२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एक भए राप्रपा र राप्रपा (संयुक्त) : गीता छोएर पार्टी नफुटाउने वाचा

कान्तिपुर संवाददाता

काठमाडौँ — कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) बीच एकताको घोषणा बुधबार गरिएको छ । एकीकृत पार्टीमा थापा, राणा र लोहनी तीनै जना अध्यक्ष भएका छन् । उनीहरूको पदबहाली भने बिहीबार हुँदै छ । घोषणासभामा तीनै अध्यक्षले ‘गीता’ छोएर अब फेरि पार्टी नफुटाउने कबुल गरेका छन् । प्रजातन्त्र पुन:स्थापना भएपछि ०४७ मा जन्मिएको राप्रपा पटक–पटक फुट्ने र जुट्ने क्रम चलिरहेको छ । 

एक भए राप्रपा र राप्रपा (संयुक्त) : गीता छोएर पार्टी नफुटाउने वाचा

एकीकृत राप्रपाको महाधिवेशन डेढ वर्षभित्र गर्ने भनिएको छ । दुवैको एकतापछि नाम राष्ट्रिय प्रजातन्त्र पार्टी र झन्डा पनि राप्रपाकै भएको छ । पार्टीको चुनाव चिह्न ६ महिनाभित्र टुंगो लगाउने उनीहरूको सहमति छ । राप्रपाले आफ्नो वैचारिक आदर्श राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई लिएको छ ।


संसदीय चुनावमा नराम्रो हार बेहोर्नुपरेको र देशमा तेस्रो वैकल्पिक दलको खाँचो भएको भन्दै हिन्दु धर्म र संवैधानिक राजसंस्थाको एजेन्डा लिएका दलहरूबीच एकता गरिएको एकीकृत राप्रपाका अध्यक्षहरूले घोषणासभामा बताए । राप्रपाले सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र साझा संस्थाका रूपमा राजसंस्थासहितको प्रजातन्त्रलाई आफ्नो मुख्य नीति घोषणा गरेको छ ।


राप्रपा अध्यक्ष थापाले गीताको सानो पुस्तिका छोएर आफू कहिल्यै पार्टी नफुटाउन नलाग्ने सुनाए । ‘कांग्रेस र कम्युनिस्टबाट वाक्क भएका नेपालीले अब भोट हाल्ने ठाउँ पाएका छन्,’उनले भने ।


अर्का अध्यक्ष राणाले राष्ट्रवादी, उदारवादी पार्टी, समूह र व्यक्तिलाई समेटेर अघि बढ्ने बताए । ‘सर्वधर्म सापेक्ष हिन्दु धर्म स्थापना गर्न दुई तिहाइ (संसद्मा) जरुरी हुन्छ, सानो आँटले हामीले एकता गरेका छैनौं,’ उनले भने । लोहनीले जनतालाई एकताबद्ध गराउन राजसंस्था आवश्यक रहेको तर्क गरे । राप्रपा नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले अहिले पदका लागि ठूलो महत्त्वाकांक्षा राख्ने समय नभएकाले पार्टीलाई नै बलियो बनाउनुपर्ने बताए । राप्रपाका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले नेताहरूको अहंकारको टक्करले पार्टी फुट्ने गरेको भन्दै त्यसको जाँतोमा कार्यकर्तालाई नपिस्न आग्रह गरे ।


राप्रपा नेताहरूले घोषणासभामा सत्तारूढ नेकपा र प्रमुख विपक्ष कांग्रेसलाई दुवै भ्रष्टाचारमा संलग्न भएको, सुशासन दिन नसकेको र न्यायालयमा पनि कार्यकर्ता भर्ना गरेको आरोप लगाए ।


थापाद्वारा बहिष्कार

दुई राप्रपाको एकीकरण सभा सुनील थापाले भने बहिष्कार गरेका छन् । उनी राप्रपाका संस्थापकमध्येका नेता सूर्यबहादुर थापाका छोरा हुन् । राप्रपा संयुक्तले यसअघि गणतन्त्र मानिसकेको तर अहिले राजतन्त्र पुन:स्थापनाको सैद्धान्तिक कुरामा जोडिएर एकता हुन लागेको भन्दै उनले असन्तुष्टि जनाएको स्रोतको भनाइ छ । थापालाई मनाउन दुवै पार्टीका नेताहरूले मंगलबार रातिसम्म पनि पहल गरेका थिए । राप्रपाका केन्द्रीय सदस्य

मोहन श्रेष्ठले थापालाई मनाउने प्रयास भइरहेको बताए ।


यो पनि

राप्रपाको टुटफुट श्रृङ्खला

राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर

प्रकाशित : फाल्गुन २८, २०७६ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?