प्रशासनले पत्र लेखेपछि थापाथली ट्राफिकको भवन भत्काउनबाट रोकियो महानगर प्रहरी

शनिबार बेलुकी जानकारी दिएर महानगरपालिकाले ट्राफिक प्रहरी कार्यालय खाली गर्न भनेको थियो ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Metropolitan Police stopped from demolishing Thapathali Traffic building after administration wrote a letter

काठमाडौँ — जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गरेपछि काठमाडौं महानगरपालिका थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको कार्यालय भत्काउने निर्णयबाट पछि हटेको छ ।

शनिबार बेलुकी जानकारी दिएर महानगरपालिकाले ट्राफिक प्रहरी कार्यालय खाली गर्न भनेको थियो । त्यसपछि झन्डै सयजना प्रहरी बसिरहेको कार्यालयमा के गर्ने भन्ने अन्योल भएको थियो । ‘ट्राफिक प्रहरी त्यहाँ २०३० सालदेखि नै बसिरहेको थियो, गुठीको जग्गा हो,’ उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारी भन्छन् ।

ट्राफिक प्रहरीलाई हटाउने तयारी गरेपछि प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग पनि अधिकारीहरुले छलफल गरेका थिए । त्यसपछि प्रशासनले तत्काल प्रहरीलाई नहटाउने भन्दै महानगरलाई पत्र लेखेको थियो । ‘जिल्ला प्रशासन कार्यालयबाट पत्र गएको थियो, त्यसपछि अहिलेलाई रोकिएको छ,’ उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले भने, ‘अहिलेसम्म प्रहरीलाई अरु विकल्प पनि छैन ।’

महानगरपालिकाले यो ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको स्थानमा अनधिकृत रुपमा संरचना बनाइएको भन्दै अर्को घरमा समेत शुक्रबार डोजर चलाएको थियो । महानगरले थापाथलीका अन्य स्थानमा रहेको अनधिकृत संरचनासमेत ७ दिनभित्र खाली गर्न 'अल्टिमेटम' दिएको छ ।

कान्तिपुर

Link copied successfully