गुठी संस्थानको जग्गामा महानगरको डोजर, भाडा तिरिरहेका व्यवसायीको उठीबास

ट्राफिक प्रहरी प्रभागको कार्यालय भत्काउनबाट पछि हटेको महानगरले व्यवसायीले भाडामा लिएको टहरामा डोजर चलाएको छ ।

कार्तिक १६, २०८२

समर्पण श्री

Metropolis bulldozers on Guthi Sansthan land, businessmen paying rent protest

काठमाडौँ — थापाथलीस्थित गुठी संस्थानको जग्गामा अवैध संरचना बनाएको भन्दै काठमाडौं महानगरपालिकाले आइतबार डोजर चलाएको छ । गत शुक्रबार पनि ग्यारेज सञ्चालन गरिएको टहरा भत्काएको थियो ।

आइतबार नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टको नेतृत्वमा खटिएको महानगरको प्रहरी टोली थापाथलीमा रहेको ट्राफिक प्रहरी प्रभाग र त्यहाँका टहरा भत्काउन आएको थियो । तर १० बजेदेखि नै प्रहरी प्रभाग अगाडि नेपाल प्रहरी र ट्राफिक तैनाथ थिए ।

त्यहीबेला कान्तिपुरले उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसपएसपी नवराज अधिकारीलाई सम्पर्क गर्‍यो । उनले २०३० सालदेखि आफूहरूको टोली थापाथलीमा बस्दै आएको बताउँदै विकल्पबिना हट्न कठिनाइ हुने बताए । ‘गुठीको जग्गा हो, पहिलेदेखि ट्राफिक त्यहाँ बसेको हो,’ उनले भने, ‘विकल्प नदिई आजै हटाउन भन्दा कसरी सम्भव हुन्छ ?’

ट्राफिक प्रहरीलाई हटाउने तयारी गरेपछि प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग प्रहरी अधिकारीहरुले छलफल गरेका थिए । त्यसपछि प्रशासनले तत्काल प्रहरीलाई नहटाउने भन्दै महानगरलाई पत्र लेखेको थियो । त्यसपछि मात्रै महानगर प्रहरी ट्राफिक प्रभाग भत्काउनबाट पछि हट्यो र टहरामा डोजर चलायो ।

Metropolis bulldozers on Guthi Sansthan land, businessmen paying rent protest

मारमा व्यवसायी

जय उपाध्यायले गुठी संस्थानसँग ५ वर्षका लागि जग्गा भाडामा लिएर त्यहाँ संरचना बनाएका थिए । उनका अनुसार उक्त संरचनामा ६० लाखभन्दा बढी लगानी भएको छ । त्यही संरचना भत्काउँदा आफ्नो सबथोक गुमेको उनी बताउँछन् ।

आफूले गुठी संस्थानसँगको सम्झौता र नियमित भाडा तिरेको डकुमेन्ट देखाउँदै उपाध्याय  भन्छन्, ‘मलाई यहाँ खाली जग्गा छ भनेर दिइयो । कानुनबमोजिम गर्दा पनि किन यस्तो अन्याय ? यसको क्षतिपूर्ति कसले दिन्छ ?’

त्यही टहरामा डेढ महिनाअघि इरानी चियाको फ्रेन्चाइज सुरु गरेका २८ वर्षीय अमित मिश्राको केही दिनयता भोकनिद्रा हराएको छ । १३ लाख खर्च गरेर सुरु गरेको व्यवसायमा डोजर चल्दा आफूहरू विचलित भएकाे उनको दुखेसो छ ।

इमाडोलमा इरानी चिया खाँदा त्यसको स्वाद मन परेर आफूले पनि व्यवसाय  सुरु गरेको बताए । ‘श्रीमतीको गरगहना र ऋणपान गरेर व्यवसाय सुरु गरियो । हामी त डुब्यौँ,’  उनी भन्छन् ।

केही दिनअघि महानगरले यहाँ डोजर चलाउने थाहा पाएपछि उनले महानगरपालिकामा पुगेर वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेसँग रुँदै अनुरोध गरेका थिए । उनले नभत्काउने आश्वासन पनि दिएका थिए । ‘अचानक शनिबार फेरि सबै खाली गर्न माइकिङ गरियो । हतारहतार सामान सारियो,’ मिश्रले भने, ‘दसैंतिहारपछि अब व्यापार हुन्छ भन्ने बेलामा भत्काउन आए ।’

Metropolis bulldozers on Guthi Sansthan land, businessmen paying rent protest

उनले मासिक ४० हजार भाडा बुझाउँदै आएका थिए । इन्जिनियरिङ पढेका मिश्र विदेश नगई व्यवसाय गरेकामा पछुताइरहेका छन् । ‘अब हाम्रो क्षतिपूर्ति कसले दिन्छ थाहा छैन,’ उनी भन्छन् ।

गुठी संस्थान भन्छ– 'नभत्काउनुपर्ने हो'

शनिबार नगर प्रहरीले माइकिङ गरेपछि हामीले गुठी संस्थानलाई सम्पर्क गरेका थियौं । यसबारे न गुठी संस्थानका प्रवक्ता जानकार थिए, न प्रशासक ।

प्रशासक शैलेश कुँवरले महानगरले भत्काउने विषयमा आफूहरूलाई कुनै सूचना नदिएको बताए । ‘यो गुठी संस्थानको जग्गा हो । महानगरले भत्काउन पाउँदैन । पहिला हामीले महानगरपालिकासँग समन्वय गर्दा नभत्काउने कुरा भएको थियो,' उनले शनिबार साँझ कान्तिपुरसँग भने, ‘हामीलाई भत्काउने कुरा थाहा छैन । बुझ्छौं ।’ आइतबार बिहानसम्म पनि प्रशासक कुँवरले आफूहरूलाई कुनै जानकारी नभएको र बुझ्न प्रयासरत रहेको बताएका थिए ।

बिहान ११ बजेपछि टहरामा डोजर चल्दा गुठी संस्थानकै कर्मचारी मूकदर्शक बने । डोजर चलिरहँदा हतासिँदै आइपुगेका कुँवरले नगर प्रहरी नायब उपरीक्षक भट्टलाई भेटेर भने, ‘किन भत्काएको ?’

भट्टले उनलाई भिडबाट एकान्ततर्फ लगेर कुरा गरे । कुँवरले यसबारे पत्रकारसँग केही बताउन चाहेनन् । उनी आफू गुठी संस्थानको होइन भन्दै तर्कन खोजे ।

महानगर भन्छ- 'भत्काएपछि पार्क बनाउँछौँ'

नगर प्रहरी नायब उपरीक्षक भट्टले अहिले टहरा भत्काएको र केही समयपछि ट्राफिक कार्यालय पनि भत्काइने बताएका छन् ।

‘हामी पछाडिपट्टि रहेको हाम्रै महानगर प्रहरी बलको ब्यारेक पनि भत्काउँछौँ । ट्राफिक प्रहरीलाई पनि व्यवस्थित रुपमा स्थानान्तरण गराएर भत्काउँछौँ,’ उनले भने, ‘हामीले मन्दिरलगायत सांस्कृतिक सम्पदा वरिपरिका जग्गामा गैरकानुनी रुपमा बनेका संरचना भत्काएका हौँ ।’

Metropolis bulldozers on Guthi Sansthan land, businessmen paying rent protest

टहरा भत्काएको ठाउँमा के बन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘टहरा भत्काएको ठाउँमा पार्क बन्छ ।’ 

सम्बन्धित समाचार

ट्राफिक प्रहरी पोष्ट भत्काउन पुग्यो काठमाडौं महानगरपालिकाको डोजर

थापाथलीमा महानगरले चलायाे डाेजर

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully