ट्राफिक प्रहरी पोष्ट भत्काउन पुग्यो काठमाडौँ महानगरपालिकाको डोजर

सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको भन्दै महानगरपालिकाले यहाँका अनधिकृत संरचनाहरू भत्काउनेक्रममा ट्राफिक प्रहरी पोष्ट पनि परेको हो।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City's bulldozer arrives to demolish traffic police post

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी पोष्ट भत्काउन डोजर पठाएको छ। पोष्ट रहेको भौतिक संरचना हटाउन महानगरको टोली थापाथली पुगेको हो।

सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको भन्दै महानगरपालिकाले यहाँका अनधिकृत संरचनाहरू भत्काउनेक्रममा ट्राफिक प्रहरी पोष्ट पनि परेको हो। नगर प्रहरीसहितको टोली थापाथली पुग्दा ट्राफिक पोष्टमा भने नेपाल प्रहरीले सुरक्षा गरिरहेका छन्।

२०३० सालदेखि यहाँ ट्राफिक प्रहरी पोष्ट सञ्चालन हुँदै आएको थियो। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख नवराज अधिकारीले पाँच दशकदेखि उक्त स्थानमा ट्राफिक प्रहरी पोष्ट सञ्चालनमा रहेको बताए। 'हामीलाई हिजोमात्रै ट्राफिक प्रहरी पोष्ट भत्काउने भनेर सूचना आयो। तर यहाँ २०३० सालदेखि प्रहरी बस्दै आएको हो,' उनले भने, 'हिजोको आजै हामीले प्रहरीलाई कहाँ स्थानान्तरण गर्ने ?'

महानगरपालिकाले शुक्रबारमात्रै यस क्षेत्रमा रहेका संरचनाहरू खाली गर्न सूचना जारी गरेको थियो। यसअघि १२ मंसिर २०७९ मा पनि महानगरले थापाथली क्षेत्रको बस्ती खाली गराउने प्रयास गरेको थियो । त्यतिबेला अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र महानगरपालिकाको टोलीले बस्ती खाली गराउने सूचना पाएपछि उक्त क्षेत्रका स्थानीयहरु प्रर्दशनमा उत्रिएका थिए। 

कान्तिपुर संवाददाता

Link copied successfully