्वाब परीक्षण पूरा नहुँदै जिल्ला स्वास्थ्य कार्यालयले नेपालगन्जका बीपी चोक, टाँगा स्टेसन टोल र खजुरा गाउँपालिकाको रनियापुर, उढरापुर, सोनपुर र डीगाउँका गरी ४८ जनाको बिहीबार स्वाब संकलन गरेको थियो । स्वास्थ्य कार्यालय स्रोतले धेरै संक्रमित रहेको टोललाई प्राथमिकता दिनुपर्नेमा स्वाब संकलन र परीक्षण बहकिएको बतायो । बिहीबार संकलन गरिएका स्वाब भेरी अस्पतालको प्रयोगशालामा परीक्षणकै क्रममा छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले जोलहनपुर्वाबाहेक नेपालगन्जकै अन्य वडा र विभिन्न पालिकाले पनि कोरोना जाँचका लागि माग गरिरहेको बताए । उनका अनुसार खजुरा गाउँपालिकाका केही धार्मिक स्थलमा बसेका धर्मगुरुको जाँच गरेर भ्रम हटाउन खोजिएको हो । ‘सबै पालिकाबाट जाँच गरिदिनुपर्यो भनेर दैनिक माग आउँछ । त्यसैले नेपालगन्जबाहिरका पालिकामा पनि परीक्षण गरिएको हो,’ उनले भने, ‘सरोकारवालासँग समन्वय गरेर जोलहनपुर्वामा जाँच बढाउँछौँ ।’ मंगलबार जोलहनपुर्वाभन्दा बाहिरका ५४ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।
इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत प्रदीप रिमालले नेपालगन्जको एउटा टोलमा देखिएको कोरोना भाइरसको संक्रमण प्रभाव कुन क्षेत्रसम्म पुग्यो भन्ने अनुसन्धानका लागि विभिन्न टोलका व्यक्तिको परीक्षण गर्नुपर्ने बताए । कोरोना प्रभाव क्षेत्र अध्ययन गर्न सके नियन्त्रण गर्न सहज हुने उनको तर्क छ । ‘कोरोनाको संक्रमण देखिएको जोलहनपुर्वा टोल सिल गरिएको छ । त्यहाँको परीक्षण पछि गर्न सकिन्छ । तर, त्यहाँबाट बाहिर सरेको छ भने अवस्था भयावह हुन सक्छ,’ उनले भने, ‘त्यसैले कोरोना भाइरसको हटस्पटभन्दा बाहिर पनि जाँच गर्न आवश्यक छ ।’ शुक्रबारसम्म बाँकेमा ३ सय ४४ जनाको पीसीआर जाँच गरिएको छ । तीमध्ये १ सय ५४ जना जोलहनपुर्वा टोलभन्दा बाहिरका छन् । शुक्रबार जिल्लामा स्वाब संकलन गरिएन । भेरी अस्पतालमा किट अभाव भएपछि स्वाब संकलन नगरिएको हो ।
एक संक्रमित थपिए
नेपालगन्जमा शुक्रबार थप एक जना कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै यहाँ कोरोना संक्रमितको संख्या २४ पुगेको छ । स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार वडा नं. ८ का १६ वर्षीय किशोरमा कोरोना देखिएको हो । बाँकेमा बुधबार १ सय ३६ र बिहीबार संकलन गरिएका ४८ वटा स्वाबको परीक्षण हुन बाँकी थियो । तीमध्ये १ सय ३६ वटाको रिपोर्ट आएको हो । भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाका अनुसार ४८ जनाको परीक्षणकै क्रममा छ ।
बिहीबार साँझसम्म जम्मा ६० पीसीआर किट बाँकी थियो । जसले गर्दा यहाँ स्वाब संकलन र परीक्षणको काम प्रभावित भएको थियो । यहाँस्थित प्रयोगशालामा बाँकेबाहेक बर्दियाको स्वाब परीक्षण गरिन्छ । एक सातायता दुई दर्जन कोभिड–१९ संक्रमित भएपछि किटको खपत बढेको हो । किट अभावबारे शुक्रबार कान्तिपुरमा समाचार प्रकाशित भएको थियो । त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दुई हजार थान किट पठाएको भेरी अस्पतालका प्रमुख डा. थापाले बताए । ‘तत्कालका लागि पीसीआर किट पर्याप्त हुन्छ,’ उनले भने । नेपाली सेनाको स्काई ट्रकमार्फत उक्त किट यहाँ ल्याइएको हो । पीसीआरसँगै नेपाली सेनाको मेडिकल टिम र स्वाब संकलन टोली पनि नेपालगन्ज आएको छ ।
प्रभावित क्षेत्रमा राहत
नेपालगन्ज उपमहानगरपालिकाले कोरोना संक्रमण फैलिएपछि निषेधित क्षेत्र घोषणा गरिएको वडा नं. ८ जोलहनपुर्वामा राहत वितरण गर्ने भएको छ । नगर प्रमुख धवलशमशेर राणाको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले त्यहाँका ८० घरपरिवारलाई शनिबार तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । सिल गरिएको टोलमा शनिबारदेखि राहत वितरण गरिने उपमहानगरकी उपप्रमुख उमा थापा मगरले बताइन् ।
बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक वडामा समिति गठन गर्ने निर्णयसमेत गरेको छ । उपप्रमुख थापाका अनुसार कार्यपालिका बैठकले भौतिक दूरी कायम गर्दै विकास निर्माण सुरु गर्ने निर्णय गरेको छ । बैठकले नगरभित्र बसोबास गर्ने विपन्न समुदायका नागरिकले राहत माग गरेमा स्थलगत अनुगमनका आधारमा मात्रै वितरण गर्ने निर्णय पनि गरेको छ ।
