१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कोरोना लकडाउनका बेला त्रिवि शिक्षण अस्पतालमा जे देखियो...

फातिमा बानु

काठमाडौँ — अन्य समयमा बिरामीको घुँइचो लाग्ने महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मगंलबार दिउँसो केही सुनसान देखिन्थ्यो । अस्पताल छिर्ने आगन्तुकको ज्वरो नाप्न भन्दै थर्मल गन बोकेर मुल गेटमै तीनजना सुरक्षा गार्ड खटिएका थिए ।

कोरोना लकडाउनका बेला त्रिवि शिक्षण अस्पतालमा जे देखियो...

गेटबाट छिर्ने जोसुकैको ज्वरो नाप्ने र सबैलाई फेरी ज्वरो क्लिनिकमा पठाउने गरिरहेका थिए ।


दुईजनाले कपडाको गाउन, पञ्जा र मास्क लगाएका थिए भने एकजना महिला सुरक्षागार्ड पोशाक मात्रै लगाएर उभिएकी थिइन् । उनी घरी गेटमा उभिन्थिइन् घरी घाम छेक्न छहारीको साहरा लिने गरिरहेकी थिइन् ।


‘यो थर्मल गनमा कसैको धेरै ज्वरो देखायो भने मेरो सात्तो जान्छ,’ उनले भनिन्, ‘ भित्र बस्ने डाक्टर पुरै ढाकिएर बसेका छन् आफूलाई दिनभरिको लागि भनेर एउटा मास्क छ, त्यो पनि घरी भिज्छ, घरी फोहोरमा खस्छ त्यसपछि त खुल्लै मुख काम गर्नुपर्छ ।’


यसरी जोखिम मोलेर काम गर्ने उनलाई घर जान मन लाग्दैन । आफूलाई संक्रमण सरेपनि घरका सदस्य बचाउन सकियोस् भनेर अस्पतालमै बस्न चाहेको उनले बताइन् । ‘घरमा सानो बच्चा छ, घर जानेबित्तिकै काखमा आइहाल्छ,’ उनले भनिन्, ‘त्यो सानो बच्चोलाई केही भयो भने म के गर्नु ?’



एकातिर अस्पतालले सुरक्षा सामग्री नदिँदा उनी दुखी थिइन् । सुरक्षा नदिए पनि भोलीका दिनमा कोभिड–१९ को संक्रमण फैलिएर संक्रमित भए अस्पतालले निःशुल्क उपचार गरिदिने वाचा गरे मात्रै पनि त्रास केही कम हुन्थ्यो भन्ने आश उनको छ ।


यसैबीचमा गाउन लगाएर बसेका अर्का व्यक्तिले भने, ‘ १२ घन्टै मास्क लगाउँदा मेरो त अनुहारमा घाउ भैसक्यो । कहिले यो कोरोना सकिएला र मास्क फालेर आनन्दको सास फेर्न पाइएला जस्तो भएको छ ।’


गेटमा उच्च ज्वरोका मान्छे भेटिए अस्पताल प्रशासनलाई बोलाउनु भन्ने उनलाई निर्देशन छ । साँच्चै १०२ तापक्रम नाघेका व्यक्ति भेटिएको दिन उनको ढुकढुकी बढ्छ । ‘बीचमा हामीले ज्वरो नापेका मान्छे अस्पतालको आइसोलेसनमा लगेर राखे, मेरो त सात्तो उड्यो,’ उनले भने, ‘त्यस्ता बिरामी हेरेपछि हामीलाई के भयो, कस्तो भयो, कसैले सोधेन । त्यसै घर पठाए ।’ घरको मान्छेलाई रोग सारिएला भन्ने डरैडरमा दिनरात बित्ने गरेको उनले सुनाए । ‘घर जान डर लाग्यो, अस्पतालमै बस्ने सुविधा दिनुपर्यो,’ भन्दै उनी प्रशासन पुगिरहन्छन् । तर, कसैले उनको गुनासो सुनेको छैन ।


घरबेटी र समुदायले हेला गर्लान् भन्ने डरले अस्पतालमा काम गर्ने कुरा लुकाएर हिँडेको ज्वरो नाप्ने अर्का गार्डले सुनाए । ‘यो संक्रमणको हल्ला चलेदेखि नै घरबेटीले कहाँ के काम गर्ने भनेर सोधीखोजी गरे । मैले त बैकंमा जागिर हो भनिदिएँ,’ उनले भने, ‘साँचो कुरा भनुँ भने निकाल्लान् यस्तो बेला फेरि कता जानु हामी ?’




घरमा भने उनलाई यस्तो जोखिममा काम नगर्नु भन्छन् । उनी भने आफ्नो कर्तव्य भूल्न नसक्ने बताउँछन् । उनीसँग अस्पतालमा कर्मचारी समेत परपर हुने गरेको बताए । ‘थर्मल गनबाटै भाइरस सर्छ रे भन्छन्,’ उनले भने, ‘हाम्रो नजिक पनि कोही आएर बस्दैन, कामबिना कोही बोल्दैन ।’ टाउको दुख्दापनि आफूलाई कोभिड संक्रमण भैसकेको जस्तो हुन्छ, उनलाई । शरीर तातेको र धेरै टाउको दुखेको दिन चिकित्सकको सल्लाहबिनै औषधी खाइहाल्छन् । कोभिडको लक्षण पनि नदेखियोस् भनेर यसो गर्ने गरेको उनले सुनाए ।


‘भाइरस टाँसियो कि भनेर फूर्सद पाए की नुहाउँछु । खल्तीमा एन्टीबायोटीक बोकेर हिँड्छु,’ उनले भने । अस्पताल छिर्दा कोही मान्छे अटेरी गरेर ज्वरो नाप्नै नमानी भागि दिन्छन् । त्यो दिन अझ बढी डरले मन अत्तालिन्छ उनको । अस्पतालमा काम गर्ने भन्ने थाहा पाएका छरछिमेकले पनि उस्तै विभेद गर्छन् । ‘पढेलेखेकाले झन् बढी हेला गर्छन् । कोही नजिक पर्दैनन्,’ उनले भने । अरुले ‘हाम्रो नजिक नआउ है, हामीलाई पनि भाइरस सर्छ’ भन्दा उनलाई अस्पतालमै बस्न पाए हुन्थ्यो जस्तो लाग्छ ।


अस्पतालको आकस्मिक कक्षमा एकजना सफाईकर्मी खटिएकी थिइन् । एप्रोन र कपडाको मास्क लगाएकी थिइन् । कक्षमा छिर्ने कसैलाई बाटो नछोडी छिटो काम सक्ने मूडमा थिइन् । ‘हिँड्दै घर जानुपर्छ, कहिले सक्नु यत्रो काम,’ उनले दुखेको पोखिन्, ‘गाडी पाउँदैन, यस्तो बेला कसैले लिफ्ट पनि दिँदैन ।’




उनको डियूटी दिउँसो तीन बजे सकिन्छ, अस्पतालको कर्मचारी ओसार्ने बस साँझ ६ बजे जान्छ । तीनघण्टा कुर्नुभन्दा २ घन्टा हिँडेर बुढानिलकण्ठस्थित घर पुग्ने गरेको उनले सुनाइन् । ‘बाटोमा पुलिसले उस्तै किचकिच गर्छ,’ उनले भनिन्, ‘अस्पतालको कार्ड देखाउँदा पनि मान्दैनन् ।’


अस्पतालको मूलगेट नजिकै पाल टाँगेर ज्वरो क्लिनिक चलाइएको छ । मगंलबार क्लिनिकमा ७ जना स्वास्थ्यकर्मी खटिएका थिए, एकजना चिकित्सक थिए । चिकित्सकले स्थानीय रुपमै बनेजस्तो पीपीई लगाएका थिए भने नर्सिङ कर्मचारीको शरीरमा कपडाको गाउन मात्रै थियो ।

गाउन मात्रै लगाउँदा सुरक्षित महशुस नहुने ती स्वास्थ्यकर्मीले बताए । ‘जति माग्दा पनि छैन भन्छन्,’ एक नर्सले भनिन्, ‘अति जोखिम मोल्नेलाई मात्रै हो रे पीपीई, सबैभन्दा पहिले बिरामी छुने हामीभन्दा अति जोखिममा को छ र ?’ क्लिनिकमा दैनिक १५ देखि २० जना बिरामी आइपुग्छन्, जसलाई आइसोलेसनमा भर्ना गर्ने गरिएको छ । अस्पतालको अर्थोपेडिक भवनलाई कोभिडका बिरामी राख्न आईसीयूसहित तयार पारिएको छ । दैनिक ४–५ जना कोभिड शंकास्पद नै आउँछन् । सुरक्षा सामग्रीबिना काम गर्न डर लाग्ने उनीहरूले बताए ।


‘आइसोलेसनमा बिरामी भर्ना भएको दिन घरमा आफू पनि आइसोलेट भएर बस्छु,’ चिकित्सकले भने, ‘बिरामीको रिर्पोट नेगेटिभ आएपछि मात्रै परिवारसँग बस्छु ।’ घरमा वृद्धवृद्धा र बालबालिका हुने स्वास्थ्यकर्मी बढी त्रासमा देखिन्थे ।




अस्पतालको आकस्मिक कक्ष छिर्दा सबै बेडमा बिरामी थिए । बिरामी जाँच्न बसेका कुनै चिकित्सक र स्वास्थ्यकर्मीले पीपीई लगाएका थिएनन् । केही चिकित्सकले दुई हजार रुपैयाँ तिरेर स्थानीय तहमा बनेको सामान्य पातलो रेनकोट जस्तो पीपीई लगाएका थिए । आकस्मिक कक्षमा खटिने कसैलाई पीपीई नदिएको एक चिकित्सकले बताए ।


‘शंकास्पद बिरामी बाहिरबाटै आइसोलेसन पठाउने भएकाले यता पीपीई चाहिँदैन भनेका छन्, ‘ती चिकित्सकले भने , ‘एम्बुलेन्समा आउने बिरामी त इमर्जेन्सीमै आइरहेका हुन्छन्, बिरामी कुरुवा पनि त्यत्तिकै छिरिरहेका हुन्छन्, हामी कति जोखिममा छौं ?’


सुरक्षाको नाममा अस्पतालले दिनको एउटा मात्रै मास्क दिने गरेको उनले सुनाए । एन–९५ मास्क मात्रै पाएपनि कम त्रासमा काम गर्नुपर्थ्यो भन्ने उनलाई लाग्छ । आफैंले किनेको पीपीई पनि सफा गर्न, संक्रमणमुक्त बनाउन नसकेपछि उनी एप्रोन मात्रै लगाएर बिरामी हेर्छन् ।

प्रकाशित : चैत्र २५, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?