१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

सिन्धुपाल्चोक गुम्बा गाउँमा फैलिएको ज्वरोको प्रकोप नियन्त्रणमा छ : स्वास्थ्यकर्मी

काठमाडौँ, सिन्धुपाल्चोक — सिन्धुपाल्चोक जुगल गाउँपालिका- ३, गुम्बा गाउँमा फैलिएको ज्वरो, रूघाखोकी र स्वासप्रस्वासका बिरामीको अवस्था नियन्त्रणमा रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मी अनिल साउदले बताएका छन् ।

सिन्धुपाल्चोक गुम्बा गाउँमा फैलिएको ज्वरोको प्रकोप नियन्त्रणमा छ : स्वास्थ्यकर्मी

उपचारमा संलग्न जुगल गाउँपालिकाका स्वास्थ्य संयोजक साउदले बिरामीका लागि औषधि र अन्य व्यवस्था हालसम्म रहेको बताएका छन् । ईकान्तिपुरसँग फोनमा कुरा गर्दै उनले भने, 'रुघाखोकी, ज्वरो स्वासप्रस्वासमा अप्ठेरो भएका बिरामी आएका छन् । एकैपटक धेरैलाई समस्या आएकाले औषधि र अन्य सहयोग मागिएको छ । जुन क्षेत्रमा यसको प्रभाव देखिएको छ त्यहाँ स्वास्थ्य इकाइ मात्रै छ । त्यसमा एकजना मात्रै स्वास्थ्यकर्मी रहेकाले बाहिरबाट स्वास्थ्यकर्मी आएका छन् ।'

कोरोना भाइरसको संक्रमणसँग मेल खाने लक्षण देखिए पनि अहिलेसम्म त्यसको पुष्टि नभएको र बिरामी निको हुँदै गएकाले कोरोना नभएको हुनसक्ने उनले बताए । यसअघि गाउँपालिकाले जिल्ला स्वास्थ्य कार्यालय, वाग्मती प्रदेश सरकार र संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई उक्त गाउँका स्थानीयको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको थियो । साउँदले भने गाउँपालिकाबाट लेखिएको पत्रमा जस्तो अवस्था उक्त ठाउँमा नभएको बताए । 'कोरोना भाइरस भन्ने किसिमले चर्चा भएको रहेछ । खासै त्यस्तो होइन । कोरोनासँग मेल खाने लक्षण देखिएकाले आतंकित भएका हुन्,' उनले भने । उनले स्वास्थ्यकर्मीसँग सल्लाह नगरी प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षले चिठी लेखेकाले त्यसमा कोरोना भाइरस शब्द परेको पनि बताए ।

परीक्षण गराउनेको संख्या बढिरहेको साउदले बताए । बिरामीहरूको उपचारको व्यवस्था भइरहेको उनले जानकारी दिए । 'अहिलेसम्म अवस्था नियन्त्रणमा नै रहेको छ । गम्भीर बिरामी पनि चारपाँच जनामात्रै छन् । सबैको अवस्था नियन्त्रणमा छ । भित्रभित्रै कसैमा गम्भीर समस्या छ कि भनेर पनि योजनाबद्ध रूपमा स्वास्थ्यकर्मी परिचालन गरिरहेका छौं । कोरोना भाइरस हो कि होइन भनेर परीक्षण गर्न भनेर संघीय सरकारलाई अनुरोध गरिएको हो । उहाँहरूबाट कस्तो प्रतिक्रिया आउछ त्यो हेर्न बाँकी छ ।' बुधबार बिहानसम्म गुम्बा गाउँमा पाँचजना स्वास्थ्यकर्मी पुगेका साउदले जानकारी दिए ।

गुम्बा गाउँको स्वास्थ्य चौकीका दुईजना, गाउँपालिकाबाट एकजना जिल्ला स्वास्थ्य कार्यालय र छिमेकी बलेफी गाउँपालिकाबाट पनि स्वास्थ्यकर्मी बिरामी प्रभावित क्षेत्रमा गएका जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । श्रेष्ठ आफू पनि उक्त गुम्बा गाउँमा पुगेका छन् ।

उक्त गाउँमा ३०० भन्दा बढी मास्क वितरण गरिएको पनि अध्यक्ष श्रेष्ठले जानकी दिए । रुघाखोकी, ज्वरो र स्वास्वप्रस्वासका बिरामीको संख्या मंगलबार साँझसम्म १ सय ३६ थियो। बुधबार बिहान पनि स्वास्थ्य जाँच गराउनेको संख्या बढेको साउदले जानकारी दिए ।

त्यहाँबाट बिरामी अन्त रेफर गर्ने अवस्था भने नरहेको साउदले बताए । उनले भने, 'यताबाट रेफर गर्नुपर्ने नै अवस्था आइसकेको छैन । यसअघि एकदुई जनालाई रेफर गरिएको थियो तर उहाँहरू जानुभएको थिएन । पछि उहाँहरूलाई फलोअपमा ल्याउँदा ठीक भएको कुरा आएको थियो ।'

सम्बन्धित समाचारः

प्रकाशित : माघ २९, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?